नेपाल प्रहरीका १७ डिआइजीको काज सरुवा

सातै प्रदेशमा प्रहरी प्रमुख फेरिए

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा भएको छ । सरकार बदलिएलगत्तै बिहीबार प्रहरी प्रधान कार्यालयले १७ डिआइजीको काज सरुवा गरेको हो । पुस १० मा प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मात्रै विश्वासको मत प्राप्त गर्नुभएको थियो । हाल गृह मन्त्रालयको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका रवि लामिछानेले सम्हालिरहनु भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत संशाधन विभागका अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डिआइजी वसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाउनुभएको छ ।

मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा हुनुभएको छ । कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा हुनुभएको छ भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश पुग्नुभएको छ । प्रहरी प्रधान कार्यालयका डिआइजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा हुनुभएको छ ।

अशोक सिंह सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी पुग्नुभएको छ भने प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्मा पाउनुभएको छ । गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले पाउनुभएको छ । प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाउनुभएको छ । उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख हु्नुहुन्नथ्यो । विमानस्थलमा किरण राणा सरुवा हुनुभएको छ । विशेष ब्युरोमा सुदीप गिरी सरुवा हुनुभएको छ ।

अण्डा, मासु र चल्लाको अवैध आयात रोक्न निर्देशन
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध रूपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । बिहीबार गृहजिल्ला चितवन पुग्नुभएका गृहमन्त्री लामिछानेले नेपालगञ्ज, सिन्धुली र सर्लाहीका सुरक्षा अधिकारीहरूलाई टेलिफोन गरेर अवैध आयात रोक्न निर्देशन दिनुभएको हो । गृहमन्त्री लामिछानेले पोल्ट्री क्षेत्रमा देखा परेका समस्याको समाधान गर्न आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

निर्देशन दिनुअघि उहाँले जिल्लामा कुखुरापालनसँग सम्बन्धित व्यवसायीहरूसँग छलफल गर्नुभएको थियो । त्यसक्रममा व्यवसायीले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको गुनासो गरेका थिए । भारतमा बिक्री गर्न नमिल्ने गरी बुढा भएका कुखुरा नेपालमा सस्तोमा आउने हुँदा यहाँको उत्पादनले मूल्य नपाएको गुनासो व्यवसायीहरूले गरेका थिए ।

‘आदेश होइन कानुन पालना गर्नुहोस्’
गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्न निर्देशन दिनुभएको छ । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सुरक्षा निकायलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको बताउनुभयो । जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्न आफूले सुरक्षा संयन्त्रलाई निर्देशन दिएको उहाँको भनाइ छ । ‘अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पुर्‍याउने वा मेरो मान्छे छोडिदेऊ जस्ता कुरा नसुन्नुहोस् । त्यसरी दबाब दिएको प्रमाण ल्याए त्यस्ता मानिसलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छु,’ उहाँले भन्नुभयो, ‘सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु । कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु ।’ नेपाल प्रहरीलाई बलियो बनाउन र प्रहरी संगठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्न आफूले काम गरिरहेको उहाँले बताउनुभयो । यसका लागि योजना बनाइरहेको उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?