बागलुङका ग्रामीण सडक स्तरोन्नती हुँदै

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । बागलुङमा राष्ट्रिय गौरवका आयोजना बाहेक अधिकांश सडक कच्ची छन् । खच्ची सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन् । यस्तो सडकका यात्रा गर्दा यात्रुले निकै सास्ती खेप्दै आएका छन् । यहाँका ग्रामीण सडक कुनै पनि कालोपत्रे छैनन् । पछिल्लो समय स्थानीय तहहरुले ग्रामीण सडकलाई प्राथमिकतामा राखेर स्तरोन्नती गर्न थालेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाले पनि लोकमार्गसँग जोडिएको राहाले घुम्ती-तंग्राम-धम्जा सडक स्तरोन्नती गर्न थालेको छ ।

गाउँपालिकाले यस सडकलाई पालिकाको गौरवको योजनाका रुपमा राखेको छ । अहिले यस सडकको स्तरोन्नती भइरहेको छ । सडक स्तारोन्नतीका लागि गाउँपालिकाले ५० लाख, गण्डकी प्रदेश सरकारले ३० लाख र काठेखोला-४ बाट २० लाख गरि एक करोड रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकाले विनियोजन गरेको ५० लाख रुपैयाँबाट अहिले काम भइरहेको काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारले छुट्याएको ३० लाख र काठेखोला-४ वडा कार्यालयले विनियोजन गरेको २० लाखको काम भने केही समयमै सम्झौता गरि सुरु हुने छ । विकले छुट्टा-छुट्टै तहबाट रकम विनियोजन नहुँदा एकमुष्ठ काम नहुने बताउनुभयो । राहालेदेखि धम्जासम्मको करिब १८ किलोमिटर सडक स्तरोन्नती गर्न छुट्टा-छुट्टै सम्झौता भएर काम हुने उहाँ बताउनुहुन्छ ।

“एउटै तहबाट एकमुष्ठ बजेट छुट्टिएन, प्रदेश, पालिका र वडाबाट बजेट विनियोजन हुँदा काम पनि एउटै सडकका छुट्टा-छुट्टै तरीकाले हुने भयो, यो सडक गाउँपालिकाको गौरवको आयोजना भएको हुँदा यस वर्ष ५० लाख बजेट थियो,” उहाँले भन्नुभयो- “पालिकाले विनियोजन गरेको रकमको ठेक्का प्रक्रिया अनुसार सम्झौता भएर काम भएको छ, प्रदेशबाट परेको योजनाको पनि टेण्डर प्रक्रियामा गएको छ, त्यो पनि केही दिनमै सम्झौता भएर काम हुने छ ।”

गाउँपालिकाले विनियोजन गरको ५० लाख रकमबाट सडकको स्तरोन्नतीका लागि सत्यवती कन्ट्रक्सनले मंसिर दोस्रो साता सम्झौता गरि काम थालेको प्रवक्ता विकको भनाई छ । उहाँले माघ दोस्रो सातासम्म सक्ने गरि काम भइरहेको बताउनुभयो । यस सडकको २०५६ सालमा ट्रयाक खुलेको भए पनि अहिले बल्ल स्तरोन्नती थालिएको हो । अहिले साँघुरो ठाउँमा फराकिलो बनाउने, नाली निर्माण गर्ने र ग्राभेलिङको काम भइरहेको उहाँको भनाई छ ।

विक भन्नुहुन्छ- “यो सडक खुलेको २३ वर्ष भयो अहिले बल्ल स्तरोन्नतीको काम भइरहेको छ, सीमित बजेट परेको हुँदा पूरा सडक स्तरोन्नती त नहोला तर स्तरोन्नतीको चरण सुरु भयो, केन्द्र र प्रदेश सरकारबाट थप बजेट विनियोजन भयो भने सबै सडक स्तरोन्नती हुन धेरै समय लाग्ने थिएन, यात्रुहरुले समस्या भोग्नु पर्ने थिएन ।”

ADVERTISEMENT

स्थानीय विष्णु थापा मगरले सडक स्तरोन्नती भएपछि यस क्षेत्रका हजारौँ स्थानीयलाई सहज हुने बताउनुभयो । उहाँले वर्षौँदेखि तंग्राम र धम्जाका स्थानीयहरु धुलो र हिलोमा सास्ती खेप्दै यात्रा गरेको स्मरण गर्नुभयो । सडक साँघुरो हुँदा जोखिम मालेर यात्रा गर्न बाध्य भएको उहाँको भनाई छ । गाउँपालिकाले अहिले अप्ठ्यारो ठाउँहरुमा सडक फराकिलो बनाउन थालेको थापा मगर बताउनुहुन्छ ।

“यो सडकका कारण यहाँका धेरै नागरिकले दुःख पाएका थिए, बर्खामा चल्दैनथ्यो, चले पनि हिलोमा गाडिने समस्या, हिउँदमा अहिले पनि उस्तै छ, धुलै धुलो, अहिले काम त सुरु गरेका छन् के रे कहिले सक्ने हुन्” थापा मगरले भन्नुभयो- “पहिले-पहिले दुर्घटना पनि भए, पानी पर्‍यो भने गाडी चिप्लेर दुर्घटना हुने जोखिम उस्तै, सबैभन्दा पहिले जहाँ अप्ठ्यारो छ, त्यहाँ बनाए हुन्थ्यो ।”

उहाँले बर्खाको समयमा गाउँमा कोही अपरझट बिरामी परे डोकोमा बोकेर अस्पताल लैजानुको विकल्प नभएको बताउनुभयो । बर्खाका झण्डै तीन महिना पहिरोले सडक बन्द हुँदै आएको भन्दै अब त्यो समस्या समाधान हुनेमा आफू विश्वस्त भएको उहाँ बताउनुहुन्छ । थापाले बर्खामा गाडी नचल्दा बारीमा फलाएका तरकारी बजारमा पुर्‍याउन नसक्दा वस्तुभाउलाई दिन बाध्य भएको सुनाउनुभयो ।

“यो बाटो बन्न लाग्दा धेरै खुसी लागेको छ, हामी सानै थियौँ यसको ट्रायक खुल्दा, अहिले आधा उमेर ढल्किँदा अलि राम्रो बन्न लागेको छ, अहिले हो बर्खामा पनि अलिअलि चल्ने पहिले त ठप्पै हुन्थ्यो,” उहाँले भन्नुभयो- “कोहीलाई इमर्जेन्सी हस्पिटल ल्याउनु पर्‍यो भने बोकेरै ल्याउनु पर्थ्याे बाटो भएर मात्रै नहुने चल्दैनथ्यो, अब बाह्रै महिना चल्छ की ?”

गाडी चालक बिजय रानाले यो सडकमा बाह्रै महिना सास्ती खेप्नु परेको बताउनुभयो । सडकका ठाउँठाउँमा खाल्डा खुल्डी र साँघुरो हुँदा जोखिम मोलेर हिड्न बाध्य भएको रानाको भनाई छ । राहाले घुम्तीसम्म सडक फराकिलो भए पनि त्यहाँदेखि तग्राम हुँदै धम्जा पुग्ने सडक निकै साँघुरो र जोखिमपूर्ण भएको बताउनुहुन्छ ।

“बाटो अप्ठ्यारो छ, यस्तो बाटोमा गाडी चलाउँदा निकै जोखिम मोल्नु पर्छ, कहिले गाडीको पट्टा भाँचिन्छ, कहिले इन्जिन बिग्रिन्छ, यात्रु उस्तै डराउँछन्” रानाले भन्नुभयो- “यो सडक राम्रो भए त यात्रुलाई गाडी संचालकहरु सबैलाई राम्रो हुन्थ्यो, दुःख पाइने थिएन, अहिले तलतल काम भएको देखिन्छ माथि पुग्छ कि पुग्दैन कुन्नी ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?