हस्तकलाका सामग्री निर्माणमा महिला उद्यमीको संख्या बढ्दै

विवेक खड्का दाङ, संवाददाता
Read Time = 9 mins

दाङ । राप्ती गाउँपालिका-७ सिसहनियाँ निवासी मनभौनी चौधरी उमेरले ७० वर्ष पुग्नुभयो । खाली बस्न मन लाग्दैन । उहाँले ढकिया बुन्न जान्नुभएको छ । आमा, हजुरआमाले ढकिया बुनेको देख्नुभएकी मनभौनीले उहाँहरूबाटै सिक्नुभयो । परम्परागतरूपमा जानेको सीपका आधारमा अझै ढकिया बनाउने काम गर्दै आउनुभएको छ । उहाँको घरछेउमै लगनशील मुन्ज सामग्री उत्पादन समूह छ । त्यो समूहले एउटा सटर भाडामा लिएर मुन्जबाट ढकियामात्रै होइन, फूलदानी, हटकेस, पेन होल्डर, टोपी, गमला, चकटी, खुत्रुके, ट्रे, बास्केटलगायतका दर्जनौँ सामग्री बनाउने गरिएको छ ।

राप्ती गाउँपालिका-७ सिसहनियाँ निवासी राजकुमारी चौधरीलाई हातबाट बनाइने सामग्रीबारे राम्रोसँग ज्ञान थिएन । समूहमा आबद्ध भएपछि स्वच्छ व्यावसायिक समूह नेपालले तालिम दियो । यो तालिमबाट राजकुमारीले मुन्जबाट गहना बनाउनसमेत जान्नुभयो । जसबाट अहिले आम्दानीसमेत लिन थाल्नुभएको छ । ‘हातमा सीप नहुँदा थाहा थिएन । तर, अहिले गहनासमेत बनाउन सक्ने भएका छौँ,’ राजकुमारीले भन्नुभयो, ‘बिक्रीवितरण पनि हुन थालेको छ । तर, अझै हामीलाई राम्रो बजार चाहिएको छ ।’

बिहान र साँझ घरभित्रको काम गर्ने गृहिणी महिलाले दिउँसोको खाली समयमा हस्तकलाका सामग्री बनाउने गरेका छन् । दैनिक घरखर्च चलाउनसमेत सहयोग पुगेको छ । एक वर्षको अवधिमा महिला उद्यमीको संख्यासमेत बढ्न थालेको छ । ३० जनाको समूहमा आबद्ध छन् । जसमध्ये अधिकांशले हस्तकलाका सामग्री बनाउने गरेका छन् । जीविकोपार्जन र उद्यमशीलता तालिम प्राप्त गरेका सीमान्तकृत समुदायका महिलाहरू उद्यममा जोडिएका हुन् । ‘खाली समय त्यसै बसेर बित्थ्यो । तर, अहिले खाली समयमा काम पाएका छौँ,’ उहाँले भन्नुभयो, ‘समूहमा आबद्ध हामी महिला उद्यमी बनेका छौँ ।’ मुन्जको सामग्री बनाउने ठाउँको अभाव भने छ । भाडामा घर लिएर उद्यम गर्नुपर्ने बाध्यता रहेकाले स्थानीय सरकारले उद्यम घर बनाइदिएमा सजिलो हुने उहाँले बताउनुभयो ।

दाङ जिल्लास्थित राप्ती गाउँपालिका वडा नं. ६ र ७, गढवा गाउँपालिका वडा नं. ४ र ५ मा मुन्जका सामग्री बनाउने समूह रहेका छन् । स्वच्छ व्यवसायको अवधारणामार्फत् गरिबी न्यूनीकरणमा योगदान पु¥याउने लक्ष्य छ । स्वच्छ व्यावसायिक समूह नेपालले स्वान संस्थासँग सहकार्य गरेर मुन्जको सामग्री बनाउन सहयोग गर्दै आएको हो । हस्तकलाका सामग्रीको बजार राम्रो रहे पनि प्रचारप्रसार र बजार व्यवस्थापनकै समस्या छ । उपभोक्तासम्म यहाँ उत्पादन भएका सामग्री पु¥याउन कठिन छ । जसका लागि तीन तहकै सरकारको सहयोगको आवश्यकता परेको छ । मुन्जको खेती नर्तीमा सुरु गरिएको भए पनि त्यहाँबाट उत्पादन सुरु भएको छैन । कपिलवस्तु पुगेर ल्याउनुपर्ने बाध्यता छ । बजारीकरण, कच्चा पदार्थको सहज उपलब्धताका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने भनाइ उद्यमीहरूको छ । ‘मुन्ज चिर्न कपिलवस्तु जानुपर्छ । गाडी भाडा लाग्छ । लागत बढ्दा हामीले उत्पादन गर्ने सामग्री महँगो हुने गर्छ,’ जुनकेरी ढकिया उत्पादक समूहका अध्यक्ष मायावती चौधरीले भन्नुभयो, ‘स्थानीय सरकारले कच्चा पदार्थको व्यवस्था गरिदिए सजिलो हुने थियो ।’

स्थानीय सरकारले मुन्जका सामग्रीको उत्पादन र बजारीकरणमा मद्दत गर्ने भएको छ । राप्ती गाउँपालिकाले मुन्जको सामग्रीको बजारीकरणका लागि नीतिगतरूपमा व्यवस्था गर्ने भएको हो । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय उत्पादनको प्रवद्र्धनका लागि काम गर्ने बताउनुभयो । ‘हामीले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने नीति अवलम्बन गरेका छौँ । मुन्जलगायत स्थानीय कच्चा पदार्थबाट उत्पादन भएका सामग्रीको प्रयोग र बजारीकरणमा सहयोग गर्छौं,’ अध्यक्ष विष्टले भन्नुभयो, ‘स्थानीय उत्पादनबाट समृद्धि हासिल गर्न सकिन्छ ।’

माटोको भाँडा उपहार दिँदै गढवा गाउँपालिका वडा नं. ६ निवासी कालीदेवी कुमालको दिनचर्या फेरिएको छ । माटोको भाँडा बनाउने सीप सिकेपछि उहाँलाई सिजनमा फुर्सद हुँदैन । आधुनिक प्रविधिबाट माटोको भाँडा बनाउने काम सुरु भएको हो । आम्दानी र आत्मसम्मान दुवै बढेको छ । ‘एक रुपैयाँ पनि अरूसँग हात थापेर माग्नुपथ्र्याे । अहिले आफ्नै सीपले कमाउने भएको छु’, उहाँले भन्नुभयो, ‘आम्दानी र आत्मसम्मान दुवै बढेको छ ।’

माटोको भाँडा बनाउने पेशा कुमाल समुदायको पुख्र्याैली हो । तर, बजारमा प्लाष्टिकको भाँडा भित्रिएपछि धेरैले यो काम छाड्दै गए । तर, पछिल्ला दिनमा आधुनिक प्रविधिबाट माटोको भाँडा बनाउने र पकाउने काम सुरु भएपछि यसतर्फ आकर्षण बढ्न थालेको पाइएको छ । स्वच्छ व्यावसायिक समूहबाट तालिम, प्रविधि र माटोको भाँडा पोल्ने आधुनिक भट्टी सहयोग भएपछि चौकु कुमालले गाउँ फर्किएर माटोको भाँडा बनाउने कामलाई निरन्तरता दिनुभएको छ । तर, माटोको भाँडाले राम्रो बजार पाएको छैन । मानिसहरूको रोजाइमा माटोको भाँडा बनाउने गरी स्थानीय सरकारले सहयोग गर्नुपर्ने भनाइ उहाँको छ । ‘तरकारीको संकलन केन्द्र बनाएको झैँ माटोको भाँडा बिक्री गर्ने निश्चित ठाउँ दिएमा सजिलो हुने थियो,’ उहाँले भन्नुभयो, ‘माटोको भाँडालाई प्रवद्र्धन गर्न सरकारले ध्यान दिनुपर्छ ।’

गढवा गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि माटोको भाँडा बनाउनेहरूको सीप अभिवृद्धि गर्न बजेट तथा कार्यक्रममा समेटेको छ । स्थलगत अवलोकनसँगै तालिम, प्रविधि सहयोग गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष यमनाराण पोख्रेलले बताउनुभयो ।

‘चालु आर्थिक वर्षमा पनि कार्यक्रम बनाएका छौँ । माटोको भाँडालाई प्रवद्र्धन गर्ने, आधुनिक प्रविधिसँग जोड्ने योजना छ,’ उहाँले भन्नुभयो, ‘पालिका भ्रमणमा आउने पाहुनालाई माटोबाट बनेका भाँडा उपहार दिन थालेका छौँ ।’ स्वच्छ व्यवसायमार्फत् गुणस्तरीय जीविकोपार्जनमा अभिवृद्धि गर्न मुन्जको सामग्री र माटोको भाँडाको व्यावसायिक उत्पादनले सहयोग पुग्ने देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?