पितामह–२

‘हाम्रो यस विषयमा के विचार हो ? म त पाँच गाउँ दिऊँ भन्छु । आफ्नै भाइहरूलाई मारेर मैले के शासन गर्नु छ र ?’ (दुर्योधन)
‘तिमी दुर्योधन नै हौ त ? तिमी त अर्जुन बन्यौ जस्तो छ । हिजो अर्जुनले धनु फालेका थिए आज दुर्योधनले ।’
‘अर्जुनले इच्छा फेरेपछि कोही त अर्जुनको भूमिकामा हुनु पर्‍यो । त्यसैले म अर्जुन बनेको । के अभिनय मिलेन ?’
मामा शकुनी ‘तिमीलाई उपदेशको आवश्यकता पर्‍यो भाञ्जा । कृष्ण कता जानुभयो ?’
‘हिजो आफैँ राज्य छोडेर, देशलाई अप्ठ्यारो पारेर जाने, आज पुनः इच्छा जाग्यो भन्दैमा दिन सकिन्छ र ? सत्ता मागेर पाइने भीख पनि त होइन नि ?’ (अरू भाइहरू)
(सभामा गुरु द्रोणको प्रवेश)

हामीले कस्तो अप्ठ्यारोमा सत्ता समालेको ? बिर्सियौ दुर्योधन ?’
‘तर गुरु स्वजन भनेको स्वजन नै हो । त्यसमाथि ममा नैतिक बलको पनि अनुभव गर्दै छु । ती धेरै प्रतिस्पर्धामा अर्जुनसँग पराजित भएका सबै घटना ताजै पनि त छन् । मलाई ती दृश्यले बारम्बार झस्काइरहन्छन् । गुरुलाई त मेरो क्षमता थाहा छ नि ?’
‘दुर्योधन तिमी धर्म र नीतिका कुरा गर्दैछौ । यो समय नीति र धर्मले चल्ने समय होइन । अनीति, अधर्म कलियुगस्य लक्षणम् ।’
सभामा कर्णहरूको प्रवेश ।
‘मित्र दुर्योधन किन शिथिल छौ ?’
‘ममा शासन गर्ने मोह रहेन अब मित्र कर्ण ।’
‘तर, दुर्योधन, तिमी, तिमीमात्र कहाँ हौ र ? तिमी त हामी पनि हौ । हाम्रो इच्छाशक्ति कमजोर भएकै छैन । तिम्रो कसरी हुन्छ ? अनुभव गर ? अझ बढी अनुभव गर ?’

एकातिर पाण्डवहरू उग्र भएर देखा परिरहेछन् । उता दुर्योधन छाड्दै छाड्दिन भन्छ । ऊ त मान्थ्यो होला भाइहरूले छाड्नै दिँदनन् । पाण्डवहरू पनि किन यति चकचके भएर सत्ताकै निम्ति मरिमेटेका ? त्यत्रो जंगलको कष्ट त सहेर बसेका हुन् ।

दुर्योधनभित्र गए, केही समय हराए, पुनः बाहिर आए र भने, ‘कर्णहरू, भाइहरू साँच्चि ममा केही महत्वबोध भयो तर सम्भव छ त ?’
‘सम्भव छ, तिमी हुन्छ मात्रै भन, तिमी दुर्योधन हौ ?’
‘तर पनि मलाई दाजु युधिष्ठिरकै इच्छा मन पर्‍यो पाँच गाउँ ? दिऊँ भन्छु म त ?’
‘हामीमा मत विभाजन उचित भएन । कुरा ठीक भए पनि प्रक्रिया ठीक भएन ।’
‘हामी पाँच गाउँको प्रस्ताव एक मतले अस्वीकार गर्छौं । सत्तामा मोलाहिजा ? यो मिल्ने चरित्र नै भएन । त्यसमाथि जूवाको नशामा राज्य र स्वास्नी नै दाउ थाप्नेहरू प्रति फेरि विश्वास गर्न सकिएला र ?’
‘राजसी चरित्र देखाएकालाई हामी राज्य गर्नेहरूले अन्यथा नलिने हो कि ? हामी पनि कहाँ कम छौँ र ? त्यही जुवामा राज्य र स्वास्नी दाउ थाप्न नपाएका मात्रै त हौँ ? आखिर स्वास्नीको (भाउजू) दाउ जित्ने त हामी नै हौँ नि ?’
‘मामा शकुनी हुनुहुन्छ र सबै सम्भव भएको छ ।’
‘यसमा काकाहरूको समर्थन प्राप्त होला ?’

उहाँहरू पनि मूल धारमै हुनुहुन्छ । सत्ताको नुन खाएकाहरूको डर मान्नु पर्दैन । फेरि पाण्डवहरू हामीसँग जस्तै काकाहरूसँग पनि रिसाएकै छन् । पुनरागमनमा सहयोग गरेनन् भन्ने पाण्डवहरूको आरोप छ ।
‘पितामह ?’
‘उहाँ हुनुहुुन्छ नि हाम्रैतिर ?’ एउटा कुटिल हाँसो ।
‘एकातिर पाण्डवहरू उग्र भएर देखा परिरहेछन् । उता दुर्योधन छाड्दै छाड्दिन भन्छ । ऊ त मान्थ्यो होला भाइहरूले छाड्नै दिँदनन् । पाण्डवहरू पनि किन यति चकचके भएर सत्ताकै निम्ति मरिमेटेका ? त्यत्रो जंगलको कष्ट त सहेर बसेका हुन् । आज त राज्यमा सम्मानपूर्वक नै बसेका छन् । सुस्तसुस्त मिलिहाल्थ्यो नि । पाण्डवहरूले सही तरिका अपनाएनन् । हिजोको दुर्योधनको स्वभाव पाण्डवमा पनि देखिन थालेको छ । एउटै मूलको पानीको प्रभाव हो ।’
‘यता कृष्ण पनि रिसाएर टाढा टाढा हुँदैछन् । कृष्णलाई त हामी सबैले अपमान ग¥यौँ । आदर गरेर बोलाउने र गाली गरेर पठाउने नीति भयो हाम्रो । तैपनि यस पालि दुर्योधनलाई साथ दिने हाम्रो बाध्यता छ तर पाण्डवहरूको स्वभाव पनि मनपर्दो भएन । दुर्योधनको नुन हाम्रो निम्ति महँगो उपहार हुने भयो ।’

विदुर वाक्य सुनेका सबै सभासद्ले विदुर वचनको समर्थन गरे ।
‘हस्तिनापुरका जनता हाम्रो निर्णय पर्खिरहेका छन् । हामीबाट मात्र यिनको रक्षा सम्भव छ । राज्य दुर्योधनको भए पनि निर्णय हाम्रो सुन्ने इच्छा राख्छन् जनता ।’ विदुरले अठोट लिएको अनुहार पारे ।
दृश्यमा हस्तिनापुरवासी जनता देखा परे ।
एउटा सेतो छाया देखा पर्‍यो र हरायो ।
‘त्यसो भए विदुरनीति पनि फेरिएको छ होइन त ?’
सबैको रूप, भूमिका र चरित्रमा मिश्रण देखापरेको छ । अलिअलि त पीतामहको डर मान्नु पर्ने ? कि पितामह पनि ?’
‘हो उहाँको पनि भूमिका फेरिएको छ ।’
‘तर ठूलो रूखको छहारी स्वस्थकर नै छ ।’
‘यी हस्तिनापुरवासी न्यायप्रेमी जनता हजुरको संरक्षकत्व चाहन्छन् ।’
‘हो हस्तिानापुरका यी सारा जनता मबाट मात्र सुरक्षित छन् । मैले यिनको साथ छोड्नुहुन्न । यी अनाथ हुनेछन्’ दुर्योधनले अठोट लिएको अनुहार पारे ।

दृश्यमा हस्तिनापुरवासी जनता देखा परे ।
‘जे भए पनि पितामह हामी सबैले मानेकै व्यक्ति थिए । हामी पाण्डवहरूका त अभिभावक नै थिए
तर किन उनी पनि सशङ्कित व्यवहार गरिरहेका छन् हिजो आज ?’
‘मनैबाट युधिष्ठिरले भने तर उनले भनेर गएका छन् । युधिष्ठिर तिमीहरू माथि फेरि षड्यन्त्र हुन सक्छ । मैले त राज्य नै दिनुपर्छ भनेको छु । विदुरसमेत मेरो कुरा काट्न थालिरहेछन् । आफू निक्लेरै जानु परे पनि पाण्डवहरूलाई राज्यमा ल्याएरै छाड्छु भनेको थिएँ । ल्याएँ पनि । अब अडिने तिमीहरूको काम हो । युक्ति लगाऊ । युधिष्ठिर तिमीबाट उत्तराधिकारको अपेक्षा गरेको छु ।’
‘अब मेरो हातबाट मात्र सुरक्षित हुन सक्छ । यी सबै हस्तिनापुरवासी न्यायप्रेमी जनता मबाट मात्र सुरक्षित हुन सक्छन् ।’ युधिष्ठिरले पनि अठोट गरेको अनुहार पारे ।
दृश्यमा हस्तिनापुरवासी जनता देखा परे ।
‘सुन्नुभयो तपाईंहरूले ? देख्नुभयो तपाईंहरूले ?’
‘के ?’

‘नयाँ हस्तिनापुरका नयाँ पाण्डवहरूका कुरा ? त्यस्तै नयाँ कौरवहरूका कुराहरू ? नयाँ र नौला उहाँहरूका कुराहरू ?’
‘त्यहाँ अक्षौहिणी सेनाहरू पनि थिए । पाण्डव र कौरवहरूका नौला अनुहार र अनौठा कुराहरू त्यहाँ थिए । त्यहाँ उनीहरूले जनतालाई देखाएर प्रतिज्ञा पनि गरेका जस्ता पनि लाग्थे तर त्यहाँ हस्तिनापुरका जनता थिएनन् । ‘त्यहाँ हामीले हामीहरूलाई कहीँ कतै देखेनौँ ? तर, युधिष्ठिर र दुर्योधनले मेरा जनता भनिरहेका थिए । त्यहाँ उनीहरूका जनता मात्र थिए । ती त हामी नभएको राज्यका कुरा थिए । त्यहाँ त हामी जनताको पक्षमा कुनै सम्वाद नै भएको थिएन ।’ (व्यक्ति एक)

‘हो देखाइएका जनता, भनिएका कुरा सबै यिनीहरूका आफ्ना पक्षका थिए । हामी त अदृश्य र असान्दर्भिक छौँ त्यस सभामा । यो सबै हाम्रा लागि भएको भन्ने बुझ्नु भएको छ भने त्यो तपाईंको भुल हुनेछ ।’ (व्यक्ति तीन)
‘हामी त जुत्ता हौँ, चप्पल हौँ, भुईं हौँ, गुन्द्री हौँ, सिँढी हौँ, भकुण्डो हौँ ।’ (व्यक्ति चार)
‘तर, हामी अँठिनु, दबिनुको पीडा हामीलाई मात्र थाहा हुने । यो कस्तो अनौठो शासन हगि !’ (व्यक्ति पाँच)
‘सुन्नुभयो तपाईंहरूले महाराजका कुरा ? दुर्योधनका कुरा ? हस्तिनापुरको सभामा आफूहरूलाई देख्नुभयो कतै ?’ (व्यक्ति छ)
‘त्यहाँ त पाण्डव र कौरवको पक्षका केही सेना र तिनका आफन्तहरू थिए । त्यहाँ त हामी कतै थिएनौँ ।’
‘त्यसो भए हामी को हौँ ? हामी त दुवैतर्फ थिएनौँ त्यहाँ ?’

‘ठीक बुझ्नुभयो ती हामी हौइनौँ र त्यो हाम्रो सभा पनि होइन । त्यहाँ हामी देखिन मिल्दैन । ती त उनीहरूले बनाएका जनता हुन् । भएका जनता होइनन् । तपाईंहरू यो भ्रममा नपर्नुस् हामी हुँ भन्ने नठान्नुस् ।’
(एउटा समूह यसो भन्दै अघि बढ्यो )
केही क्षणपछि-
युधिष्ठिर, दुर्योधन र विदुर आदिको प्रवेश । उनीहरू सबै मिलाएर बनाइएका नायक र एकअर्काका प्रतिनायक जस्ता देखिन्थे । सबैका अनुहारमा कुटिल खालको हाँसो देखिन्थ्यो । हामी एक थियौँ, छौँ र हुनेछौँ ।’ उनीहरूले सामूहिक स्वरमा बडो मिलाएको भाषामा मौलिक जस्तो गरी त्यसो भने ।
‘तर, हामी एक छैनौँ ।’

हेर्दा हेर्दै सबैको अनुहारमा एकाएक परिवर्तन देखा पर्‍यो । युधिष्ठिर दुर्योधनजस्ता, दुर्योधन विदुरजस्ता, विदुर युधिष्ठिरजस्ता यस्तै के के जस्ता देखिन थाले । सबै भिन्न पनि थिए, उस्तै जस्ता पनि थिए तर आफूजस्ता वा जनताका जस्ता कोही पनि थिएनन् ।

माथि उभिएकाहरूका पनि आँखा र कान ठाडा भए । उनीहरूले तलतिर फर्केर हेरे जता मौलिक जनता थिए ।
‘हामी तपाईंहरूका राज्यमा नभएका जनता हौँ । त्यसैले एक हुन सकेनौँ ।’
‘हामी मौलिक जनता जिन्दावाद ।’
एवं क्रमले जिन्दावाद चलिरहृयो धेरैबेर ठूलो समूहबाट ।
अघि सभामा नदेखिएका धेरै जनता त्यहाँ देखापरे ।
‘हामी जिन्दावाद ?’
‘...र उनीहरूले भने हामी खोइ ?’
‘हामी युधिष्ठिर मान्दैनौँ !’
‘हामी दुर्योधन मान्दैनौँ !’
‘हामी विदुर मान्दैनौँ !’
‘..............मान्दैनौँ !’
‘............मान्दैनौँ !’

यो अप्रत्यासित दृश्य हेर्दा हेर्दै ती सबैको अनुहारमा एकाएक परिवर्तन देखा प¥यो । युधिष्ठिर दुर्योधनजस्ता, दुर्योधन विदुर जस्ता, विदुर युधिष्ठिर जस्ता यस्तै के के जस्ता देखिन थाले । सबै भिन्न पनि थिए, उस्तै जस्ता पनि थिए तर आफू जस्ता वा जनताका जस्ता कोही पनि थिएनन् ।
उनीहरूलाई आफूहरू असुरक्षित हुँदै गएजस्तो अनुभव भयो । उनीहरूले मुखामुख गरे र त्यहाँबाट उम्किने तर्खर गर्दैगर्दा –
‘ये यथामां प्रपद्यन्ते तां तथैव ..., मलाई जसले जसरी हेर्न चाहन्छ म त्यस्तै देखिन्छु ।’
‘यो त कृष्णको बोली हो ।’
‘कृष्ण ! कृष्ण ! कृष्ण !!’
‘म युधिष्ठिर कृष्ण !’
‘म दुर्योधन कृष्ण !’
‘म विदुर कृष्ण !’

‘हामीले तपाईंलाई अपमान गर्ने भुल गर्‍यौँ । हामीलाई गल्ती अनुभव भयो । कृष्ण हामी यहाँ छौँ ।’
‘म त तपाईं नै हुँ युधिष्ठिर ?’
‘म त तपाईं नै हुँदुर्योधन ?’
‘म त तपाईं नै हुँ विदुर !’
कृष्ण जनतातिर फर्केर ‘यिनीहरूले तपाईंहरूमाथि पनि धोका गर्न खोज्दैछन् । यिनीहरू यी होइनन् यी जस्ता मात्र लागेका हुन् । मेरो शान्ति र मेलमिलापको प्रस्तावलाई लत्याएर मलाई धोका दिए अब तपाईंहरूका आफ्ना बनेर धोका दिन खोज्दैछन् । म बन्न खोज्दैछन् तर नियतिमाथि कसैको केही लाग्दैन । यिनीहरू जो हुन् ती होइनन्, जो देखिएका छैनन् ती हुन् । नियति जो लिएर आएको हो । नियतिमाथि प्रश्न नगर !’

कृष्ण सरासर अघि बढे । सुरिलो स्वरमा बाँसुरी फुकेको ध्वनि गुञ्जिँदै टाढा हुँदै गर्दा एउटा अग्लो छायाँ यतैतिर फर्केर हेरिरहेको देखियो । सबैले एकै स्वरमा भनेको सुनियो ‘पितामह ! पितामह ! पितामह !!’ परिस्थिति विसम थियो । यस बेलामा सबैले पितामहको अभाव अनुभव गरे । समाप्त ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?