कथा : पितामह

यो धेरै पुरानो कथा हो । यसलाई महाकथा पनि भन्न सकिन्छ । द्वापरयुगदेखि यता विशेष चर्चामा रहेको यो कथा पहिलो पल्ट भगवान् श्रीकृष्णले आफ्ना प्रियबन्धु अर्जुनलाई कुरुक्षेत्रमा सुनाएका थिए भनिन्छ । हस्तिनापुरमा सारथि सञ्जयले राजा धृतराष्ट्रलाई सुनाएका थिए । यस्तै यो कथा धेरैले धेरैलाई सुनाए । यस्तै सुनाउने क्रममा मलाई मेरा पिताजीले सुनाउनु भएको थियो । आज मैले मेरा सन्तानलाई सुनाउन खोजिरहेको छु । सबै समयमा सबैले आ-आफ्नो ज्ञानको बुझाइ क्षमताका आधारमा सुन्दै र समयको माग अनुरूप सुनाउँदै आइएको यो कथाको अहिले मैले बुझ्ने बेलाको सार यस प्रकार आएको छ :-

जिज्ञासु (एक) ‘ए हजुर ! तपाईंहरूले श्रीकृष्णलाई यता कतै देख्नुभयो ? हिजोसम्म शान्ति, मेलमिलाप भन्दै हिँडेका कृष्ण आज कुरा टुङ्गोमा पुर्‍याउने अन्तिम घडीमा कता हराए त ?’ जिज्ञासु (दुई) ‘यिनीहरूले पनि कृष्णको धेरै खिल्ली उडाए । धेरै अपमान गरे भन्ने सुनिन्छ ।’

‘अब भर्सेला परोस् शान्ति ! भर्सेला परोस् मेलमिलाप ! सबै आ-आफ्नै अहङ्कारमा अन्धा छन् । लडून्, मरून् । फर्किन्छु ।’ केही दुःखी र रिसाएका जस्ता कृष्ण सरासर मनमनै बोल्दै अघि बढे ।
यत्तिकैमा परबाट कृष्ण आउँदै गरेका देखिए ।

अर्जुन पनि विचार फेरेर उपस्थित भएका छन् । फेरि गाण्डीव उठाउने रहर जाग्यो रे भन्ने सुनिँदैछ । अनि युधिष्ठिर स्वयंलाई पनि सत्ताको रहर जाग्यो भन्ने पनि सुनिन्छ । द्रौपदीको हाँसोले रिसाएको दुर्योधनका कारणले हो कि ?

जिज्ञासु (तीन) ‘ऊ कृष्ण यतै आउँदै छन् । सोधौँ न के भइरहेछ ? दरवारका अधिकारीले पनि अघि खोज्दै थिए तर कृष्ण त दरबारतिरैबाट आउँदै छन् !

जिज्ञासु (एक) ‘कृष्णले लीला गर्छन् नि !’
बोलाइयो, कृष्ण ! कृष्ण !! केशव !!!
तर, उनी सरासर अघि बढे, रोकिएनन् । बोलाएको सुनेनन् कि नसुने झैँ गरे बुझिएन ।
जिज्ञासु (दुई) ‘तपाईंले एउटा कुरा सुन्नुभयो ?’
जिज्ञासु (एक र तीन) उत्सुक भएर, ‘के कुरा ?’
जिज्ञासु (दुई) ‘लडाइँ हुने नै भयो रे !’
एवं क्रमले उनीहरूबीच यस प्रकारको संवाद भइरहृयो-
‘तर कृष्णले अर्जुनको सारथि बस्न मानेनन् रे । उनले दुर्योधनको राज्यमा अतिथि बस्न पनि अस्वीकार गरे अरे । दुर्योधनकै कारण विदुरसँग पनि रिसाएका छन् अरे !’

‘ठीकै हो जोगी नै बनिरहन किन सधैँ कृष्णलाई चुन्ने ?’
‘अब फकिर कृष्ण मलाई पनि मन परेको छैन ।’
‘मलाई पनि ।’
‘मलाई पनि ।’
‘तर कस्तो कृष्ण चाहिएको हामीलाई ?’
‘दुर्योधनजस्तो !’
‘कृष्ण दुर्योधनजस्तो भए, दुर्योधन को जस्तो नि ?’
‘दुर्योधन युधिष्ठिरजस्तो ! सत्यवादी न्यायप्रेमी ।’
‘होइन जुवाडे ! सत्ता र स्वास्नी दुवै दाउमा थाप्ने !’
‘कि सत्ताको निम्ति स्वास्नी दाउमा थाप्ने ?’

‘स्वास्नीको दाउ सत्ताको निम्ति त ठिकै हो तर सत्ता नै दाउ थाप्ने युधिष्ठिर त के पाइएलान् र अहिलेको युगमा ?’
‘नारी अस्मिताको खिल्ली उडेको फेरि मलाई मन परेन ।’
‘तपाईंहरूलाई युधिष्ठिर सत्यवादी बनिरहने परम्पराको अन्त्य भएको लागेको छैन ?’
‘युधिष्ठिर दोषी हो भन्ने पक्षमा बोल्नेहरूको पनि कदर हुनुपर्‍यो ।’

‘अब सबै फेरिँदै छ । पहिलाजस्तो अब केही पनि छैन । बरु चरित्र मिश्रण भएको छ । अब सबै नयाँ र नौलोमा, अनौठोमा छ ।’
नगरका चोक चौराहामा पाण्डव र कौरवका बीचको खिचलोका बारेमा भिन्न भिन्न विचार सुन्नमा आइरहे ।
‘हामीलाई पाँच गाउँ (शान्ति, संविधान, सत्तासुख, सम्पत्तिसुख र अन्यसुख) चाहिन्छ अन्यथा हामी दुर्योधनलाई हस्तिनापुरबाट बढारिदिन्छौँ ।’ अर्जुनले स्वर्णधरा क्षेत्रबाट दरवारतर्फ फर्केर उद्घोष गरे ।
‘महँगो कुरा मागे अर्जुनले । हिजोका अर्जुनले पनि यस्तै माग गरेका थिए र ?’

‘होइन त्यो युगका अर्जुनले त्यही युगको माग गरेका थिए । आजका अर्जुनले आजकै माग राख्नु पनि त्यति नौलो भएन । फेरि सत्ताको चरित्र पनि त यस्तै यस्तै हो नि ? मिल्दोजुल्दो ।’
‘दिनै नमिल्ने, यी पाँच गाउँ दिए के नै बाँकी बस्ला र दुर्योधनलाई ?’
‘.........।’

‘अर्जुनले स्वर्गको सुख पनि चाहिएको छैन । धर्तीको राजा हुनु पनि छैन । मलाई माफ गर कृष्ण ¤ भनेर गाण्डीव बिसाए भन्ने पनि सुनिँदै थियो त ? फेरि यस्तो निर्णय कसरी गरे ?’
(प्रश्न)
‘कृष्णले यो युद्धमा अर्जुनको सारथि बस्न पनि मानेनन् रे रिसाए रे भन्ने पनि सुनिँदै थियो अर्को समाचार ?’

‘त्यस्तै अर्जुन पनि विचार फेरेर उपस्थित भएका छन् । फेरि गाण्डीव उठाउने रहर जाग्यो रे भन्ने सुनिँदैछ । अनि युधिष्ठिर स्वयंलाई पनि सत्ताको रहर जाग्यो भन्ने पनि सुनिन्छ । द्रौपदीको हाँसोले रिसाएको दुर्योधनका कारणले हो कि ? मनमनै कुण्ठा बोकेर बसेका धृतराष्ट्रको सत्ता र पुत्रमोहले हो ? वा सकुनीको प्रतिशोधको भावनाले हो कि ? द्रोणाचार्यको सर्वश्रेष्ठ गुरुताले हो ? युद्ध त हुने भयो भनिँदैछ । युद्धमा सबैले आफ्नो आफ्नो दाउ लगाएका छन् भन्ने सुनियो । यतिसम्म कि पितामहले स्वयंले पनि सत्ताकुण्ठालाई अर्जुनका माध्यमले पूरा गर्न चाहेका भन्नेसम्म पनि सुनियो ।’

यस्तै भन्न त धर्मयुद्ध भनियो । कृष्णले नचाहेका भए युद्ध हुँदैनथ्यो पनि भनियो । कृष्णले युद्ध चाहेको पनि देखिएन, नचाहेको पनि देखिएन । पटक-पटक नियतिका कुरा भए । कुरा अरू धेरै किसिमका भए । सायद धेरै किसिमका कुरा बाँकी रहने शास्त्रको नाम महाभारत हो जस्तो पनि देखियो । तर, युद्ध धृतराष्ट्रले नचाहेका भए नहुने रहेछ जस्तो पनि बुझिन्थ्यो सारमा ।

अर्जुले राज्यलाई चुनौती दिनुपूर्वका केही संवादहरूको पनि त्यहाँ चर्चा सुनियो । एक दिन युधिष्ठिरले भाइहरूलाई जम्मा पारेर भने रे ‘भाइ हो किन किन मलाई पुनः राज्यसत्ताको इच्छा जागेको आभास भइरहेछ । यो मेरो चरित्रसँग मिल्ने गुण होइन तर पटक-पटक किन यस्तो इच्छा भइरहेछ ?’

‘दाजु ! भन्न नसकेको मात्र हो हामीलाई पनि सत्तारोहणको तीव्र इच्छा जागृत भइरहेछ ।’ सबै भाइहरूले एकै स्वरमा आफूहरूको इच्छा पनि जाहेर गरे ।
‘यसका निम्ति तयारी प्रारम्भ गरौँ त दाजु ?’
‘मेरो इच्छा भएको भन्ने कुरा बाहिर नआओस् । जनताको युधिष्ठिरप्रतिको विश्वास हराएर जान्छ ।’
‘यसलाई जनताकै इच्छा भन्न मिल्दैन ?’
‘मिल्ला !’ अर्जुन कूटनीतिक हाँसो हाँसे ।

‘भाइ निकै चलाख छ । यसले कुनै न कुनै उपाय अपनाउने नै छ । फेरि केशव पनि त साथमा हुनुहुन्छ । नकुल र सहदेव पनि विज्ञ नै हुन् ।’
‘कार्य प्रारम्भ गरौँ त दाजु ?’
‘युक्तिपूर्वक गर ।’
युधिष्ठिरको आदेश अनुसार सत्तारोहणको अभ्यास प्रारम्भ भएछ ।
‘दाजुश्री एउटा अनर्थ भइसकेको छ, कृष्ण हामीसँग छैनन् । हाम्रा सेना त सबै जम्मा छन् तर हामी निशस्त्र जस्ता छौँ । के हामीले युद्ध जित्न सम्भव छ ?’
‘जितिन्छ, जितिन्छ ।’

‘तर दाजु कृष्णको कूटनीति दह्रो छ । यसपटक हामीलाई छोडेरै गए । यता हामीलाई उक्साए, उता दुर्योधनसँग सहकार्य गर्दैछन् भन्ने पनि सुनिँदै छ । कृष्ण नभएको युद्ध जित्न सम्भव छ र ?’
‘सम्भव छ तर अर्जुन तिमी कृष्णसँग किन डराएका ? तिम्रा त उनी सखा नै हुन् । तिम्रो धनुर्विद्या भलिभाँती बुझेका कृष्ण अन्त्यमा हाम्रै पक्षमा हुनेछन् । त्यसमाथि यो कलियुगको महाभारत हो । यहाँ एउटा कृष्णको भरमा होइन अक्षौहिणी सेनाको भरमा राज्य जितिन्छ ।’ (सेनातर्फ देखाउँदै)
‘आवश्यकता परे यसपटक हामी कृष्णसँग पनि युद्ध गर्न तयार हुनुपर्दछ बुझ्यौ ?’
दक्षिणतर्फ रहेका आफ्ना भाइहरूतिर फर्केर सुटुक्क बोले अनि चर्को स्वरमा उत्तरतिरका अक्षैहिणी सेनातर्फ फर्केर भन ‘हामीले आधा युद्ध जितिसक्यौँ, अब आधा बाँकी छ त्यो पनि छिट्टै जितिन्छ ।’ (गडडडडडड ताली)

दक्षिणतर्फ रहेका आफ्ना भाइहरूतिर फर्केर युधिष्ठिर सुटुक्क बोले अनि चर्को स्वरमा उत्तरतिरका अक्षैहिणी सेनातर्फ फर्केर भने ‘हामीले आधा युद्ध जितिसक्यौँ, अब आधा बाँकी छ त्यो पनि छिट्टै जितिन्छ ।’

‘के भन्दैछन् यी युधिष्ठिर ? यो नाटक हो कि वास्तविकता ?’
‘यो नाटक पनि हो वास्तविक पनि हो ।’
‘दुवै कसरी हुनसक्छ ?’
‘जसरी युधिष्ठिर छन् ।’
‘युधिष्ठिर पनि नाटकै हुन् त ?’
‘रूपमा उनै हुन् चरित्र फेरिएको आभास हुन्छ । परिस्थितिले त्यसै भन्दै छ ।’
‘युधिष्ठिरबाट यस्तो उग्र भाषण ? त्यो पनि कृष्णकै विरुद्धमा लड्ने कुरा ? कस्तो अचम्म ? युधिष्ठिर र युद्धको इच्छा ? अर्थात् मामाछोरा फुपूछोरा भाइभाइ ?’

‘अनि दुर्योधन र युधिष्ठिर भाइभाइ थिएनन् र ? त्यहाँ पनि त दुई भाइका छोरा हुन् ?’
‘यो स्वजनकै बीचको युद्ध हो । यहाँ आश्चर्य मान्नुपर्ने केही छैन ।’
‘कसले जित्ने ? कसले हार्ने ? अनि के पाउने ?’
‘जसले जिते पनि भाइले नै जित्ने हो । राज्य र सत्ताबाहिर जाने डर मान्नु पर्दैन ।’
‘दूरदर्शन यन्त्रशालाबाट सञ्जयले दूरबिन घुमाउँदै खबरको प्रत्यक्ष प्रसारण गरे ‘युधिष्ठिरले युद्धको घोषणा गरे महाराज ।’
‘के भन्दैछौ सञ्जय ?’

‘युवराजको यस्तै इच्छा बुझिन्छ महाराज ।’ त्यसपछि टुँडिखेलतर्फको दृश्य प्रस्तुत गर्दै प्रसारण अघि बढाए । हतो वा प्राप्स्यसि स्वर्गं, जित्वा वा भोक्ष्यसे महीम् । मर्‍यौँ भने शहीद हुने छौँ राज्यले कदर गर्नेछ, तिम्रा परिवारले क्षतिपूर्ति पाउने छन्, जित्यौँ भने सिंहदरबार...। तस्मात् उत्तिष्ठ.. हे अक्षौहिणी सेना हो, उठ भीम, अर्जुन, नकुल, सहदेव । युद्धाय कृतनिश्चयः, युद्धको निम्ति तयार होऊ । युधिष्ठिरले दोहो¥याएर भने ‘भोक्षसे महीम् । ..महीम्...।’
यस्तैमा सेतो आकृतिजस्तो (छायाँ) देखापर्‍यो र हरायो । क्रमशः

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?