आज मकर संक्रान्ति तथा माघी पर्व

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आज माघ १ अर्थात् माघे संक्रान्ति । यस्तै, आज राष्ट्रिय योग दिवस पनि रहेको छ । माघे संक्रान्ति मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । थारू, मगर, किराँत समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउँछन् ।

आज नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको छ । माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले यसलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरिन्छ । धार्मिक मान्यताअनुसार पनि माघ महिना विशेष हुन्छ । सामान्यतया पुस महिनामा विवाह व्रतबन्ध जस्ता कार्यक्रम नहुने हुँदा माघ सुरु भएलगत्तै विवाहलगायत शुभकार्य गर्ने चलन पनि रही आएको छ ।

विविध जाति, समुदाय र सम्प्रदायको बाहुल्यता रहेको हाम्रो देशमा यो पर्व धेरैले मनाउने गरेको पाइन्छ । तराईका जिल्लाहरूमा मैथिलीले तिला संक्रान्ति पर्वका रूपमा मनाउछन् । तराईमा यसदिन खिचडी, तिललगायतका परिकार बनाएर खाने गरिन्छ भने माघी थारूहरूको मौलिक संस्कृति पर्व रूपमा रहेको छ । यसैगरी, मगर जातिले यस पर्वलाई तीन दिनसम्म विशेष धुमधामका साथ मनाउँछन् । नेपालमा बसोबास गर्ने अधिकांश जाति समुदायको साझा पर्वको रूपमा रहेको छ माघे संक्रान्ति ।

माघे संक्रान्तिका दिन नेपाली प्रचलनअनुसार तरुल, पिँडालु, चाकु, घ्यू, तिलौरीलगायत खाने गरिन्छ । विशेष गरी तरुल पुस सकिने राति पकाएर माघे संक्रान्तिको बिहान खाने प्रचलन रहेको छ । जसले गर्दा ‘पुसमा पाके माघमा खाके’ पनि भन्ने गरिन्छ । त्यसैले माघे संक्रान्तिमा केही दिन अगाडिदेखि नै तरुल, पिँडालु, सखरखण्ड, चाकु, स्कुसका जराहरूको माग बढी हुने गरेको छ ।

विशेष गरी हिन्दू, बुद्धमार्गी र किराँत समुदायको साझा पर्वको दिन माघ १ अर्थात् माघे संक्रान्ति रहन गएको छ । यो दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रूपमा मनाउँछन् । नेपालका अधिकांश समुदायको साझा चाडको रूपमा रहेको छ माघे संक्रान्ति ।

माघ १ मा राष्ट्रिय योग दिवस पनि मनाइँदै आइएको छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक जुन २१ मा मनाइँदै आए पनि नेपाल सरकारले ०७२ सालदेखि माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालेको हो ।

मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसाथै अन्य दलका नेता लगायतले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?