क्षति मूल्यांकन गर्दै विदेशी बीमा सर्भेयर टोली, ८६ करोडभन्दा बढीको बीमा दाबी पर्ने अनुमान

Read Time = 5 mins

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विमान दुर्घटनामा निधन भएकाहरूको बीमा दाबी भुक्तानीमा कुनै समस्या नहुने जनाएको छ । सोमबार बसेको राष्ट्रिय विपद्, जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकपछि समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले विमान दुर्घटनामा परेर निधन भएकाको बीमा दाबी भुक्तानी पाटोमा कुनै समस्या नरहने स्पष्ट पार्नुभएको हो । उहाँले बैठकमा शवहरूको पोस्टमार्टम कार्यलाई चुस्त बनाउने र चाँडै नै विदेशी शव पनि आपटmन्तलाई जिम्मा लगाएर पठाउने तयारीबारेमा छलफल भएको जानकारी दिनुभयो । सबैको सद्गति भइसकेपछि प्रमाणहरू लिएर सबैको बीमाको पाटोमा समस्या नहुने उहाँको भनाइ छ । बैठकमा गृह मन्त्रालयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरू र नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता थियो । आइतबार पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनाको ६६ लाख ४० हजार अमेरिकी डलर अर्थात् ८६ करोड ३२ लाख रुपैयाँभन्दा बढीको बीमा दाबी पर्ने बताइएको छ । बीमा प्राधिकरणका अनुसार हिमालयन एभरेष्ट्र इन्स्योरेन्स कम्पनीले जहाज, यात्रु, क्रु मेम्बर र तेस्रो पक्षको बीमा गरेको छ । जहाजको मात्रै करिब ५० लाख अमेरिकी डलर अर्थात् ६५ करोड रुपैयाँ बराबरको बीमा भएको छ भने पाइलट र को-पाइलटको एक/एक लाख अमेरिकी डलर अर्थात् दुई करोड ६० लाख रुपैयाँ बीमा गरिएको छ । दुई एयर होस्टेजको ८० हजार अमेरिकी डलर अर्थात् एक करोड चार लाख रुपैयाँ बराबरको बीमा गरेको छ ।

यात्रुतर्फ प्रतिव्यक्ति २० हजार अमेरिकी डलर बराबरको बीमा भएको छ । जहाजमा ६८ जना यात्रु थिए । जसअनुसार यात्रुको मात्रै १३ लााख ६० हजार अमेरिकी डलर अर्थात् १७ करोड ६८ लाख रुपैयाँ बराबरको बीमा भएको छ । दुर्घटनापछि हिमालयन एभरेष्टले विदेशी सर्भेयर परिचालन गरेको छ । कम्पनीले युरोपका विभिन्न पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का अनुसार दुर्घटना भएको जहाजमा चालक दलसहित ७२ यात्रु सवार थिए । जसमा २५ महिला, ३७ पुरुष, तीन बालक र तीन शिशु थिए । वायु सेवा सञ्चालक संघ नेपालका अनुसार काठमाडौंबाट पोखराका लागि १० बजेर ३२ मिनेटमा उडेको संघको सदस्य वायुसेवा कम्पनी यती एयरलाइन्स प्रालिको ९ एनएएनसी, एटीआर-७२ ५०० वायुयान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो । जहाजमा ५३ जना नेपाली, पाँच जना भारतीय, चारजना रसियन, दुईजना कोरियन, एकजना अर्जेटिन्नी, एकजना अष्ट्रेलियन, एकजना आईरिस र एकजना फ्रान्सेली नागरिक रहेका थिए । चालक दलका सदस्यमा कमल केसी, अञ्जु खतिवडा, सिर्जना होंगचुन र ओसिन आले मगर रहेका थिए ।

क्षति मूल्यांकन गर्न बीमा सर्भेयर टोली नेपालमा
क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न सर्भेयर टोली सिंगापुर र कानुन व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौं आइपुगेको बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलका अनुसार बीमा दलाल (ब्रोकर) का रूपमा रहेको बेलायतको कम्पनीले सिंगापुरबाट सर्भेयर खटाएको हो । बीमा गरेको कम्पनीले पनि अर्को कम्पनीमा पुनर्बीमा गरेको हुने भएकाले पुनर्बीमाबाट पैसा आएपछि बीमा कम्पनीबाट भुक्तानी हुने उहाँले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?