दक्षिण एसियाली कृषि सम्मेलन

Read Time = 4 mins

काठमाडौं । दक्षिण एसियामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसँगै बजारसम्मको पहुँच सुनिश्चितता गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । बिहीबारदेखि काठमाडौंमा सुरु भएको प्रथम दक्षिण एसियाली कृषि सम्मेलनमा नीति निर्माता र व्यवसायीहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा गैरभन्सार अवरोध बढ्न थालेको भन्दै सुधारका लागि आग्रह गरेका छन् ।

भारत सब कन्टिनेन्ट एग्री फाउण्डेसन, टेफ्ला र नेपाल उद्योग वाणिज्य महासंघद्वारा संयुक्तरूपमा आयोजित सम्मेलनमा महासंघ अध्यक्ष शेखर गोल्छाले सम्मेलनले नेपाली उत्पादनको बजारीकरणमा सहयोग पुग्ने बताउनुभयो । दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) मा सम्बन्धित मुलुकबीच व्यापार विस्तारको अवसर भए पनि कृषिजन्य उत्पादन निर्यातमा गैरभन्सार अवरोधलगायतका समस्या आउने गरेको उहाँले बताउनुभयो । अध्यक्ष गोल्छाले नेपालको तुलनात्मक लाभका वस्तु निर्बाध निर्यातका लागि देशभित्र सहुलियत बढाउनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो ।

श्रीलंकाका व्यापार एवं खाद्य सुरक्षामन्त्री नलिन फर्नाण्डोले यस क्षेत्रमा ४० प्रतिशत सीमान्तकृत किसान रहेको भन्दै त्यस्ता किसानको उत्पादन वृद्धि र बजार सुनिश्चितताका लागि पहल गर्नुपर्ने बताउनुभयो । कृषि निर्यात लागत निकै महँगो भएको र यस क्षेत्रका धेरै देशले कृषिजन्य वस्तु आयात गरेको बताउँदै खाद्य सुरक्षा सुनिश्चिततामा विशेष प्रयास आवश्यक रहेको उहाँले बताउनुभयो । दक्षिण एसियाले संयुक्तरूपमा प्रयास गर्दा यहाँको खाद्य सुरक्षा सुनिश्चितता र किसानको आय वृद्धिमा सहयोग पुग्ने फर्नाण्डोको भनाइ छ ।

दुवई मल्टी कमोडिटिस सेन्टरका कार्यकारी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत अहमत विन सुलेयमले दक्षिण एसियाले दुवई बजारबाट फाइदा लिन सक्ने बताउनुभयो । कृषि बजार विस्तारका लागि ब्लकचेनलगायतका प्रविधिमा आधारित व्यापार उपयोग गर्न सकिने पनि उहाँको भनाइ छ ।

उद्योग सचिव डा. तोयानारायण ज्ञवालीले सम्मेलनका क्रममा हुने छलफलले निर्यात एवं लगानी प्रवद्र्धनमा सहयोग पुग्ने भन्दै सम्मेलनमा लगानीलाई बढी प्राथमिकता दिनुपर्ने बताउनुभयो । लगानी बढ्दा निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनमा सहयोग पुग्ने उहाँको भनाइ छ । सचिव ज्ञवालीले साफ्टा अन्तर्गत सबै मुलुकले फाइदा लिन संवेदनशील सूचीमा रहेका वस्तु घटाउनुका साथै गैरभन्सार अवरोध हटाउनुपर्नेमा जोड दिँदै दक्षिण एसियाले प्रविधिको उपयोग बढाउनुका साथै व्यापार अवरोध हटाउन सके कृषि क्षेत्रमा दक्षिण एसिया विश्वकै महाशक्ति हुनसक्ने दाबी गर्नुभयो । आयोजकका अनुसार १२ देशका करिब चार सय सहभागी रहेको सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?