मधेस प्रदेशमा होटल व्यवस्थापकलाई एक दिने तालिम

Read Time = 2 mins

महोत्तरी । होटल तथा पर्यटन व्यवसायी संघ र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको संयोजकत्वमा मधेस प्रदेशका होटल व्यवसायीहरुलाई तालिम  दिइएको छ ।

पर्यटन प्रवर्द्धन र होटल व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले प्रदेशभरिका होटल व्यवस्थापकलाई एक दिने व्यवस्थापन र अतिथि सत्कार तालिम दिइएको हो । होटल व्यवस्थापन क्षेत्रमा लामो समयदेखि काम गरेका न्याथम कलेजमै अध्ययन गरेका दक्ष प्रशिक्षकहरुले दिएको तालिममा प्रदेशभरिका झन्डै तीन सयजना सहभागी भएका थिए ।

२८ माघदेखि वीरगन्जको होटल भिस्वाबाट शुभारम्भ भएको उक्त तालिम आठ दिनपछि बर्दिबासको गौतम होटलमा आएर समापन गरिएको छ ।

निरज सुवेदी, सतिश मिश्र, श्याम थापामगर, निसाल पोखरेल र टासी शेर्पाले दिएको उक्त प्रशिक्षण होटल व्यवसायी र व्यवस्थापकका लागि निक्कै उपयोगी सावित भएको प्रशिक्षार्थीहरुले बताए । काठमाडौं विश्वविद्यालयबाट सञ्चालित न्याथम कलेज मधेस प्रदेशमै पहिलोपटक बर्दिबासमा स्थापना भएको हो ।

होटल तथा पर्यटनसम्बन्धी तालिम र एकेडेमिक कक्षाहरु सञ्चालन गरी रोजगारीको समेत सुनिश्चित गर्दै आएको न्याथम राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित कलेज मानिन्छ । न्याथमको सहकार्यमा मधेस प्रदेशमा यस्ता तालिम सञ्चालन गर्न पाउँदा निकै खुसी लागेको होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमले बताउनुभयाे । बिहीबार भएको समापन कार्यक्रममा न्याथम कलेजका शिक्षक, होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरी र मधेस प्रदेशका पदाधिकारीलगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?