कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँले शुक्रबारको प्रदेशसभा बैठकबाट विश्वासको मत पाउनुभएको हो । शर्माको पक्षमा नेकपा एमालेका नौ, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीसहित २५ जना सांसदले मतदान गर्नुभएको छ ।

उहाँको विपक्षमा १४ जना सांसदले मतदान गरेका थिए । ४० सदस्यीय प्रदेशसभामा शुक्रबार ३९ सांसद मतदानमा सहभागी भएका थिए । नेपाली कांग्रेसले भने विपक्षमा मतदान गरेको थियो । मुख्यमन्त्री शर्मा पुस २७ गते कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा नियुक्त हुनुभएको थियो । यसअघि कांग्रेसका जीवनबहादुर शाही र माओवादी केन्द्रका महेन्द्रबहादुर शाही कर्णालीको मुख्यमन्त्री बनिसक्नुभएको छ ।
मुख्यमन्त्री नियुक्त भएको १०औँ दिनमा शर्माले विश्वासको मत पाउनुभएको हो । कर्णालीसँगै प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी गरी ६ वटा प्रदेशका मुख्यमन्त्रीहरूले विश्वासको मत पाइसकेका छन् । सुदूरपश्चिममा भने विश्वासको मत लिने प्रक्रिया सुरु भएको छैन ।

प्रदेश सरकारलाई कांग्रेसले जोगाउँछ : पूर्व-मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका पूर्व-मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकार ढल्न लागेमा कांग्रेसले जोगाउने बताउनुभएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत माग्दै गर्दा त्यसको जवाफमा शाहीले अहिले सहयोग गर्न नसकिने, तर सरकार ढल्न लागेमा सहयोग गरेर जोगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘अहिले सरकारलाई बहुमत ठिक छ, योभन्दा बढी दिएमा फेरि गिलासबाट पानी पोखिएझैँ होला । त्यसैले हामी पानि पोख्न चाहँदैनौँ, अहिले तपाईंहरूसँग नै गिलास भर्ने पानी ठिक छ,’ शाहीले भन्नुभयोे, यदि मुख्यमन्त्रीज्यू अल्पमतमा पर्नुभयो भने त्यतिबेला हामी बहुमत बनाउनका लागि ढाल बनेर सहयोग गर्नेछौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?