मगर राजाको सम्झनामा ‘पुतली नाच’

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 15 mins

बागलुङ । होरे कापै, होरे, ......यत्रै सितले, यत्रै सितले, माथिबाट हात्ति आयो झाप्रा हल्लाउँदै, तरुनी...... । हरेक वर्ष माघ २ गते साँझदेखि ३ गते दिउसभर निसीखोला गाउँपालिका-६ भल्कोटमा चारै तिर यस्तै यस्तै अश्लिल शब्द प्रयोग गर्दै युवाहरु समूहमा हातमा डम्फु बजाउँदै, खरानी दल्दै हिँड्छन् । त्यो समूहमा कोही थाग्नाभोक्टा लगाएका, कोही मुखुण्डो लगाएका हुन्छ । यो दृश्यले धेरैलाई अचम्मित बनाउँछ ।

माघ २ गते साँझ पुतली बनाउन सुरु गरेदेखि ३ गतेसाँझ खोलामा नबगाउँदासम्म उनीहरुलाई अश्लिल बोल्न र खरानी छर्न छुट हुन्छ । यसलाई स्थानीयले कापै खेल्ने अर्थात् फागु हाल्ने भन्छन् । माघ ३ गते विहानदेखि साँझसम्म भने पुतली जस्तै बनेका मान्छेहरु नाच्छन् । उनीहरुले सनदारमा फेता, शरीरमा विभिन्न थरीका कपडा पहिरिएका हुन्छन् । पुतली जस्तै बनेका उनीहरु दिन भर नाच्छन् । जसलाई स्थानीयले ‘पुतली नाच’ भन्छन् । यो नाच कहिलेदेखि नाच्दै आएको भन्ने यकिन छैन तर स्थानीय सयौँ वर्ष पहिलेदेखि नाच्दै आएका छन् । माघ २ र ३ गते प्रदर्शन हुने यी संस्कृतिहरु छुट्टा-छुट्टै भए पनि एकै दिन, एकै साथ नाचिन्छ ।

माघ ३ गते त्यहाँ एउटा अचम्मको दृश्य देखिन्छ । एउटा मानिसलाई स्थानीयले अनुहार नचिनिने गरि कपडाले मुख बाँधेका हुन्छन् । त्यसलाई पशुलाई जस्तै दाम्लोले बाँधेर डोर्‍याइन्छ । बेलाबेलामा त्यसको यौनाङ्ग देखाउँदै खरानी हाल्दिन्छन् । त्यो व्यक्ति मदिराले लठ्ठ परेको हुन्छ । जसलाई स्थानीय भालुको पित्त देखाउने संस्कृति भन्छन् । सोही दिन दिउसो तरबार समाएका केही व्यक्तिहरु नाच्छन् । जसलाई स्थानीय पट्टा नाच भन्छन् । पुतली नाच, पट्टा नाच, कापै नाच र भालुको पित्त देखाउने संस्कृति एकै दिन प्रदर्शन गरिन्छ ।

राजा रानीको सम्झनामा नाचिन्छ पुतली नाच

बाइसे चौबिसे राजाका पालादेखि नाच्दै आएको भनिए पनि मिति यकिन छैन । उनीहरु पाकापुर्खाहरुले मनाउँदै आएको हुँदा आफूहरुले त्यसको निरन्तरता दिँदै आएको स्थानीय ८१ वर्षीय मानसिंह बुढा मगर बताउनुहुन्छ । उहाँका अनुसार बाइसे चौबिसे राज्य हुँदा यहाँ मगर राजा वीरमानले राज गरेको र राजाको मृत्युपछि सम्झनामा हरेक वर्ष माघेसक्रान्ती मेला मनाउने र पुतली नाच नाच्ने गरिन्छ ।

उहाँ भन्नुहुन्छ- “म अहिले ८० पुरा भएर ८२ मा लागे, सानै हुँदा हाम्रो बाउ बाजेले यो नाच नाच्ने गर्नुहुन्थ्यो, यो कहिलेदेखि नाचेको भन्ने उहाँहरुलाई पनि थिएन, हामी सयौँ वर्ष पहिलेदेखि हुँदै आएको मान्छौँ, बाजेहरुले यहाँ मगर राजाले राज्य संचालन गरेको र राजा, रानी र उनीहरुको स्याहार सुसार गर्ने धाइमाको मृत्यु भएपछि यहाँका जनताले सम्झनामा यो नाच नाच्न थालेको हो भन्नुहुन्थ्यो, हामीहरुलाई पनि त्यस्तै लाग्छ ।”

उहाँका अनुसार माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाउने गरिन्छ । राजा, रानी र धाइमा गरी तीन वटा मूर्ति जस्तो पुतली बनाइन्छ भने माघ ३ गते बालक, युवा र बृद्धहरु पुतलीको पहिरन गरेर बाजाको तालमा नाच्ने गर्छन् । माघ ३ गते भल्कोट गाउँबाट नाच्दै केही माथि पुग्ने र त्यहाँ बन्दुक पट्काउने, पुलतीलाई डोलामा डुलाउने र नाच्ने गर्छन् । साँझ परेपछि खोलामा सेलाइन्छ ।

स्थानीय डिल बहादुर घर्ती मगरले पहिले यो नाच ननाच्दा गाउँमा एक युवा र एक युवतीको मृत्यु हुने गरेको भन्दै पुतली नाच नाच्दा गाउँलेको भलो हुने गरेको बताउनुहुन्छ । “पुतली नाच ननाचेमा गाउँमा अनिष्ट हुन्छ भन्थे, हुन पनि पहिले त्यस्तै भएको थियो, गाउँमा कलकलाउँदो उमेरका एक जना युवती र एक जना युवाको मृत्यु हुन्थ्यो,” उहाँले भन्नुभयो- “यो नाचलाई निरन्तरता दिएपछि अहिले त्यस्तो समस्या भएको छैन, ।”

निसीखोला गाउँपालिका-६ का अध्यक्ष हेमबहादुर बुढा मगर (सूर्यमान) ले सयौँ वर्ष पहिले यहाँ मगर राजाले राज्य गरेको र उहाँको मृत्युपछि शोकमा परेको जनताले स्मृतिमा पुतली नाच नाच्न थालेको बताउनुहुन्छ । उहाँले यो संस्कृतिले यो ठाउँ र मगर समुदायको पहिचान बोलेको बताउनुहुन्छ ।

“यो ठाउँमा मगर राजाले राज्य गरेको इतिहास छ, यसलाई धेरैले मेटाउन खोजेको पाइन्छ, तर यहाँ हुने विभिन्न संस्कृतिले त्यो इतिहास संरक्षण गरेको छ,” अध्यक्ष बुढा मगर भन्नुहुन्छ- “बुढापाकाले निकै मेहनतका साथ पुतली बनाउनेदेखि नाच्ने र खोलामा लगेर सेलाउनसम्म विधि पूर्वक गर्दै आउनु भएको छ, यो एउटा सिंगो इतिहास हो ।”

सेनाको तालिम हो पट्टा नाच

पट्टा नाच पनि माघ ३ गते पुतली नाचसँगै नाचिन्छ । हातमा भाला तथा तरबार लिएर पुतली नाच्ने व्यक्तिहरुनै यो नाच नाच्ने गर्छछन् । बाइसे चौबेसे राजाका पालामा राजाका सिपाहीहरुले गर्ने तालिमलाई अहिले पट्टा नाच भन्ने गरिएको स्थानीय नैनासिंह बुढा मगर बताउनुहुन्छ ।
“पट्टा नाच र पुतली नाच एकै पटक नाचिन्छ, पुतली नाच्नेहरुले नै अहिले यो नाच नाच्ने गरेका छन्, यो हामीहरु सानैदेखि नाच्ने गथ्र्यौँ, हाम्रो बाउहरु बाजेहरुले यसै गरि सिकाउनु भएको थियो, उहाँहरुले राजाका सेनाहरु तालिमलाई पट्टा नाच भनिएको हो भन्नुहुन्थ्यो, राजाका सेना पट्टाना नाच जस्तै गरि तालिम गर्थे रे, यो सयौँ वर्ष अगाडिको कुरा हो, यसको सबै इतिहास जान्ने पाका मान्छे छैनन् ।”

पट्टा नाच्दा दुई तर्फ तरबार र ढाल राख्ने गरिन्छ र दुई जनाले त्यसलाई नचाउने गर्दछन् । तरबार नचाउँदा दुबैले एक अर्कालाई मार्न र आफू बच्न खोज्छन् । पुतली नाच्ने र तरबार नचाउने उनीहरु आफै गर्दछन् ।

देवी खुसी पार्न खेलिन्छ होरे कापै खेल्ने

स्थानीय युवाहरु माघ १ गतेदेखि होरे कापै खेल्न सुरु गर्छन् । होरे कापै तिहारमा देउसी भैलो खेले जस्तै हो । माघ १ गतेदेखि उनीहरु घर-घरमा पुगेर खेल्ने गर्छन् र भूसा, रोटी, तरुल पैसा दानका रुपमा दिने गर्छन् । यस बेला कुनै पनि अश्लिल शब्द बोल्दैनन् । तर माघ २ गते होरे कापै खेल्नेहरु हातमा डम्फु लिएर बजाँदै अश्लिल शब्द भट्याउँछन् ।

पुतली बनाउने दिन माघ २ गते साँझदेखि ३ गते पुतली खोलामा लगेर नसेलाउन्जेलसम्म अश्लिल शब्द प्रयोग गरि भट्याउने गर्छन् । उनीहरुले होरे कापे होर, यत्रैै सिताले, देवी हाँस्दैनन्, उँभोबाट हात्ती आयो भेल लाएर, लगायत सुन्न पनि अत्न्यतै असहज लाग्ने शब्द प्रयोग गर्ने गर्दछन् । यसरी अश्लिल शब्द बोल्दा देवी (देवता) खुसी हुन्छन् भन्ने मान्यता रहेको स्थानीय मानसिंह बुढा बताउनुहुन्छ ।

“अहिले जमाना फेरिए, यो बिस्तारै कम हुँदै गएको छ, पहिलेपहिले फोहोर बोल्ने धेरै हुन्थे, यो यत्तिकै रमाइलो गर्नलाई बोलेको होइन, यसरी फोहोर बोल्दा देवी खुसी हुन्छनु भन्ने मान्यता छ,” उहाँले भन्नुभयो- “टाढा-टाढाबाट आउनेलाई नराम्रो लाग्न सक्छ तर यसको वास्तविकता भने इतिहाससँग जोडिएको छ ।”

देवीलाई खुसी पार्न यौनाङ्ग देखाइन्छ

माघ ३ गतेका दिन भल्कोट गाउँमा हुने पुतली नाचसँगै भालुको पित्त (यौनाङ्ग) देखाइन्छ । पुतली नाच र कापैसँगै देखाइने भालुको पित्त देख्दा जोकोही पनि अचम्मिच पर्छ । स्थानीयले एक जना मानिसलाई नचिनिने गरि मुख छोपिदिए र खरानी लगाइदिएर नचिन्ने बनाइएको हुन्छ । जसलाई भालु भनिन्छ । रक्सी खुवाएर लठ्ठ बनेको उसलाई पशुलाई झैँ दाम्लोले बाँधेर लतारिन्छ ।

उसँगै दुई/चार जना रक्सीले लठ्ठीएका मान्छे हुन्छन् । उक्त अपरिचित मान्छेलाई मान्छेको भिडमा लगेर भालु आयो भन्दै उसको गुप्ताङ्ग देखाई खरानी, माटो हाल्दिने गर्दछन् । जसलाई भालुको पित्त भनिन्छ । यसरी भालुको पित्त देखाउँदा पितृ खुसी हुने र देवी हाँस्ने स्थानीय मेयरसिंह घर्ती मगर बताउनुहुन्छ । उहाँले पछिल्लो समय यसरी मानिसको गुप्ताङ्ग देखाउँदा नराम्रो हुने भन्ने गुनासो आएको भन्दै यसले संस्कृति लोप हुने बताउनुभयो ।

उहाँ भन्नुहुन्छ- “यो त सयौँ वर्ष पहिलेदेखि चल्दै आएको चलन हो, अहिले भालु बन्न पनि मान्दैनन्, भालु भनेर पित्त देखाउँदा पनि राम्रो मान्दैनन्, यसरी त परम्परा हराउँछ, ठट्टा गर्नका लागि गरेको होइन, यसरी भालुको पित्त देखाउँदा देवी खुसी हुन्छन् भन्ने मान्यता छ, यो त हाम्रो बाउबाजेले गर्दै आएको कुरा हो ।”

यस्ता कला संस्कृतिको संरक्षणका लागि स्थानीय तिलाचन युवा क्लब सक्रिय बनेको छ । हरेक वर्ष क्लबले यसको व्यवस्थान गर्दै आएको अध्यक्ष सञ्जु थापा मगरले बताउनुभयो । उहाँले पुराना कला संस्कृति यस ठाउँको पहिचान भएको भन्दै पुतली नाचसँगै अन्य संस्कृति संरक्षणका लागि बुढापाकाबाट युवालाई सिक्न प्रेरित गर्ने गरेको बताउनुहुन्छ ।

“पुतली नाच देशकै गहना हो, यस्तो परम्परा अन्य कुनै ठाउँमा छैन, पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ, तर यसको संरक्षणका लागि हामीहरु लागि रहेका छौँ, यो कलिकति खर्चिलो पनि छ,” अध्यक्ष थापाले भन्नुभयो- “पुतली नाच प्रदर्शनमा लाग्ने खर्चदेखि अन्य व्यवस्थापन हामीहरुले गरेका छौँ, सरकारले पनि यस तर्फ ध्यान दियो भने यसको संरक्षण युगौँसम्म हुने थियो ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले निसीखोला गाउँपालिका कला, संस्कृतिको केन्द्र बिन्दु भएको भन्दै पुतली नाच ऐतिहासिक भएको बताउनुभयो । उहाँले पुतली नाचको संरक्षण तथा प्रवर्द्धन गर्नका निम्ति गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्ने र यसलाई पर्यटनसँग जोड्ने बताउनुहुन्छ ।

“पुतली नाच विशिष्ट संस्कृति हो, सयौँ वर्ष इतिहास बोकेको यो संस्कृति अहिले पनि जिवितै छ, यसको संरक्षणमा स्थानीयहरु लाग्नु भएको छ, गाउँपालिकाले पनि बजेट विनियोजन गरेर संरक्षणमा लागेका छौँ,” अध्यक्ष घर्ती मगरले भन्नुभयो- “पुतली नाचसँगै यहाँका गाउँहरु थुप्रै संस्कृति छन्, तिनीहरुको प्रवर्द्धनका लागि हामीहरु गम्भीर भएर लागेका छौँ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?