दुर्गमको व्यथा : खाद्यान्न ढुवानीमा खच्चडको भर, तेब्बर बढी भाडा तिर्दै स्थानीय

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । म्याग्दीको अत्यन्तै दुर्गम गुर्जामा सडकको पहुँच नपुग्दा स्थानीय चर्को भाडा तिरेर खच्चडको भर पर्न बाध्य छन् । खाद्यान्न ढुवानीको स्रोत बनेको खच्चड यहाँका जनताका लागि बरदान त सावित भएकोे छ, साथै चर्को रकम तिर्नसमेत बाध्य बनेका छन् । यहाँका बासिन्दालाई आवतजावत गर्न र खाद्यान्न ढुवानी गर्न खच्चडभन्दा अर्को विकल्प छैन । कोही बिरामी परेर अस्पताल जानसमेत कि त खच्चड, कि त बोकेरै जानुपर्ने बाध्यता छ ।

जिल्लाका ६ वटा स्थानीय तहका ४५ ओटा वडामध्ये धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जामा मात्रै सडकको पहुँच पुगेको छैन । सडक सुविधा नपुग्दा यहाँका स्थानीयहरू खच्चडमा बोकाएर गाउँमा खाद्यान्न लगायतका सामाग्री पुर्‍याउँदा चलनचल्तीको भन्दा तेब्बर बढी मूल्य तिर्न बाध्य छन् । दिनुहँ खाद्यान्नको मूल्य बजारमा बढिरहनु र बजारको चामल, नुन, तेल लगायतको दैनिक प्रयोग हुने खाद्यान्नहरू गाउँपालिकाको केन्द्र मुनादेखि चर्को शुल्क तिरेर खच्चडको भरमा ढुवानी गर्दा गुर्जाबासीले तेब्बर मूल्यमा दैनिक उपभोग्य वस्तु खाँदै आएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले हिमालय टाइम्सलाई बताउनुभयो । जिल्लाकै विकट र दुर्गम वडा गुर्जामा सडक विस्तार नहुँदा गुर्जावासीको दैनिकी कष्टकर छ ।

सदरमुकाम बेनीदेखि गाउँपालिका केन्द्र मुनासम्म पुग्न सवारीसाधनमा चार घण्टादेखि सात घण्टासम्म समय लाग्छ । यातायातको सहज सुविधा नपुग्दा आर्थिक अवस्था र रोजगार नभएका परिवारलाई आयातित खाद्यान्न महँगो मूल्यमा खान बाध्य गुर्जाका जनता रहेको अध्यक्ष छन्त्यालले बताउनुभयो । सडक पहुँच गाउँपालिकाको वडा नम्बर २ मा आइपुगेको छ । तर, बर्खायामको समयमा त्यहाँसम्म पनि सवारीसाधन आउँदैनन् । त्यहाँबाट पैदलयात्रामा गुर्जा आउन सात घण्टादेखि नौ घण्टासम्म लाग्छ । खच्चडले गाउँपालिकाको केन्द्र मुनाबाट खाद्यान्नहरू गुर्जामा एकदिनमा पु¥याउँछन् । खाद्यान्न मात्र होइन, कमजोर आर्थिक अवस्था भएका परिवारमा कोही बिरामी भए भने स्थानीयले बोकेर ल्याउनुपर्ने समस्या झनै बढी पीडादायी छ । सडक सञ्जाल नपुगेको ठाउँमा मात्र होइन, पुगेको ठाउँमा वर्षायामको समयमा खच्चडमा ढुवानी गर्न बाध्य रहेका छन् ।

गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर २ लुलाङमा संघ, प्रदेश, स्थानीय तहको पहलमा सडक पुग्न थालेको छ, भिर काट्न मात्र बाँकी छ । ‘लुलाङदेखि यहाँ लगभग एक सय किलोमिटर सडक आवश्यक छ, यो तत्काल सम्भव नुहँदा छन्त्याल जातिको बाहुल्य भएको गुर्जामा खाद्यान्न र सरकारी सुविधा लिन एकदिन हिँडेर गाउँपालिका पुग्नुपर्ने बाध्यता रहँदै आएको छ, तीन तहको सरकारले बजेट ध्यान दिएमा तीन, चार वर्षमा सडक पुग्ने सम्भावना रहेको छ, तर राजनीतिक दलको सरकार परिवर्तनको किचलोले यो पनि सम्भावना नरहेको वडा अध्यक्ष छन्त्यालको भनाइ छ ।

उसो त गण्डकी प्रदेश सरकारले सडकका लागि वार्षिक १० लाख रुपैयाँ बजेट विनियोजन गरिरहेको छ । तर, उक्त रकमले गुर्जावासीको सडक सपना एक शताब्तीमा पनि पूरा नहुने देखिएको छ । गाउँपालिकाले मुना-लुलाङ-गुर्जामा सडक योजनाको अघिल्लो वर्ष डिपिआर तयार पारेको थियो । डिपिआरअनुसार योजनालाई पूर्णता दिन करिब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको छन्त्यालले बताउनुभयो । उक्त बजेट मुनादेखि गुर्जासम्म सडकको ट्रयाक खोल्ने, सडक स्तरोन्नति र कालोपत्र सहितको लागत अनुमान गरिएको उहाँले बताउनुभयो ।

सडकको ट्रयाक मात्र खोल्न पनि करिब १० करोड रुपैयाँ लाग्ने उहाँले बताउनुभयो । कठिन भूगोलका कारण गुर्जामा सडक पुर्‍याउन ठूलो चुनौती छ उहाँले भन्नुभयो, वार्षिक रूपमा न्यून बजेट विनियोजनले ५० वर्षमा पनि गुर्जामा सडक पुग्दैन । गाउँपालिकाले यसअघि सुरुङ मार्गको अध्ययन पनि गरेको थियो । तर, सुरुङ मार्गको लागत धेरै लाग्ने भएकाले त्यो कुरा बीचमै रोकिएको छन्त्यालले बताउनुभयो ।
बेनी नगरपालिकाबाहेक गाउँपालिकाअन्र्तगत मालिका, धवलागिरि, अन्नपूर्ण र रघुगंगामा विभिन्न दुर्गम गाउँमा खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता कायमै छ ।

दुर्गम जनताको घरदैलोमा भएको समस्यालाई हेरेर तीन तहको सरकारले विकास निर्माण योजना र राज्यको सेवासुविधाहरू विशेष सहुलियतको ब्यवस्था र सेवा उपलब्ध गराउनमा ध्यान पुग्न आवश्यक छ । गाउँगाउँमा सडक सुविधाले हिउँदमा सवारीसाधन र बर्खायाममा मात्र खच्चडले ढुवानी गर्न खोज्दा खच्चड व्यवसाय पनि लोपोन्मुख अवस्थामा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?