प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदुवाको बिउको खरिद कार्यमा भ्रष्टाचार भएको ठहर गर्दै सोमबार अधिकारी पाण्डेसहित नगरपालिकाका तत्कालीन नगर प्रमुख, लेखापाल, आपूर्तिकर्ता स्पुक ट्रेडर्सका प्रतिनिधिसमेत ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार तत्कालीन नगर प्रमुख अधिकारीले दररेट निर्धारण समितिले अदुवाको बिउको दररेट तय गर्ने गरी गरेको सिफारिसमा मनाशिव कारणबिना नै अस्वाभाविक रूपमा दररेट थप गरी अदुवाको बिउको खरिद गरेको पाइएको छ । जसबाट नगरपालिकालाई १३ लाख रुपैयाँ थप व्ययभार पारी आपूर्तिकर्तालाई गैरकानुनी लाभ र गल्याङ नगरपालिकालाई गैरकानूनी हानि पु¥याइएको छ ।

अधिकारीविरुद्ध १३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ । त्यस्तै, उक्त कार्यमा सोही नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्द मणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालासमेत संलग्न रहेको आयोगले जनाएको छ ।

उनीहरूले स्पेसिफिकेसनमा उल्लिखित कागजातहरूको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बिउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेस गरेको पाइएको छ । पेस भएको उक्त टिप्पणी आदेश स्वीकृत गरी पटकपटक दुई करोड १४ लाख ५० हजार रुपैयाँ भुक्तानी दिएकोले आपूर्तिकर्तालाई गैरकानुनी लाभ र गल्याङ नगरपालिकालाई हानि पुगेको आयोगको ठहर छ । उनीहरूसँग एक करोड ९७ लाख ७० हजार ४९९ रुपैयाँ बिगो माग गरिएको छ ।

त्यस्तै, काठमाडौंको तीनकुनेमा रहेको अदुवाको बिउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि र उक्त प्रालिका अख्तियार प्राप्त प्रतिनिधि शिवप्रसाद न्यौपानेले गुणस्तरहीन अदुवाको बिउ आपूर्ति गरी भुक्तानी लिई आफूलाई गैरकानुनी लाभ गरेको आयोगको भनाइ छ । न्यौपानेसँग आयोगले दुई करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगो माग गरी सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?