नेपालको पहिलो पर्यटकीय गाउँ स्याङ्जाको सिरूबारी होमस्टेले रजत जयन्ती मनाउँदै

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 19 mins

स्याङ्जा । नेपालको पहिलो पर्यटकीय गाउँका रूपमा रहेको सिरूबारी होमस्टेले आफ्नो स्थापना कालदेखि (२०५४ सालदेखि २०७९) २५ वर्ष पूरा गर्दै छ । रजत वर्ष मनाउने ऐतिहासिक अवसर सिरूबारीले प्राप्त गरेको छ ।

२५ ओैँ वर्षगाँठको उपलक्ष्यमा सिरूबारी पर्यटन विकास समितिले सभ्य र उल्लासमय कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यस्तै यस महत्वपूर्ण अवसरमा ‘रजत जयन्ती स्मारिका’ प्रकाशनको तयारी भइरहेको छ । यस अवसरमा नेपालमा ग्रामीण पर्यटनको अवधारणा पहिलोपटक भित्र्याउने पूर्व सांसद क्या.रूद्रमान गुरूङलाई सम्झिनु नै पर्ने हुन्छ ।

होमस्टे नायक क्या.रूद्रमान गुरूङ

वि सं २०५४ सालमा स्थापित यो होमस्टे तत्कालीन पूर्व सांसद तथा समाजसेवी क्याप्टेन रुद्रमान गुरुङको सोच र नेतृत्वमा स्थापित पर्यटकीय गाउँ हो । स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं १ पञ्चमूलमा रहेको यो गाउँ २२ घरधुरीसहितको गुरुङ जातिको बसोबास रहेको गाउँ हो । यो होमस्टेमा प्रारम्भमा ४३ घरहरु होमस्टेका रुपमा सञ्चालनमा आएका थिए ।

रुद्रमान गुरुङको प्रारम्भिक उद्देश्य विदेशी पाहुनाहरुलाई सिरुबारी भित्र्याएर गुरुङ सभ्यता र संस्कृतिको विश्वव्यापीकरण गर्ने र गाउँलाई आर्थिक रुपमा सम्पन्न बनाउने थियो । त्यही अनुरुप यो होमस्टेमा विदेशी तथा स्वदेशी पाहुनाहरुको ठूलो सङ्ख्यामा आगमन भएको तथ्याङ्कले देखाउँछ । सिरुबारी गाउँ दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे हुनुले यसको योगदान स्वतः पुष्टि भएकै छ । नेपालको समेत पहिलो पर्यटकीय गाउँका रुपमा यसले गौरवपूर्ण ऐतिहासिक विरासत् प्राप्त गरेको छ ।

अरुले खनेको बाटोमा हिँड्न सबैलाई सजिलो हुन्छ तर आफैले गोरेटो निर्माण गरेर पाइला चाल्न चुनौतीपूर्ण नै हुन्छ । वि सं २०३५ सालभन्दा अगाडि नै तत्कालीन सिरुबारीमा भारतीय सेनाका क्याप्टेन रुद्रमान गुरूङले ग्रामीण पर्यटनको जुन सोच र सपना देख्नुभयो त्यो सामान्य कुरा थिएन। उहाँले होमस्टेको अवधारणा बोकेर पर्यटन मन्त्रालय पुग्दाखेरि पर्यटन मन्त्रालयका कर्मचारीलाई समेत होमस्टेको जानकारी नभएर सुरूसुरूमा खिसिट्युरी गर्ने गरेको सिरूबारीका रत्नबहादुर तमुले बताउनुहुन्छ ।

जतिबेला देशमा होमस्टे भन्ने धारणा नै थिएन, त्यतिबेला गुरुङले गाउँमा होमस्टेका लागि शौचालयका खाडल खनाइ रहनु भएको थियो । गुरुङले २०४८ सालसम्ममा गाउँमा होमस्टेका लागि आवश्यक धेरैजसो पूर्वाधारहरु तयार पारिसक्नु भएको थियो ।

२०४८ सालमा स्याङ्जा जिल्लाको क्षेत्र नं २ बाट सांसद निर्वाचित भएपछि गुरुङ होमस्टेको सपनालाई साकार पार्न झनै लागि पर्नुभयो । उहाँले यसलाई होमस्टेका रूपमा विधिवत दर्ता गराई सञ्चालनमा ल्याउने काम गर्नुभयो । यसले नेपालमा ग्रामीण पर्यटनको अवधारणाको सुरूवात गरिदियो । सिरुबारीमा विदेशी पर्यटक ओइरिन थालेपछि गाउँलेले पनि बल्ल होमस्टे राम्रो कुरा रहेछ भन्ने कुरा थाहा पाएको आमा समूहकी अध्यक्ष चन्द्रवती गुरूङ बताउनुहुन्छ ।

आज देशभरि च्याउ झैं होमस्टे खुलिरहेका छन् भने ती होमस्टेबाट हजारौं बेरोजगार नागरिकले रोजगार पाएका छन् । यसबाट श्रमको उचित मूल्य प्राप्त भएको छ भने गाउँमा उत्पादन गरेको वस्तु गाउँमै बिक्री गरेर आयआर्जनको अवसर मिलेको छ । पर्यटकहरुबाट प्राप्त आम्दानीले बाटाघाटा, खानेपानी, शौचालय तथा अन्य विकासका पूर्वाधार निर्माण भइरहेका छन् । यसको मूल श्रेय सिरुबारी गाउँ र यसका जन्मदाता ग्रामीण पर्यटनका पिता रुद्रमान गुरुङलाई जान्छ । आज पनि सिरुबारी नेपालको आकर्षक होमस्टे र पाहुनाका लागि उत्कृष्ट गन्तव्य स्थल हो । देश विदेशबाट पाहुनाहरु यहाँ आउने क्रम बढिरहेको छ ।
भारतीय सेनामा भर्ती भइ जागिरको क्रममा स्विरजरल्यान्डको होमस्टेका बारेमा पढ्ने मौका पाएपछि गुरुङको मनमा पहिलो पटक सिरुबारी गाउँमा पनि होमस्टे खोल्न सकिन्छ भन्ने विचार र योजना बनेको रहेछ । त्यही विचार र योजनाको मूर्त रुप नै आजको सिरुबारी हो ।

भौगोलिक तथा प्राकृतिक स्थितिः

समुद्र सतहबाट १६०० मिटरको उचाइमा सिरुबारी गाउँ छाता आकारको वा चराको आँखा आकारको देखिन्छ । यो गाउँमा बस्ती बस्नु भन्दा पहिले चारैतिर शिरु घाँसहरु पाइने हुनाले यो गाउँलाई ’सिरुबारी’ भनिएको भन्ने भनाइ छ । त्यस्तै गाउँको तलतिर बारीहरु र बारीहरुको माथि शिरमा गाउँ अवस्थित भएकाले ’सिरुबारी’ नाम रहन गएको भन्ने भनाइ पनि प्रचलित छ ।

प्रकृति र संस्कृतिको अनुपम मिश्रण सिरुबारीको मुख्य विशेषता हो । प्रकृतिको सुन्दरताले घेरिएको यो गाउँ सिद्धार्थ राजमार्गबाट १५ किलोमिटर दक्षिण पश्चिममा पर्दछ । सिरुबारीका टोलहरु क्रमशः पश्चिमबाट पूर्वतिर फैलिएका पञ्चमूल, मुला, विरौटा, वयखोला, पत्र, पुरान डाँडा, ले चिप्लेटी, घरेडी, राखल्थुँ, धेवा नाँश, डाँडाखोर, हेम्रो र कुर्ले पर्दछन् ।

यहाँ लगभग ३०० वर्ष अगाडिदेखि बस्ती बसेको पाइन्छ । प्रायजसो ठाउँहरुको नाम गुरुङ भाषामा रहन गएको पाइन्छ । जस्तैः राखल्धुँ, पिपलधुँ, सानो को, प्यारक्यु मे, कुँ धुँ, पेकार धुँ, मे नास आदि ।

उत्तर पश्चिमतर्फ कुनै तपस्वीले आफ्नो जटा फिँचाएर तपस्यामा लिन भई आशीर्वाद प्रदान गरिरहे जस्तो अनुभूति हुने पवित्र तीर्थस्थल डहरे देउराली पहाड र उत्तरपूर्वतर्फ आफ्नो भूगर्भभित्र अनगिन्ती खनिज पदार्थहरुलाई लुकाएर एउटी गर्भवती महिलाले आफ्नो गर्भमा रहेको बच्चालाई सम्झी मुस्कुराइरहेको अनुभूति हुने स्याङ्जा जिल्लाकै अग्लो थुम्के पहाडको काखमा सिरुबारी गाउँ पश्चिमबाट पूर्वतर्फ लमतन्न परेको अवस्थामा अवस्थित छ । गाउँको दक्षिणतर्फ नागबेली परेको दरौंखोला, सहुरे र कल्लेरी खोला छङछङ गरेर बगिरहेको मनमोहक दृश्य देखिन्छ । डहरे लेकको दक्षिण फर्केको पाटोमा पारिपट्टि ठूलो भौगोलिक तथा जनसाङ्ख्यिक बस्तीलाई समेटेर हासिरहेको सिरुबारीलाई प्रकृतिको भूस्वर्ग भन्न पनि सकिन्छ ।

गाउँको माथि झाँक्री वनमा नवयुवा क्लबको सहयोगमा वनभोज खाने ठाउँ (पिकनिक स्पोट) निर्माण गरिएको छ । यहाँ झाँक्रीको थान छ । उभौंली र उधौंली वर्षमा २ पटक सम्पूर्ण गाउँले मिलेर पूजा गर्ने चलन छ । यो वनको घाँस दाउरा काटेर कसैले घरमा लगेमा अनर्थ हुन्छ भन्ने विश्वास रहेकाले झाँक्री वनको घाँस दाउरा कसैले काटेर लैजाने चलन हुँदैन ।

वनजङ्गल संरक्षण र वृक्षारोपणमा गाउँबासीले विशेष प्राथमिकता दिएको देखिन्छ । वि सं २०३९ सालमा सम्पूर्ण गाउँलेहरु मिलेर जनश्रमदानबाट ४.५ किलोमिटर ढुङ्गाको पर्खाल लगाएर ५०० हेक्टर जमिनमा वृक्षारोपण गरिएको छ र यहाँ ’हरियो वन नेपालको धन’ भन्ने भनाइलाई चरितार्थ पारिएको छ ।

सिरुबारीको पूर्वोत्तर भागमा स्याङ्जा जिल्लाकै सबैभन्दा अग्लो पहाड घुम्रो पर्दछ । घुम्रोको टाँकुरामा भ्यु टावर पनि निर्माण गरिएको छ र टावरबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी, निलगिरी आदि हिमालहरु र पोखरा, पाल्पाको श्रीनगर डाँडाँको मनमोहक दृश्य देखिन्छ । नजिकैको घना वन र जङ्गलको एकान्तपनले यात्रुलाई प्रकतिको सामिप्यता महसुस गराउँदै ध्यान र योगका लागि उत्प्रेरित गरिरहेको हुन्छ ।

सांस्कृतिक सम्पदाः

सिरुबारी प्राकृतिक सम्पदाले मात्र होइन सांस्कृतिक सम्पदाका दृष्टिकोणले पनि धनी छ । यहाँ हरदिन घाटु, सोरठी, सालैज्यु, सुनीमाया, यानीमाया, झोडा, भ्याउरे, भदौरे भाका,भजन चुड्का गुन्जिरहेका हुन्छन् । गाउँमा पाहुनाहरु बस्न आउँदा, लाहुरेहरु घर बिदामा आउँदा, गाउँमा विवाह, व्रतबन्ध, पूजाआजामा फूलमालाले स्वागत गर्दै बाजा बजाई रमाइलो गर्ने प्रचलन रहेको छ । राति पर्यटन भवनमा सांस्कृतिक कार्यक्रमको प्रस्तुति देखाइन्छ ।

सरसफाइको उचित व्यवस्थापन यहाँको सुन्दर मौलिक पक्ष हो । पाहुनाले पहिल्यै सम्पर्क गरेर जाँदा व्यवस्थापनमा सहज र सरल हुन्छ । पाहुनालाई पहिले पर्यटन समिति, आमा समूह र नवयुवाक्लबका सदस्यहरुले बाजा बजाएर फूलमाला लगाएर स्वागत गर्ने परम्परा छ । त्यसपछि पाहुनाहरुलाई सिरुबारी गाउँको बारेमा ब्रिफिङ गरेर विभिन्न ठाउँहरु इच्छाअनुसार भ्रमण गराइन्छ । राति सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिन्छ जहाँ नेपाली मौलिक लोकसंस्कृतिका गीतहरु कलाकारहरुबाट मौलिक तरिकाले प्रस्तुत गर्ने नृत्यहरु प्रस्तुत गर्ने जस्ता क्रियाकलापहरु हुन्छन् ।

सिरुबारीमा बुद्ध धर्म मान्ने मानिसहरुको बहुलता रहे पनि हिन्दू धर्मप्रति पनि समान आस्था राखेको पाइन्छ । धार्मिक सहिष्णुताको स्थिति बलियो रहेको छ । यो गाउँको मुख्य पेसा कृषि र पशुपालन भए तापनि अधिकांश युवाहरु भारतीय सैनिक र बेलायती सेना तथा वैदेशिक रोजगारका लागि खाडी तथा युरोपमा गएको पाइन्छ ।

यहाँ गुजुमुज्ज परेका घरहरु, ढुङ्गाले छाएका घर, ढुङ्गाकै आगन, ढुङ्गाकै पर्खालको कलात्मकताले यहाँ जाने हरेक पर्यटकलाई लोभ्याउँछ । प्रकृतिलाई कलात्मक तरिकाले कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा सिरुबारीले सिकाएको छ । अर्को यहाँको विशेषता भनेको चिरिच्याट्ट परेका घर अनि सफा बाटोघाटो हो ।

सिरुबारी पसेपछि कुनै पनि पर्यटकले कृत्रिमताको महसुस गर्नुपर्दैन । चाहे त्यो बसाइँमा होस् चाहे त्यो खानपानमा होस् चाहे सांस्कृतिक कार्यक्रममै किन नहोस्, मौलिकपनसहितको सिरुबारीको सुगन्ध हरेक पर्यटकलाई महसुस गराउनु यहाँको मौलिक विशेषता हो ।
गुरुङ दिदीबहिनीहरुको सुन्दर र स्वच्छ व्यवहार र आतिथ्यताले पर्यटकलाई आत्मीय बनाइरहेको हुन्छ । पाहुना आतिथ्यको आफ्नै मौलिक संस्कारभित्रको आत्मीयता र सामिप्यताले पर्यटकलाई सिरुबारी बसाइँमा परिवारमै बसेको महसुस हुन्छ । आधुनिकता र कृत्रिमताले थाकेको मानिस यहाँ आएर तनाव बिसाउन पाउँछ । जीवन र प्रकृतिका बिचको सम्बन्धको गहिराइलाई थोरै भए पनि अनुभूति गर्न पाउँछ । यही नै सिरुबारी गाउँको विशेषता हो।

सिरुबारीले राष्ट्रिय घरेलु उद्यमी पुरस्कार २०४७, राष्ट्रिय युवा वन पुरस्कार २०५०, राष्ट्रिय वन पुरस्कार २०५२,पाटा एवार्ड २००१), पहाडी क्षेत्र विकास पुरस्कार (रु १ लाख) २०६२ जस्ता सम्मान तथा पुरस्कार पाएको छ । सिरुबारी गाउँको हुलाक टिकट प्रकाशनको स्वीकृति २०७८ बाट दिइएको छ ।

समावेशी होमस्टे

सिरुबारी गाउँ गुरुङ जातिको बाहुल्यता रहेको गाउँ भए पनि नजिकै रहेका दलित समुदायका ठुला बस्तीहरु र अन्य समुदायका बस्तीहरु पनि एकै ठाउँमा रहेकाले यहाँ मिश्रित प्रकारको समाज नै देखिन्छ । होमस्टेको व्यवस्थापनमा मूलतः गुरुङ समुदायकै भूमिका रहे पनि सांस्कृतिक कार्यक्रम, कला र मनोरञ्जनका क्षेत्रमा दलित शिल्पी समुदायको उपस्थिति र भूमिका सशक्त रहँदै आएको छ । यसबाट जातिगत असमानता तथा विभेदलाई अन्त्य गर्ने राज्यको उद्देश्यमा समेत टेवा मिलेको देखिन्छ ।

दलित समुदायलाई उपेक्षा गर्ने सामाजिक विभेदपूर्ण संरचना रहेको अवस्थामा दलित शिल्पीहरुको कला र प्रतिभा प्रस्फुटनको मौका दिने काम प्रारम्भदेखि नै यो होमस्टेले गर्दै आएको छ । वर्गीय विभाजन र गरिबीको मार खेपिरहेको दलित समुदायले यस होमस्टेमा श्रमको अवसरमात्र पाएको छैन, आर्थिक विपन्नताको पिरलोबाट समेत मुक्ति पाएको छ । यहाँ गुरूङ र दलित तथा अन्य समुदाय मिलेर नै होमस्टे चलाएको देखिन्छ ।

आगामी सम्भावना

सिरुबारीमा प्याराग्लाइडिङको सफल उडान परीक्षण भइसकेको अवस्था छ । प्याराग्लाइडिङको राम्रो सम्भावनालाई विज्ञहरुले पहिल्यै औल्याइसकेकाले यसलाई व्यवहारमा उतार्नु अबको आवश्यकता बनेको होमस्टे महासङ्घ होफेनको केन्द्रीय उपाध्यक्ष उर्मिला गुरूङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘यसका लागि ल्यान्डिङ गर्ने जग्गा पनि उपलब्ध भइसकेको छ । उडान भर्ने र ल्यान्डिङ गर्ने जग्गा उपलब्ध भई प्राविधिक कार्यहरु सम्पन्न भइसकेको छ ।’

सिरुबारीमा छिटोभन्दा छिटो प्याराग्लाइडिङ सेवा उपलब्ध गराउनका लागि सरकार र समुदायको ठोस प्रयास आवश्यक छ । यसले सिरुबारीको पर्यटनमा कोसे ढुङ्गाको काम गर्ने छ । दक्षिण एसियाको पहिलो होमस्टे गाउँ सिरुबारीको आकाशमा प्यारासुट उड्नु आफैमा अर्थपूर्ण हुनेछ ।

यसका अतिरिक्त सिरुबारीमा क्यानोइङको सम्भावना र रक क्लाइम्बिङको सम्भावना पनि पर्याप्त रहेको विज्ञहरुको निष्कर्ष रहेकाले आगामी दिनमा यसतर्फ पनि सरकारको सहयोग भए आफूहरू अगाडि बढ्न तयार रहेको सिरूबारी पर्यटन विकास समितिका अध्यक्ष जितेन्द्र गुरूङले बताउनुहुन्छ ।

 

 

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
@hamroadhikholahot
@hamroadhikholahot
2023-01-27 8:20 pm

बिस्तृत को लागि यता छ है @hamroadhikholahot youtube च्यानलमा हेरन सक्नु हुनेछ

रिलेटेड न्युज

छुटाउनुभयो कि ?