सत्ता समीकरण भत्काउने कुनै पनि षड्यन्त्र सफल हुँदैन : पोखरेल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुष्चक्रमा फसाउने प्रयास भइरहेको आरोप लगाउनुभएको छ । एमालेद्वारा शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘शहीद स्मृति कार्यक्रम’मा बोल्दै महासचिव पोखरेलले मुलुकमा देखापरेको राजनीतिक अस्थिरताको खेललाई सही बाटोमा अघि बढाउन आफ्नो पार्टी दृढ संकल्पित रहेको समेत उल्लेख गर्नुभयो ।

महासचिव पोखरेलले नेपाली राजनीतिमा देखापरेका पछिल्लो राजनीतिक परिस्थितिप्रति पार्टी गम्भीर रहेको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक सामना गरेर अघि बढ्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक अस्थिरताको दुष्चक्र कायम गर्ने जुन कोसिस गरिएको छ । त्यसलाई नेकपा एमाले सफलतापूर्वक सामना गर्दै अघि बढ्न तयार छ भन्ने कुरा पनि म तपाईंहरूका बीचमा राख्न चाहन्छु । अहिले नेपाली राजनीतिमा जुन प्रकारका अस्थिरताका खेलहरू भइरहेका छन् । नेकपा एमाले त्यसप्रति अन्त्यन्त गम्भीर छ । र, सचेततापूर्वक त्यसलाई सही बाटोमा अघि बढाउनका लागि दृढ संकल्पित रहेको कुरा यहाँ उल्लेख गर्दछु ।’

महासचिव पोखरेलले नेपाली कांग्रेसले सत्ता समीकरण भत्काउन खोजेको बताउनुभयो । सहमतिका नाममा परिवर्तन खोज्नु नेपाली कांग्रेसको सत्तालिप्सा मात्रै भएको पनि महासचिव पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रेमिट्यान्समा वृद्धि हुन थालेको छ, यो आशा जागृत गरेको परिस्थितिलाई बदल्ने कुरामा सायद कसैको रुचि हुन्छ जस्तो मलाई लाग्दैन, परिवर्तन खोज्नु भनेको कांग्रेसको सत्तालिप्सा मात्रै हो, वास्तवमा असफल भएको कांग्रेसले राष्ट्रपति निर्वाचनमा सहमतिका नाममा सत्ता समीकरण भत्काउने कुत्सित मनशाय राखेको होला, त्यो सम्भव छैन, समीकरण फेरिँदैन ।’ सत्तासाझेदार दल मिलेरै अघि बढ्ने पनि उहाँले बताउनुभयो । महासचिव पोखरेलले एमालेले शहीदहरूको सम्मानमा कमी आउन नदिने गरी मुलुकलाई अघि बढाउने प्रयास गरिरहेको पनि बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?