राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक

फागुन १३ गते उम्मेदवारी दर्ता, २५ गते निर्वाचन

यज्ञराज पाण्डे
Read Time = 6 mins

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी आयोगले सो जानकारी गराएको हो । त्यस्तै, आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत्र ३ गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताउनुभएको हो ।

उहाँले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्नेगरी आवश्यक तयारी गर्ने प्रयास गरे पनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुने बताउनुभयो ।

त्यस्तै, आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गर्ने १२ गते र उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने १३ गते रहेको बताएको छ । त्यस्तै, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने १३ गते साँझ, उम्मेदवारको विरुद्धमा उजुरी दिने १४ गते, मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते साँझ, उम्मेदवारले नाम फिर्ता लिने १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गत साँझ र मतदान गर्ने २५ गते रहेको आयोगले जनाएको छ ।

त्यस्तै, उपराष्ट्रपतिको निर्वाचन फागुन ३ गते हुने भएको छ । प्रवक्ता पौडेलले मतदाता नामावली प्रकाशित गर्ने काम लगायतका कामलाई राष्ट्रपतिकै कामलाई गरेकोबाट निरन्तरता दिने बताउनुभयो । उहाँका अनुसार उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता फागुन २७ गते, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशित गर्ने सोही दिन २७ गते नै रहेको छ । त्यस्तै, उम्मेदवारको विरोधमा उजुरी दिने सोही दिन, मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने २८ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने फागुन २८ गते रहेको छ ।

संविधानको ‘स्पिरिट’अनुसार निर्वाचन हुन लागेको अयोगको भनाइ
नेपालको संविधानको धारा ६३ को उपधारा १ र धारा ६९ बमोजिम राष्ट्रपति तथा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले ५ वर्ष हुने संवैधानिक व्यवस्था छ । विक्रम संवत् २०७४ फागुन २९ गते भएको राष्ट्रपतिको निर्वाचनमा निर्वाचित वर्तमान राष्ट्रपतिको पदावधि २०७९ फागुन २८ गते समाप्त हुने भएको तथा २०७४ चैत ४ गते निर्विरोध निर्वाचित हुनुभएका वर्तमान उपराष्ट्रपतिको पदावधि २०७९ चैत ३ गते समाप्त हुने भएकाले सोअगावै निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिएको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ४ र ५ बमोजिम आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्नेछ । सोसम्बन्धी सूचना राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ४ तथा दफा ५ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने भएकाले सोका लागि नेपाल सरकारका मुख्य सचिवमार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई आयोगले लेखी पठाउनेछ । आयोगले तोकिएको मितिमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउन नेपाल सरकारका मुख्य सचिवमार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउने जनाइएको छ ।

संविधानको ‘स्पिरिट’लाई समातेर पाँच वर्षको अवधि नघट्ने गरी तादम्यता मिलाउनका लागि आयोग लागेको आयोगका प्रवक्ता पौडेलको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २८ गतेबाट सकिँदै छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिसँगै निर्वाचन तालिकासमेत सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?