वर्तमान अस्थिरताको रहस्य

हिमालय टाइम्स
Read Time = 6 mins

वर्तमान सरकार राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रसिद्ध बालकविता ‘टालाटुली बटुली कति राम्री पुतली...’ले भने जस्तै छ । टालाटुली बटुली बनाएको पुतली पनि धेरै राम्रो देखिन्छ । केटाकेटी रमाएर त्यससँग खेल्छन् पनि तर त्यस पुतलीमा धेरै टालाटुली जोडिएको छ भन्ने तिनलाई थाहा हुँदैन । वर्तमान सरकारमा यसरी नै सातवटा दल मिलेका छन् । भूमिकामा सबैको उत्तिकै संलग्नता छैन होला तर केही पार्टीहरू त्यही पुतली जसरी झिल्के पारामा अग्रपंक्तिमा रहेका छन् । छिटै हृवात्तै अगाडि आएको राष्ट्रिय स्वतन्त्र पार्टीले नसोचेको सफलता पाउनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा संलग्न हुन अत्यन्त ब्यग्र रूपमा अगाडि आयो । चल्तीको सिनेमाका नायक जसरी उक्त पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाइनुभयो ।

त्यसैको लालचमा उहाँले प्रचण्ड सरकारलाई विश्वासको मत दिनुभयो । तर त्यसको केही दिन बित्न नपाउँदै उहाँ नागरिकता प्रकरणमा मन्त्रिपरिषद्बाट बाहिरिनु पर्‍यो । यसका साथै उहाँको सांसद पद पनि खारेजीमा पर्‍यो । यसपछि अनेकौं प्रश्न उठिरहेका छन् र तर्कवितर्क भइरहेका छन् । यो त राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा भयो, यता प्रचण्ड सरकार पनि अहिले अप्ठ्यारोमा पर्दै गएको छ । पार्टीभित्रै मत-मतान्तर बढ्दै गएको छ । रास्वपाले सरकारलाई आफ्ना माग पूरा नगरे सरकारबाट बाहिरिने चेतावती दिएको छ । यदि सरकारले उक्त पार्टीले चाहेजसरी उसका माग पूरा गर्न सकेन र रास्वपा बाहिरियो भने उसको बहिरगमनपछिको अवस्था कस्तो होला ?

यता सत्ता गठबन्धनका अन्य पार्टीहरूमा पनि विश्वासको संकट पैदा हुन थालेको पाइएको छ । यसको सुरुवात यही रास्वपाको अध्यक्षको नागरिकता प्रकरण, उहाँको सांसद पद खारेजीपछि भएको र अहिले चुलिँदै गएको छ । सरकार बनेको एक महिनामात्रै हुँदैछ तर यति छोटो समयमै गठबन्धनमा अविश्वास व्याप्त भइरहेको छ । सकेसम्म विश्वासको वातावरण नटुटोस् भन्नेमा प्रयास गरेका छौं भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले भन्नुभएको छ । यसबाट नेकपा एमाले–माओवादी पार्टीबीचको मतमतान्तर निकै बढेको रहेछ भन्ने देखिन्छ । सांसद पद गुमाएका रास्वपाका नेता लामिछानेले प्रधानमन्त्रीलाई भेटेर समय समेत दिएर आफूलाई पुनः गृहमन्त्रीमा नियुक्ति गर्न दिएको चेतावनीमा पनि बालहठ देखापर्छ ।

हिजो उहाँको अवस्था एउटा थियो र आज अर्कै छ, तैपनि त्यही अवस्थामा फर्किने उहाँको चाहनालाई कुनै बाध्यता मान्ने वा रहर ? जे होस् हिजो जे-जसरी सरकार बनाइयो त्यो केबल एउटा लक्ष्यमा हिँडिरहेको नेपालको राजनीतिको बाटो मोडिदिन तयार पारेको योजनाजस्तो मात्रै देखिँदै आएको छ । सो वातावरणलाई बिथोलिसकेपछि अब पुनः अर्कै बाटो वा लय न नेपालको राजनीतिले समात्ने अवस्था अहिले देखिएको छ, न त सरकारको स्थायित्व नै कायम रहने अवस्था छ । लामो समयमसम्म गठबन्धन गरी सरकार चलाएका मित्रशक्ति त्यागेर प्रधानमन्त्रीको पदका पछि लाग्नुभएका दाहाललाई आफ्नै सहकर्मी पार्टीहरूबाट आउने चेतावनीबाट निकै असहज लाग्दै आएको देखिन्छ ।

त्यसैले त उहाँले सहकार्य नटुटोस् भन्ने प्रयासमा आफू भएको बताउनुभएको हुनसक्छ । नत्र उहाँले त्यस्तो अवस्था छैन भन्न सक्नुपथ्र्यो त्यसो भन्न सक्नुभएन । माओवादी पार्टी भने रविलाई पुनः मन्त्रीमा फर्काउन इच्छुक देखिएको छैन । रविले मन्त्री बन्ने चाहना राखेजस्तै अन्य गैरसांसदको पनि मन्त्री बन्ने चाहना नहोला भन्न सकिँदैन । त्यसरी नै सबैले चाहना प्रकट गर्दै गए भने त्यसको प्रवाह निकै बढ्न सक्छ र सरकारले पूरा गर्न सक्दैन भन्ने माओवादीको भनाइ हुनसक्छ । त्यस्ता मन्त्रीहरूले ६ महिनाभित्र सांसद बन्नुपर्छ नत्र त्यस्ता व्यक्तिहरूको मन्त्री पद कायम रहँदैन । तर, संविधनमा यस्तो व्यवस्था भए पनि ६ महिनामात्रै भए पनि मन्त्री बनिहालौँ न त भन्ने मनसायका कारण यस्तो प्रवाह बढ्न सक्छ । विधि र प्रवृत्ति पालन गरेरमात्र सरकार अघि बढ्नु उचित हुन जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?