पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका पूर्वप्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । वडा नम्बर ८ को बिसरभोरा नहरदेखि गोठ कोयलपुरसम्म कृषि सडक निर्माणका क्रममा फिल्डमा भएको कामभन्दा बढी राखेर नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार परी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको अख्तियारको दाबीसहित अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले पूर्वप्रमुख उदयकुमार बरबरिया यादव, उपप्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समितिका संयोजक जैसिलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखियाविरुद्ध मुद्दा दायर भएको छ ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, इन्जिनियर संजय यादव, वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियत र योजना शाखा प्रमुख विन्देश्वर यादव, तत्कालीन आर्थिक प्रशासन प्रमुख नन्दकुमार झा र उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमार र सचिव मुकेश लखनदे यादवविरुद्ध मुद्दा दायर भएको छ ।

सोमबार अख्तियारले सजाय मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । उनीहरू उपर दुई लाख १२ हजार ८१६ रुपैयाँ बराबरको सरकारी रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?