रविको आक्रोस, अपरिपक्वता र यथार्थ

हिमालय टाइम्स
Read Time = 7 mins

रवि लामिछानेका पाइला नेपालको राजनीतिमा जति छिटो अगाडि बढे त्यही गतिमा पछाडि धकेलिँदै पनि गएका छन् । नेपाली राजनीतिमा स्थापित भएको ६ महिनामा उहाँको राष्ट्रिय स्वतन्त्र पार्टीले जति उन्नति गर्न पुग्यो त्यो मिहिनेतपूर्वक भएको संगठन विस्तारले भएको होइन । त्यो कुरा उहाँहरू स्वीकार्नु हुन्न होला र उहाँका समर्थक जनताले नस्विकार्लान्, त्यो फरक कुरा हो तर कसैले नस्विकारे पनि यथार्थ यही नै हो । तीसौं वर्ष संगठन विस्तार गर्दा कतिपय पार्टीहरू जहाँको त्यहीँ छन् । रास्वपा ६ महिनामै निक्कै अगाडि आयो । कुनै चामत्कारिक कार्य होइन र पार्टीको लोकप्रियताले भएको पनि होइन ।

रास्वपाले यस निर्वाचनमा जे जति स्थानमा विजय हासिल गर्‍यो त्यो नेपाली जनताले पुराना पार्टीहरूलाई विश्वास गर्न नसकेको र तिनको विकल्प खोज्ने क्रममा केही गर्छ कि भन्ने आशा र अपेक्षाका साथ जनताले उक्त पार्टीलाई मत दिएका हुन् । नसोचेको परिणाम आएपछि रास्वपा अत्यन्त अस्वाभाविक रूपमा उत्तेजित बन्नपुग्यो । उसले सरकारमा जाने सोच बनाउनै हुने थिएन । आफ्नो विजयलाई सुरक्षित गर्दै सुरुमै प्रतिपक्षमा बस्ने निर्णय गर्नुपथ्र्यो । त्यसो हुन सकेन, हतार गरेर सरकारमा गयो र आपूmले थेग्नै नसक्ने पदहरू बार्गेनिङ गरी-गरी लियो ।

राजनीतिमा अस्थिरता फैलाउन चाहने र भाँडभैलो मच्चाउने चाहनाका साथ आफ्नो स्वार्थ पूर्ति गर्न अगाडि आएका ठूला भनिएका केही राजनीतिक दलले रास्वपाका अध्यक्ष रवि लामिछानेलाई अत्यन्त अस्वाभाविक ढंगले बेस्सरी उचाले र जति माथि पुग्ने गरी उचाले त्यति तल झारेर पछारे पनि । यसका लागि उहाँको नगरिकता र पासपोर्ट प्रकरणलाई माध्यम बनाइयो । जनतासामु छोटो समयमा अत्यन्त लोकप्रिय बनेको रास्वपा यही एक महिनामै लोकप्रियता खस्किने गरी धेरै पछाडि धकेलिन पुगेको छ । आइतबार पार्टीको बैठक गरी उक्त पार्टीले आफ्ना सदस्यलाई मन्त्रीबाट फिर्ता बोलोउने निर्णय गरेको छ तर सरकारलाई दिएको समर्थन चाहिँ फिर्ता लिएको छैन ।

पर्ख र हेरको नीति अवलम्बन गरेको छ । उक्त पार्टीले यस्तो निर्णय सुरुमै गरेर सरकारमा जानै हुने थिएन । त्यसरी अडानका साथ प्रतिपक्षमै बसेको भए अर्को निर्वाचनमा पार्टीले हाल उक्त पार्टीले भने जसरी नै प्रधानमन्त्रीकै दाबी गर्नेगरी आफ्नो हैसियत विकास गर्न सक्थ्यो । त्यो कुरा पार्टी र पार्टीका अध्यक्ष लामिछानेलगायत नेताहरूले सुरुमा बुझ्न सक्नु भएन । अपेक्षा नगरेको परिणाम आउँदा उहाँहरूलाई के-के न पाएजस्तो लाग्यो र हतारिएर मन्त्री बन्न जानुभयो । लामिछानेले नगरिकतालागयत आफ्ना कानुनी आधार मजबुत बनाउन पनि सक्नुभएको रहेनछ भन्ने अहिले देखिन आयो । आइतबारको पत्रकार सम्मेलनमा लामिछानेले असंयमित भएर आफ्नो अपरिपक्वता देखाउनुभयो ।

उहाँले विभिन्न व्यक्ति, पार्टी र मिडियाप्रतिको आफ्नो आक्रोस निरन्तर प्रकट गर्नुभयो । चुनौतीको भाषामा सडकमा झगडा गर्ने समूहले देखाउने जस्तो उत्तेजनात्मक अभिव्यक्ति र निर्वाचनका लागि विभिन्न पार्टी र मिडियालाई लल्कार्नु भयो । उहाँले यसपटक विजय हासिल गरेको स्थान उहाँको लालमोहोर लागेको क्षेत्र होइन र त्यहाँबाट अरूले कहिल्यै जित्न नसक्ने भन्ने होइन भन्ने कुरा उहाँले बुझ्न सक्नुभएन । त्यत्तिको ठूलो पार्टीको अध्यक्ष जस्तो गरिमामय पदमा रहनु भएका नेताले यति उत्तेजनात्मक अभिव्यक्ति नदिएको भए उचित हुन्थ्यो । चुनाव लड्न चुनौती र गलत समाचार लेखे मिडिया हाउसका कार्यालय घेर्ने उहाँको चेतावनी पनि संयमता गुमाएर दिएको उत्तेजनात्मक अभिव्यक्ति हो ।

उहाँको सबैभन्दा ठूलो विरोध र चेतावनी मिडियालाई नै थियो । नामै लिएर उहाँले मिडियालाई दोहोलो काड्नुभयो र केही मिडियाहरूबाट भएका कानुनविरोधी कार्यलाई दृष्टान्तका साथ प्रस्तुत गर्नुभयो । तर, उहाँले जति उत्तेजनात्मक र अपरिपक्व अभिव्यक्ति दिनुभएको भए तापनि यिनमा कुनै सत्यता छैन भन्ने चाहिँ होइन । उहाँ आफैं पनि सञ्चारकर्मकै व्यक्ति हुनुहुन्छ । त्यसैले पत्रकारिता गर्दा उहाँले यस्ता अनेकौं कुरा थाहा पाएको हुनसक्छ । पत्रकार हुँ र मिडिया हाउसको सञ्चालक हुँ भन्ने आधारमा कतिपयले फाइदा लिएको र आपराधिक कार्यहरू दबाउन सफल भएका उदाहरण पनि लामिछानेसँग अनेकौं हुन सक्छन् । त्यसैले मिडिया हाउसले पनि यसतर्फ विचार पु¥याएर सुध्रिनु आवश्यक छ, लामिछानेलाई मात्र दोष लगाउनु उचित हुँदैन ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Lekhanath pokharel
Lekhanath pokharel
2023-02-07 8:29 am

तपाईकाे लेखाइ पनि सारै सतहि भयाे। नेपालका मिडियाले दलालि गर्छन् भन्ने कुरा सामान्य राजनितिक र सामाजिक ज्ञान हुनेलाई थाहा छ। हिजाे रबिले मिडिया माथि लगायका अाराेप धेरै मात्रामा सहि छन्। त्यैले गर्दा रबिले अाम जनमानस मा अाफ्नाे गिरेकाे साख लाई केहिमात्रामा जाेगाउन सफल भए । रबिले पुरै अाक्रास र गलत गरे भन्नेत बुद्दिजिबि भनाउदा र तपाईं जस्ता हातमा कलम भयपछि जेलेखेपनि हुन्छ भन्नेहरुले हाे।

छुटाउनुभयो कि ?