हलेसी तुवाचुङ नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 5 mins

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगर स्तरीय तेश्रो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको खेलमैदानमा बुधबारबाट ३० स्वर्ण पदकका लागि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा छात्राछात्रतर्फ एथलेटिक्सको १३/१३ स्वर्ण, छात्राछात्र भलिवलमा एक/एक र छात्राछात्र कबड्डीमा एक/एक स्वर्ण पदकका लागि खेल हुनेछ ।

स्वर्ण, रजत, कास्य पदक विजेताले मेडल, प्रमाण पत्र पाउनेछन् । प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सम्पूर्ण विधामा विजेता विद्यालयलाई रनिङ शिल्ड दिईने सितोरियो करातेका प्रशिक्षक मिलन कसजुले जानकारी दिनुभयाे ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गराउन केन्द्रले १ लाख दिने गर्छ । तर, भौगोलिक विकटता तथा महंगीका कारण एक लाखले प्रतियोगिता गराउन संम्भव नभएपछि नगरपालिकाले आन्तरिक श्रोतबाट चार लाख व्यवस्थापन गरी पाँच लाखमा प्रतियोगिता गराउन लागेको हो । सोही बजेटबाट प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउँजाउँ तथा अन्य व्यवस्थापन खर्च पनि उपलब्ध गराइएको छ । दुरीको आधारमा ३० हजारदेखि ५० हजारसम्म प्रति विद्यालयलाई खर्च उपलब्ध गराईएको नगरपालिकाले जनाएको छ । प्रतियोगिता २७ माघमा सक्ने लक्ष्य राखिएको छ ।

प्रतियोगिताका स्वर्ण जित्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा खेल्न पाउनेछ । जिल्ला स्तरीय प्रतियोगिताको टुंगो लागेके छैन । नगर स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोश्रो संस्करणको उपाधि महेन्द्रोदय मावि महादेवस्थान र पहिलो संस्करणको उपाधि दुर्छिम मावि दुर्छिमले उचालेकोे थियो ।

मेयर बिमला राईको अध्यक्षतामा भएको नगर स्तरीय तेश्रो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य वजिमय, उपमेयर रमेशकुमार राउत, दुर्छिम र सल्ले बाहेक १० वडाका वडाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, राजनीतिक दल, सहभागी १२ वटा सामुदायिक मावि र एक नीजि माविका प्रधानाध्यापक तथा प्रतिनिधि, बुद्धिजीवी लगायतको उपस्थिती थियो ।

विगत दुई वर्ष गरिएको नगर स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तुलनामा तेश्रो संस्करणमा सत प्रतिशत विद्यालयको उपस्थिति भएको मेयर राईले बताउनुभयो । खेलकुदलाई व्यवसायिक रुपमा अघि बढाउन नगरपालिकाले तीनवर्ष अघि फुटबल र करातेको प्रशिक्षक नियुक्ति गरेको थियो ।

नगरपालिकाको विभिन्न स्थानमा फुटबल र कराँतेको प्रशिक्षण भइरहेको छ । चालू आर्थिक वर्ष २०७९/०८० मा एकजना मुवाथाईको पनि प्रशिक्षक नियुक्ति गरिएको मेयर राईले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?