पार्टी संरचनामा आमूल परिवर्तनको तयारीमा माओवादी केन्द्र

नाम र चुनाव चिह्नसमेत फेर्न प्रस्ताव

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले पार्टी संरचनामा आमूल परिवर्तनको तयारी गरेको छ । माघ १२ देखि २१ गतेसम्म बसेको पार्टीको स्थायी समिति बैठकले संरचनागत, विधि र पद्धति, नाम र चिह्नलगायत विषयलाई आमूल परिवर्तन गर्दै सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माण गर्ने निर्णय गरेको हो । पार्टी संरचनामा आमूल परिवर्तनअन्तर्गत पार्टीको नाम र चुनाव चिह्नसमेत फेर्ने तयारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको नाम, चुनाव चिह्न र संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव स्थायी समिति बैठकले अनुमोदन गरेको हो । ‘पार्टीको आन्तरिक जीवन र राजनीतिक क्षेत्रमा उत्पन्न समस्या, चुनौतीको सामना र सम्भावनाको सदुपयोग गर्ने एउटा अवसर फेरि आएको छ । हामीले पार्टीको समग्र वैचारिक-राजनीतिक-सांस्कृतिक पक्षमा थप अभिरुचिका साथ काम गर्नु छ,’ अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमा भनिएको थियो, ‘संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जन मनोविज्ञान, भू-राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धासमेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ । त्यसका लागि प्रारम्भिक चरणमा तीन महिनाको लागि कार्यक्रम प्रस्ताव गरिएको छ ।’

यसका लागि पार्टीभित्र प्रारम्भिक चरणमा तीन महिनाको लागि कार्यक्रम प्रस्ताव गरिएको छ । माओवादीले विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभएका वापमन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने भएको छ ।

नेताहरूको वरीयता तोकियो, कार्य विभाजनमा एक पद एक कार्यकारी जिम्मेवारी
माओवादी केन्द्रले महाधिवेशन भएको लामो समयपछि पदाधिकारी र स्थायी समिति सदस्यहरूको वरीयता निर्धारण गरेको छ । पूर्व–सभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष नियुक्त गरी उपमहासचिव पम्फा भुसाललाई पनि उपाध्यक्षमा नियुक्त गर्दै माओवादीले वरीयता निर्धारण गरेको हो । पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहनुभएको छ । तीन उपाध्यक्षहरूमध्ये कृष्णबहादुर महरा पहिलो, सापकोटा दोस्रो र भुसाल तेस्रो वरीयतामा रहनुभएको छ । पाँचौँ वरीयतामा महासचिव देवप्रसाद गुरुङ हुनुहुन्छ । उपमहासचिवको वरीयतामा क्रमशः गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादव हुनुहुन्छ ।

माओवादी केन्द्रले पुरानै कार्य विभाजनलाई कायम राखेको छ । जसअनुसार संगठन विभाग प्रमुखमा जनार्दन शर्मा ‘प्रभाकर’ नै कायम रहनुभएको छ भने अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनले निरन्तरता पाउनुभएको छ । २०७८ पुस दोस्रो साता काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले कार्य विभाजनबारे निर्णय लिएको थिएन ।

माओवादी केन्द्रले एक पद एक कार्यकारी जिम्मेवारीको नीति अवलम्बन गर्ने भएको छ । स्थायी समितिको बैठकले एक पद एक कार्यकारी जिम्मेवारी तोक्ने निर्णय गरेको हो । यसलाई केन्द्रदेखि वडा तहसम्मै लागू गर्ने पार्टीको निर्णय छ । प्रदेश समन्वय समितिको बैठक राखी सबै केन्द्रीय सदस्य र प्रदेश सदस्यसहित सबैको जिम्मेवारी तोक्दा एक पद एक कार्यकारी जिम्मेवारीको नीतिअनुसार जिम्मेवारी तोक्न पार्टीले सर्कुलर पठाएको छ । माओवादी केन्द्रले पार्टीको प्रदेश समन्वय समितिको बैठक फागुन ५ गतेसम्म सक्ने गरी समयसमेत तोकेको छ ।

कांग्रेसको भोट ट्रान्सफर नहुँदा चुनावमा अनपेक्षित नतिजा
माओवादी केन्द्रले गत निर्वाचनमा कांग्रेसको ‘भोट ट्रान्सफर’ नभएको निष्कर्ष निकालेको छ । माओवादी स्थायी समिति बैठकले गठबन्धन दल मुख्यतया नेपाली कांग्रेसको भोट ट्रान्सफर नहुने समस्या चुनावी परिणामका लागि जिम्मेवार बन्न पुगेको निष्कर्ष निकालेको हो । तुलनात्मक रूपले जनमत राम्रो रहेको निर्वाचन क्षेत्रहरू गठबन्धनभित्रका अरू दलहरूलाई छोड्नुपर्ने बाध्यता र जनाधार नै नभएका कतिपय क्षेत्रहरू लिने रुचिले परिणाममा थप गम्भीर असर परेको माओवादीको निष्कर्ष छ । गत निर्वाचनमा पार्टीमा एकजुट हुन नसकेको कारण सोचेजस्तो परिणाम ल्याउन नसकिएको अर्को निष्कर्ष रहेको छ । मुलुकको संघीय राजधानी काठमाडौं उपत्यकाभित्र निल भएको स्मरण गर्दै यसका पछाडि आधारभूत जनता र वर्गसँग पार्टीको सम्बन्ध टाढिएको सहरिया मध्यमवर्गको साथ लिन नसकेको, युवा र बौद्धिक जमातलाई आकर्षित गर्न नसकेको कुरा पुष्टि भएको माओवादीको निष्कर्ष छ । ‘पार्टी सदस्यता बराबर समानुपातिक मत प्राप्त नभएको कुरा जिल्लामा प्राप्त भएको समानुपातिक तर्फको मतले हाम्रो संगठनको अवस्थालाई उजागर गरेको छ,’ अध्यक्ष प्रचण्डको प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचनमा जुनजुन प्रदेश र जिल्लाहरूमा पार्टीमा एकरूपता र सहमतिको साथ निर्वाचन प्रक्रियामा सहभागी भयौँ त्यहाँ सकारात्मक परिणाम हासिल भयो । जुन प्रदेश र जिल्लाहरूमा एकता र सहमति देखिएन त्यहाँ प्रतिस्पर्धा आमनिर्वाचन जित्ने जिताउनेभन्दा एक आपसमा एक-अर्कालाई हराउनेतिर उन्मुख भएको पाइयो ।’ चुनावी समीक्षाका बारेमा सबै जिल्ला र प्रदेशहरूको रिपोर्ट प्राप्त भएपश्चात् पार्टी केन्द्रीय कार्यालयले विस्तृत समीक्षाको रिपोर्ट तयार पारेपश्चात् आवश्यक निर्णयमा पुगिने माओवादीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?