विराट गोल्डकपको पुरस्कार राशि वृद्धि गरिने

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । मोफसलको सर्वाधिक चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकपको पुरस्कार राशि वृद्धि गर्ने तयारी गरिएको छ ।

गत संस्करणको उपाधि विजेता एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो । यसैगरी उप विजेता हुने टिमले ७ लाख ५१ हजार प्राप्त गरेको थियो ।

तर, यस सिजनको विजेताले पाउने पुरस्कारको राशि वृद्धि गर्ने तयारी गरिएको विराट गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विराट गोल्डकपलाई अझ स्तरीय बनाउने तयारीका साथ पुरस्कारको राशी पनि बढाउने सोच बनाएका छौं ।’

यसपटक कम्तिमा विगतको तुलनामा पुरस्कार राशि  ४–५ लाख वृद्धि हुने उहाँले बताउनु भयो । उप विजेता हुने टिमले पनि कम्तिमा ३ लाख बढी पुरस्कार पाउनेछ । पुरस्कार राशिबारे चाँडै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पनि कोइरालाले बताउनु भयो ।

यसैगरी प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्ने पनि बताइएको छ । यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता खेलाडी र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

विराट गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म विराटनगरको शहीद रंगशालामा हुँदै छ । खेलहरु रातिको  समयमा फलर्ड लाइटमा सञ्चालन हुनेछन् । ८ टिमले सहभागिता जनाउने प्रतियोगितामा ७ खेलबाट उपाधिको छिनोफानो हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?