इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र युनाइटेड विजयी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३-१ गोलअन्तरले पराजित गर्यो ।

सिटीलाई जित दिलाउन रोड्री, इल्के गुन्डोगान र रियाद महरेजले एक/एक गोल गरे । ओली वाट्किन्सले एस्टन भिल्लाका लागि एक गोल फर्काए ।

जितसँगै दोस्रो स्थानमा रहेको सिटीले शीर्ष स्थानको आर्सनलसँगको दूरी ३ अंकमा झारेको छ । आर्सनलले २१ खेलबाट ५१ अंक जोड्दा सिटीको २२ खेलमा ४८ अंक छ । एस्टन भिल्ला २८ अंकसहित ११ औँ स्थानमा छ ।

यता, लिगकै अर्को खेलमा मा म्यानचेस्टर युनाइटेडले सहज जित हात पारेको छ ।

युनाइटेडले घरेलु टोली लिड्स युनाइटेडमाथि २–० को सहज जित हात पारेको हो, जसमा खेलको अन्त्यतिर मार्कस रासफर्ड र एलेहान्द्रो गर्नाचोले एकएक गोलको योगदान गरेका थिए ।

एलान्ड रोड लिड्स रंगाशालमा आइतबार राति भएको खेलको ८०औं मिनेटमा लुका साको पासमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । त्यस पछि ८५औं मिनेटमा परिवर्तित खेलाडी एलेहान्द्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए ।

यस जितसँगै तेस्रो स्थानमा रहेको युनाइटेडको २३ खेलबाट ४६ अंक पुगेको छ । पराजित लिड्स २२ खेलबाट १९ अंक जोडेर १७औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?