अम्रिसोको मूल्य बढ्दा किसान उत्साही

हिमालय टाइम्स
Read Time = 3 mins

ताप्लेजुङ । अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि पूर्वी पहाडी क्षेत्रका किसान उत्साही भएका छन् । तीन वर्षअघि प्रतिकिलो रू ३५ का दरले मुस्किलले बिक्री गर्नुभएका ताप्लेजुङको खेवाङका नेत्र आचार्यले गत वर्ष प्रतिकेजी रू एक सय २० मा बिक्री गर्नुभयो । यो वर्ष पनि त्यही मूल्यमा खरिद भइरहेकाले थप मूल्य बढ्नसक्ने किसानले अनुमान गरेका छन् ।

मूल्यमा उतारचढाब आइरहे पनि यो वर्ष प्रतिकिलो रू एक सयदेखि रू एक सय २० सम्म किसानबाट व्यवसायीले खरिद गरिरहेका छन् । अम्रिसोको व्यापार गर्दै आउनुभएका स्थानीय रुपनारायण पाण्डेले प्रतिकिलो रू एक सय २० सम्म लगाएर १० क्विन्टल अम्रिसो जम्मा गर्नुभएको छ । झापाको धुलाबारीमा लगेर बिक्री गर्दै आउनुभएका पाण्डेले यो वर्ष केही बढ्नसक्ने अनुमान गरेको बताउनुभयो । अम्रिसो झापाको धुलाबारीमा पुर्‍याउँदा गत वर्ष रू एक सय ४१ सम्म बिक्री भएको उहाँको भनाइ छ ।

पछिल्लो समय भारतबाट अम्रिसोको माग बढेर आएपछि मूल्य बढेको व्यवसायीहरुको भनाइ छ । कुनै समय बिक्रीका लागि नभइ घाँस र कुचोका लागि अम्रिसो रोप्ने पहाडी क्षेत्रका किसानले बजार र मूल्य पाउन थालेपछि व्यावसायिक रुपमा नै यसको खेती गर्न थालेका छन् । अम्रिसोको डाँठलाई दाउराका रुपमा र पातलाई घाँसका रुपमा प्रयोग गर्ने किसानले फुलेको भागलाई निकालेर कुचोका रुपमा बिक्री गर्दै आएका छन् ।

बहुउपयोगी अम्रिसोले राम्रो मूल्य पाउन थालेकाले पहाडी भेगका किसानमा उत्साह छ । अन्नबालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखा जमिनमा समेत अम्रिसो खेती गर्न सकिन्छ । हिउँदका समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईबस्तुका लागि निक्कै उपायोगी हुन्छ । ग्रामीण भेगसम्म यातायातको पहुँच पुगेपछि यसको व्यावसायिक खेती बढेको हो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?