कांग्रेसद्वारा सांसद भण्डारीको स्वास्थ्यलाभको कामना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता एवं गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यलाभको कामना गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बुधबार राति खाना पकाउने क्रममा ग्यास लिक भई गम्भीर घाइते हुनुभएका नेता भण्डारीको स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

यस्तै उक्त घटनामा परी गम्भीर घाइते हुनुभएकी नेता भण्डारीकी आमा हरिकलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको घटनाप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । नेता डा भण्डारीको श्वासनलीमा तातो हावा र धुवाँका कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिएको र नेपालमा उपचार सम्भव नभएकाले चिकित्सकको सिफारिसबमोजिम थप उपचारका लागि आजै श्रीएयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको कांग्रेसले जनाएको छ ।

लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएकी ममतामयी माता ८६ वर्षीया हरिकला भण्डारीको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताएको छ । कांग्रेसले स्व हरिकलाको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतात्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?