गोंगबु घटनाबारे छानबिन गर्न डिआइजीको नेतृत्वमा समिति गठन

आगजनी र लुटपाटमा संलग्नमध्ये ३८ जना पक्राउ

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नयाँ बसपार्क (गोंगबु) क्षेत्रमा भएको घटनाको छानबिन गर्न डिआइजी नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गत सोमबार यातायात व्यवसायीको आन्दोलनका क्रममा भएको लुटपाट र क्षति तथा प्रहरीको तर्फबाट भएको कमजोरीबारे अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । शान्तिपूर्ण भनिएको उक्त आन्दोलन उग्र बनेको र प्रहरीले बल प्रयोग गर्न किन चुक्यो ? भन्ने लगायतबारे पनि समितिले छानबिन गर्नेछ ।

उहाँका अनुसार एक साताभित्र अध्ययन प्रतिवेदन बुझाउन समितिलाई समय दिइएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) मसउद आलम खाँ नेतृत्वको समितिमा उपत्यका प्रहरीकै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायव उपरीक्षक (डिएसपी) खुमलाल भुसाल सदस्य रहेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

गत सोमबार यातायात मजदुरले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै आन्दोलन गरेका थिए । आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले प्रहरी वृत्त बालाजुको दुईवटा गाडी र अस्थायी प्रहरी बिट जलाएका थिए । ट्राफिक आयरल्याण्ड पनि भत्काएका थिए । यता, त्यहीबेला एक समूहले ल्होत्से मलमा लुटपाट गरेको थियो । घटनाबारे उचित छानबिन गरी दोषीलाई कारबाही गर्न बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि निर्देशन दिनुभएको थियो ।

यसैबीच, आगजनी र मोबाइल पसल लुटपाटमा संलग्नमध्ये हालसम्म ३८ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू बसपार्क र माछापोखरीमा भएको प्रदर्शन र लुटपाट घटनामा संलग्न रहेका थिए ।

काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले मोबाइल पसल लुटपाटमा संलग्न ११ जना तथा आगजनी र तोडफोडमा संलग्न २७ जनालाई पक्राउ गरेको हो । घटनास्थलको फुटेज हेरेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्ने अधिकांश विद्यार्थी, ड्राइभर, सहचालक र मजदुर छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार आगजनी र तोडफोडमा संलग्न ६ जना र मोबाइल पसल लुटपाटमा चार जनालाई सार्वजनिक गरिसकेको छ । परिसरको टोलीले बिहीबार पनि आगजनी र तोडफोडमा संलग्न थप नौजना र लुटपाटमा संलग्न थप चारजना पक्राउ गरेको जनाएको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले आगजनी, तोडफोड र लुटपाटमा संलग्न १५ जनालाई बिहीबार सार्वजनिक गरेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार मोबाइल लुटपाटमा संलग्नमध्ये अधिकांश चालक र सहचालक छन् । बुधबार र बिहीबार पक्राउ परेकामध्ये नौजना चालक र सहचालक मोबाइल लुटपाटमा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको हो ।

पक्राउ परेकामध्ये नौजना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सहचालक रहेको पुष्टि भएको एसपी राठौरले बताउनुभयो ।

मोबाइल लुट्ने क्रममा सिसिटिभीमा देखिएका मुख्यमुख्य अभियुक्तहरूलाई पक्राउ गरिसकिएको र थप केही निगरानीमा रहेको उहाँको भनाइ छ । लोत्से मलभित्र सञ्चालित पसलबाट मोबाइल, ल्यापटप लगायतका सामानसहित आठ करोड बढीको चोरी भएको दाबी व्यापारीहरूले गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?