नेपाल-चीन प्रसारण लाइन निर्माणबारे बैठक हुँदै

Read Time = 2 mins

काठमाडौं । नेपालको विद्युत् भारतले आफ्ना ‘इन्ट्रेष्ट’ आयोजनाबाट मात्रै खरिद गर्ने नीति लिएकोमा नेपालले असन्तुष्टि प्रकट गरिरहेका बेला नेपाल—चीन सीमापार विद्युतीय प्रसारण लाइन निर्माणबारे वार्ताका लागि आइतबार चिनियाँ टोली नेपाल आउने भएको छ । सीमापार प्रसारण लाइन अघि बढाउने विषयमा नेपाल विद्युत् प्राधिकरणका अधिकारीसँग वार्ता गर्न चीनको स्टेट ग्रिड कर्पोरेसनको टोली आउने भएको हो ।

प्रस्तावित रातामाटे-रसुवागढी-केरुङ जोड्ने सीमापार प्रसारण लाइन आयोजना अघि बढाउनेबारे चिनियाँ पक्षसँग विस्तृत छलफल हुने आयोजनाका प्रमुख कोमलनाथ आत्रेयले बताउनुभएको छ । सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी दुई देशबीचको बैठक काठमाडौंमा हुने भएको हो ।

बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले सीमापार प्रसारण लाइन निर्माणको कामलाई गति दिन बैठक महत्वपूर्ण हुन सक्ने बताउनुभएको छ । बैठकमा सम्भावित विद्युत् व्यापार, दुई देशबीच विद्युत्को माग र आपूर्ति अवस्थाबारे कुराकानी हुने बताइएको छ । नेपाल-चीन सीमापार प्रसारण लाइन चार सय केभी क्षमताको हुनेछ भने लम्बाइ ७० किलोमिटर हुनेछ । प्रसारण लाइन निर्माण भएमा पाँच हजार मेगावाट विद्युत् व्यापार हुन सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?