आयोगले एकीकृत निर्वाचन कानूनको मस्यौदा पेस गर्दैछः प्रमुख आयुक्त थपलिया

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निर्वाचन आयोगले सातौं निर्वाचन दिवसका अवसरमा निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचनासहित समयानुकुल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी पेस गर्ने भएको छ ।

फागुन ७ गते (आज) निर्वाचन आयोगले सातौं निर्वाचन दिवसको अवसरमा सो मस्यौदा पेस गर्न लागेको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस वर्षको निर्वाचनको सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानूनको पालनासहित अवलम्वन गरेका नविन अभ्यासहरूको समीक्षाका क्रममा केही सकारात्मक पहल गर्न सकिएको अनुभव भएको बताउनु भयो ।

उहाँले गत निर्वाचनका क्रममा देखिएका समस्या र चुनौतिलाई समाधान गर्न मार्गदर्शन पनि प्राप्त भएको उल्लेख गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगलाई आएका सुझावलाई समेटेर आगामी निर्वाचनको तयारी गर्ने र निर्वाचन कानून र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा पनि दृढतापूर्वक अग्रसर हुने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले निर्वाचन पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने बताउनु भयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र स्वतन्त्र बनाउन सहयोग गर्ने सबै पक्षलाई सो अवसरमा उहाँले धन्यवाद ज्ञापनसमेत गर्नुभयो ।

यस निर्वाचन आयोगले निर्वाचनमा सबै सधैँ सँगै भन्ने नारासहित सातौं निर्वाचन दिनवस मनाउन लागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?