इन्सेक प्रतिवेदन : नेपालमा हरेक दिन मानव अधिकार उल्लंघनका २० वटा घटना

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपालमा हरेक दिन २० वटा भन्दा बढी मानव अधिकार उल्लंघनका घटना भइरहेको तथ्यांक सार्वजनिक गरेको छ । इन्सेकले आइतबार सार्वजनिक गरेको सन् २०२२ को मानव अधिकार वर्ष पुस्तकअनुसार, नेपालमा हरेक दिन २० वटा मानव अधिकार उल्लंघनका घटना भइरहेका छन् । इन्सेकले सन् २०२२ मा नेपालमा कुल सात हजार ३७६ वटा मानव अधिकार उल्लंघनका घटना भएको विवरण सार्वजनिक गरेको हो । इन्सेकका अनुसार, यो एक वर्षमा ३२३ को हत्या भएको छ भने दुईजना बेपत्ता पारिएका छन् । ३५ जना अपहरणमा परेको, ८१ जना गिरफ्तार भएको र ४४८ जनामाथि कुटपिट भएको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । कारागारमा ५३ जनाको मृत्यु भएको छ ।

इन्सेकले राजनीतिक प्रकृतिका मानव अधिकारका घटना केही कमी भएपछि सामाजिक र जनजीविकाको पाटोमा मुलुकको अवस्था सुधार हुन नसकेको औँल्याएको छ । वार्षिक प्रतिवेदनअनुसार, मानव अधिकार उल्लंघन, ज्यादती र अपराधका घटना भइरहेका छन् । बढ्दो सडक दुर्घटना, आत्महत्या र विपद्का कारण बर्सेनि हजारौँ नागरिकले ज्यान गुमाउने गरेको भन्दै इन्सेकले वार्षिक प्रतिवेदनमा भनेको छ, ‘नागरिकप्रतिको दायित्वमा सचेत रही सरकारका आँखा यस्ता घटनाका यसलाई नियन्त्रण गर्नेतर्फ पनि पर्नु जरुरी छ ।’

कारागारहरू सुधारगृहमा रूपान्तरण हुन नसकेको, विवादास्पद रूपमा अध्यादेश र विधेयक ल्याउने काम भएको, प्रदेशस्तरमा संरचना बन्न नसकेको, शिक्षा, स्वास्थ्य र मानव अधिकार कागजमा सीमित रहेको भन्दै इन्सेकले दलहरू नागरिकको जनजीविकाको सवालमा क्रियाशील हुन नसकेको औँल्याएको छ । ‘दलहरूको ध्यान सत्ता राजनीतिमा केन्द्रित हुँदा कार्यपालिकाले कसरी सत्ता टिकाउने र लम्ब्याउने भन्नेतिर आफ्नो ध्यान केन्द्रित गर्‍यो । जीवनको अधिकार संरक्षणमा सरकारले पूर्ण सफलता पाउन सकेन’, प्रतिवेदनमा भनिएको छ, ‘सरकार सरोकारबाट बाहिरिँदा जानाधिकार कुण्ठित हुने नै भयो । संकमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्नुपर्नेमा सरकारको परिणाममुखी तदारुकता देखिएन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?