✍️ ताराबहादुर बुढाथोकी
बसबाट ओर्लना साथ भित्तो शान्त स्निग्ध सुन्दर देखियो । अलि उकालो हो बाटो त । कतिखेर पुगिएला जस्तो भयो । मन त पुगे नि पाइलाहरू भने सिँढीमा बिस्तारो मात्र उचालिए । ३७५० मिटरको उचाइमा चढ्दै गर्दा हल्का सास बढ्दो रहेछ । हरियो-परियो देख्न पाइन्न । तर पनि रमाइलो लाग्छ । केही नेपाली चलचित्रहरूको छायाँछवि आँखामा नच्न थाले । मान्छेहरू निकै हिँड्छन् तर उक्लिन सकिरहेका छैनन् । मलाई पनि निकै लेख्न मन छ तर कहाँबाट थालौं जस्तो लागिरहेको छ ।
हिन्दू समाजमा वैष्णव समूहका नेपालमा रहेका चार प्रमुख क्षेत्रहरू रूरू क्षेत्र, वराह क्षेत्र, देवघाट क्षेत्र र मुक्तिक्षेत्र हुन् । यीमध्ये मुक्तिक्षेत्र हिमालले ओडेको हिउँको पछ्यौरी अलि मास्तिरसम्म लपेटिएको छ । ठाउँठाउँमा तुषाराले छोपेको छ जमिन । समात्दा छर्याम्म गर्छ । समिर निकै चिसो छ । घाम हिमालयको शिखरमा गोडा पसार्दै छ । उकालीको बायाँपट्टि कलकल खोली छ । दायाँबायाँ धुपीका साना बिरुवा सकीनसकी हरिया बन्न खोजेका छन् तर १५ देखि २० सेन्टीमिटरभन्दा अग्ला छैनन् । धुपीबाट उस्तो बास्ना चलेको छैन । हातले टिप्यो वा चलायो भने मगमग बास्ना चल्छ । सुगन्ध दिन्छ तर रिँगाटा लाग्ने खालको कडा हुन्छ यो सुगन्ध ।
वर्तिरपर्तिर थुम्कीहरूमा मन्दिर, गोम्बा र स्तुपजस्ता राम्रा बास्तुकलाका नमुनाभित्र भगवानको बास छ खुड्किला गनिएन, लगभग दुई सय खुड्किला होला तर हिँड्न झण्डै २० मिनेट लाग्छ । दुई-चार खुड्किला उक्लियो, उभियो फेरि उक्लियो । देब्रेपट्टि छड्किएर सिँढीबाट द्वारमा पुगिन्छ । द्वारमै पुगे पनि मन्दिर पूरा देखिँदैन । कलकल बगेको खोलीको पानी, वरिपरि रोपिएका भोटे पिपल, अनि भोटे पिपलको बीच-बीचबाट लुकेर देखिने मुक्तिनाथ ।
मलाई के भयो कुन्नि, एक सय आठ धारा चाहिँ मन्दिरभन्दा मुनि नै हुनुपर्ने हो । आँखा त धारा पो खोज्छ । हेरेँ आँखाभरि र पाखाभरि राता धजाहरू टाँगिएको छ । मन्दिरको गजुरबाट चारैतिर परपरसम्म । ए बाबा हो ! घरबाट हिँड्दा शिव भनेर हिँडेको । शाश्वत धाममा वीरबहादुर सरले मुक्तिनाथ विष्णु हो भन्ने चर्चा गर्नुभएको थियो । जोमसोम पुग्दा नपुग्दै गुरु रिम्पोचे भन्ने सुनियो । धजापताका हेर्छु बौद्ध जस्तो । मन्दिरको आकार पशुपतिनाथ जस्तो । धारा, कुण्ड, बाहन हेर्दा द्वारकापुरी जस्तो । दर्शन त गर्नुपर्ने तर कुन परमेश्वर भनेर गरौं ? अलमलिएछु म ।
घरबाट हिँड्दा शिव भनेर हिँडेको । शाश्वतधाममा वीरबहादुर सरले मुक्तिनाथ विष्णु हो भन्ने चर्चा गर्नुभयो । जोमसोम पुग्दा गुरु रिम्पोचे भन्ने सुनियो । धजापताका हेर्छु बौद्ध जस्तो । मन्दिरको आकार पशुपतिनाथ जस्तो । दर्शन त गर्नुपर्ने तर कुन परमेश्वर भनेर गरौं ?
एउटा गेरु हापपेन्टमा सबै जाडो खन्याएर धारामा नुहाउन सुरिएँ । बाबा मुक्तिनाथलाई चढाउन एउटा असमी गलबन्दी र एउटा रुद्राक्षको माला लिएर गएको थिएँ । दायाँ हातमा चण्डीको पुस्तक र बायाँ हातमा रुद्राक्षको माला लिएर धारामा स्नान गरे । प्रिय ज्योति अधिकारी सरले भिडियो गरिदिनु भएछ । लामबद्ध भएर दर्शनार्थ पालो पर्खँदा कवच, कीलक र अर्गलास्तोत्र गरी चण्डीको पाठ गरेँ । सूर्य गुरुङले भिडियो गर्नुभएछ । जाडाले पाना नपल्टिँदा औलाहरू बारमबार मुख र पानाहरूमा गएछन् । भिडियो अपलोड गरेपछि प्रतिक्रिया जुठो हालेर पढेको भन्ने आयो तर मुखमात्र हो थुक लगाएको थिइन । भगवानको मन्दिर परिसरमा चण्डी पाठ गरेर सुनाउन पाउँदा मुक्ति मिलेको अनुभव भइरहेथ्यो । मेरोपछि भाइ खगेश्वर घिमिरे सर पनि वाचनलाई आन्दपूर्वक सुनिरहनुभएको थियो । उहाँ मेरो स्टाफ पनि, छिमेकी पनि । हिमालय मावि खाँदबारीका गुरु वर्ग मुक्तिनाथको दशन खातिर लामबद्ध थियौँ ।
ए हो बल्ल पालो आयो । भगवान मुक्तिनाथको मन्दिरभित्र पस्दा हजारौं शास्त्रहरूमा श्रवण गरिएका देवलोकको स्वणर््ीाम ढोकाबाट भित्र पसेजस्तो लाग्यो । चारैतिरबाट भित्रपस्नु अघि पर्खा र ढोकाहरू छिर्नुपर्ने । कस्तो शान्त रङ भित्ताहरूमा पनि । अलौकिक आनन्द आइरहृयो । पालो आउनासाथ प्रहरीले छिटो गर्नुहोस् भन्यो । पैसा, गलबन्दी, रुद्राक्ष भक्तिपूर्वक लिएर गएको तर चानचुने पैसा भगवानको पछ्यौरीमै पुग्ने गरी फालेछु । प्रहरीले कस्तो भन्नुभयो थाहा छ ? ‘किन फाल्नुभयो ? फाल्ने भए यहाँ मान्छे किन राख्नु ?’ मलाई त भगवानले नै गाली गर्नुभयो जस्तो लाग्यो । टीका लगाएँ । पूजारी बालकले अलिकति चामल दिए । बोकेर हिँडेछु । भगवानको प्रतीकात्मक स्वरूपको मुहारसम्म दर्शन गर्न पाइनछु । फेरि घुमेर आएँ तर प्रहरीले यतिबेला पूरै पालोबाट आउनुस् भने । मेलै चढाउन चाहेको कुरो उनकै हातबाट हस्तान्तरण गराएँ । यतिबेला पो पूजारीको मुहारमा हेरेँ । पुरुष र महिला छुट्याउन त सकिन तर उमेर चाहिँ लगभग १३ वर्षको हो ।
बाहिर स्थानीयको कुरो सुन्दा आनी अर्थात् बौद्ध भिक्षुणी पो रहिछन् । भगवानको प्रतिरूपमा दर्शन गरेँ । हिजो साँझ सपनामा दर्शन दिएका भगवान उनै हुन् । ओहो न आर्य न बुद्ध न शिव । नाक विष्णु जस्तो, कान हेर्दा बुद्ध जस्तो अनि पूरा मुहार हेर्दा भगवान शिव जस्तै । मैले बेजोड भक्तिका साथ नमस्ते गरेँ । प्रभुको स्वरूप अपम्पार । सबै चराचरको रक्षा गर भगवान् । अगाडि दुई कुण्ड रहेछन् । स्नान त अपरिहार्य थियो तर चिसोले छुने सम्भावना तापमान जस्तै घट्दै थियो । अँजुलीले उघाएर शिरतर्फ अभिसिञ्चन गरेँ । साथीहरू फोटो खिचिरहनु भएको थियो र मन्दिरको पूरा गजुर आउने गरी उभिएँ र फोटो खिचाएँ । जुत्ता लगाउनु प¥यो भनेको त चढाउन लगेको नरिवल त हातमै रहेछ । भित्र पसेर फुटाएँ । दुई भागमा बाँडियो र कभर फक्लकै छुट्टियो । नरिवलको पानी भगवानलाई चढाएर छाला बोकेर फर्किएँ । भेषराज सर र कविता मिस बाँकी रहनुभएको अरू जम्मै हिँडिसकेछन् । केही पर पद्यसम्भवको मूर्ति र मन्दिर परिसरमा फोटोसेसन ।
दर्शन गरेर ज्योति हेर्न गइयो । जमिनमुनि नियालेर हेर्दा दुई ज्योति बलेको देखियो । हिँडौँ भनेर तेर्सो लागेको । मित्र रमेश श्रेष्ठ रन्थनिँदै वाक्कवाक्क गरेको पाएँ । हाम्रा हेडसर अनुभवी नै हुनुहुन्छ । घामतिर जानुपर्छ भनेर उहाँलाई फर्काएर घाम लागेतिर ओरालो झारियो । अचम्म घामका पाइलाहरू तलबाट माथि सर्दै थिए । हामीले त जहिल्यै घामका पाइलाहरू हिमचुलीबाट तलतल झरेको देखेको । यहाँ तल बजारबाट पो सर्दै आउँदै थिए । हामी हिमालपारि थियौँ । मुक्तिनाथ बाबाको मन्दिरमाथिको चुचुरो पूर्व पथ्र्र्यो । फेरि पनि मन्दिर हिमालतिर फर्केको थियो तर हिमालयका शृंखला दक्षिणबाट उत्तरतिर फर्केका थिए । हामीले घाम भेट्यौँ तर परको थुम्कोमा एउटा मन्दिर थियो । कस्तो थियो, के थियो हेर्न पाइएन । भरत सर सुलोचना गुरुआमले भने देख्न पाउनुभयो ।
कागबेनीमा खाना खाएर अपर मुस्ताङतर्फ लागियो । रोमाञ्चकारी, तिलस्मी अनि जादुमय संसार हेरेको छैन भने काली गण्डकीको किनारै किनार कागबेनीबाट अपरमुस्ताङतिर लाग्नुपर्छ । रमणीय हुनलाई हराभरा वनबाटिका चाहिन्छ भन्ने हाम्रो अवधारणालाई पूर्णतः परिवर्तन गरिदियो मरुभूमिले । काली गण्डकीले बनाएको विस्तारित बालुवाको फाँट, त्यसको वारिपारि भित्ताहरूमा देखिएका माटोका दरबार र मन्दिरहरू । भित्तामा प्रकृतिले कुँदेर बनाएका आकृतिहरू कोही दन्त्यकथाका राजकुमारका दरबार जस्तै, कोही पुराणमा वर्णित देवताका महल जस्तै ।
कोही लोककथामा सुनिएका राक्षसहरूको आवास जस्ता । सप्तऋषिले तपस्या गरेका निर्मल कुटीहरू यिनै हुन कि जस्ता पनि लाग्ने । माटो र बालुवाको पहाड त कतै कान ठेडी मारेर हाक्पारे गाइरहे जस्तो । काहीँ रथ, घोडा, हात्ती, सारथी महारथी युद्ध गर्न जाँदै गरेको जस्तो । शिवको कैलाश, विष्णुको बैकुण्ठ, ब्रहृमको सत्यलोक, पाण्डवको हस्तिनापुर, कृष्णको द्वारका, बुद्धको लुम्बिनी सिङ्गासिङ्गै ठडिए झैँ । पुराण सुन्दा हिन्दूहरूका तेत्तीसकोटी देवता कहाँ बस्थे ? जस्तो लाग्थ्यो । अपर मुस्ताङमा त अझै तेत्तीसकोटी पाहुनालाई पनि पुग्ने दरबार रहेछ । रातो र पहेंलो रङको मध्यमार्गी रङमा उभिएका ती सुन्दर दैवी वास्तुकलाका अनुपम नमुनाहरू घामका प्रकाशमा सुनौला देखिन्थे । विश्वका अनेकन कलाकारहरू पब्लो पिकासो, लिओनार्दो दा भिन्चीहरू वर्षौं यहाँ बसेर बनाएजस्तै । अरनिको पनि चीनमा काम सकेर नेपाल फर्कंदा यतै बसेर दरबार बनाउँदा बनाउँदै हराएका हुन् कि जस्तो लाग्ने ।
खोपा, बुट्टा, टुँडाल, बरण्डा, झ्याल, ढोका, आँखीझ्याल, कौसी, भ्याल्सी कति हो कति राम्रो । फ्रान्सको लुभ्र दरबारका भित्तामा मोनालिसाको मुस्कान जस्तो रहेछ जम्मै मुस्ताङ त । इन्जिनियरहरूले ताजमहल बनाउँदा, कुतुव मिनार बनाउँदा, वार्किङघाम प्यालेस बनाउँदा, हृवाइट हाउस, मायादेवीको मन्दिर, रामजानकी विवाह मण्डप, शाश्वतधाम बनाउँदा यहाँकै वास्तुकलालाई सारेका हुन् । अनि महाराज युधिष्ठिर कङ्क बनेर विराट राजासँग जुवा खेलेका दरबार हुँदा हुन् । जो वाइडेन यतै बसेर अमेरिकाको अर्थ योजना बनाउँदै छन् कि ।
भुटानका राजा जिग्मे, चीनका रष्ट्रपति, अरबका सुल्तान सब छुट्टी मनाउन यहाँ आएर यी दरबारमा बस्छन् कि । धर्र्तीमुनि युरेनियम भएर होला धर्र्तीको अनुहार नै झलझल बलेको देखियो । सौन्दर्य जति सोहोरेर अपरमुस्ताङको भूमिमा थपक्क राखिदिएको रहेछ । कल्पनातीत सौन्दर्यले धपक्क बलेको र अभूतपूर्व कलाले छपक्क छोपिएको मुस्ताङ विश्वको आठौं आश्चर्य हो । मिश्रको पिरामिडलाई एउटा आश्चर्य मानेको छ तर अपरमुस्ताङमा मिश्रका भन्दा अनौठा दशौँहजार पिरामिडहरूको संग्रह छ । पिरामिडहरूको राजधानी हो अपर मुस्ताङ । कहिलेकाहीँ बादलले बायुपङ्खी घोडाको अकृति बनाए जस्तै । हात्ती, माछा, घोडा, गाई, मृग, सिंह, थार, घोरल जे सम्झ्यो त्यही देखिने । वरिपरि चुलिएका सेता हिमालयहरूलाई त पिरामिडहरूको राजा नै भन्नुप¥यो । माधव घिमिरेले ‘पापिनी आमा’ खण्डकाव्यमा । उहाँले भन्नुभएको छ‘ तप्ल्याक् र तुप्लुक पातको पानी माटोमा झर्दछ, कुनामा छिनो लिएर शिल्पी सिर्जना गर्दछ ।’ साँच्चै छिनो लिएर तीनै युगका नामुद कलाकारले अपर मुस्ताङको यो कुनामा आकृति कुँदेर युग बिताएछन् ।
बस गुड्दै गयो । मन २० वर्षको तरुनो भयो । पहाडबाट हिमालयकी छोरी निस्किइन् । त्यस्तै १६-१७ वर्षकी । अप्सरा नै रहिछन् । भित्ताको आँखी झ्यालबाट टाउको निकालेर झिमिकक आँखा झिम्काइन् । रुमाल हल्लाइन् । मैले मोटरको झ्यालबाट हेरिरहेँ । मोटर दगुरेसँगै उनी ती दरबारहरूको बार्दली बार्दली मतिर हेर्दै कुद्दै गरिन् । उनले टेकेका प्रत्येक पाइलाहरूमा कमल उम्रिँदै गयो । कति रमाइलो भयो भयो । केही बेरमा त उनको नायकसँग भेट भयो । उनीहरू नाच्न थाले । स्याउ र भोटे पिपलमा रूपान्तिरित भयो दृश्य । १२ः३० मा घुम्तीहरूमा रिँगाटा छुटाउँदै मोटर अपर मुस्ताङको अग्लो ठाउँमा पुग्यो । हेर्दा हामी हिँड्ने बाटोभन्दा हिमाल नै होचो भएझैँ लाग्यो । मोटर घचक्क रोकियो । ओर्लियौं । हिमालले छेकेर ‘लु उम्केर कहाँ जाँदा रहेछौ जाओ त’ भनेर अँगाले हाले । सौभाग्य एक टुक्रा बादल पनि आकाश वा धर्तीको कुनै छेउमा देखा पर्ने हिम्मत गरिरहेको थिएन । नीलो आकाश, सेतो हिमाल, सुनौला दरबारका शृंखलाअरू, चिल्लो कालो बाटो । १२ बजे मरुभूमिको कालो हावा चल्ने डाँडा । ए हो यी डाँडाहरूबाट मोटर कुदेको बेला त घरि हेलिकप्टरमा चढेजस्तो, घरि अन्तरिक्षमा उडिरहेजस्तो अनुभव हुने । अग्लो, शून्य, बसभित्रका यात्रीबाहेक निर्जन । हावाले उडाइदेला भन्ने एउटै कुराको पिर ।
कागबेनीमा खाना खाएर अपर मुस्ताङतर्फ लागियो । रोमाञ्चकारी, तिलस्मी अनि जादुमय संसार हेरेको छैन भने काली गण्डकीको किनारै किनार कागबेनीबाट अपरमुस्ताङतिर लाग्नुपर्छ । रमणीय हुनलाई हराभरा वनबाटिका चाहिन्छ भन्ने हाम्रो अवधारणालाई पूर्णतः परिवर्तन गरिदियो मरुभूमिले ।
मैले फोटो खिच्दा हावाले उडाएर साथीहरूबाट टाढा लैजाला भन्ने पिरले बाटो किनारमा गाडिएको पिल्लरमा समातेँ । नजिकै नारायण सर उभिनुभयो । उडायो टोपी झण्डैले । वरिपरि ठाउँठाउँ रातो फुल्ने पुचुक्क परेका झार पनि देखिन्थे । माधव घिमिरेको ‘वैशाख’ कविताको याद आयो ‘आए पाखा वन चहुरमा फूल लाखौँ पलाई । को भन्देला सकल यिनको नाम मिठो मलाई ?’ नजिकै हुनुभएको डोलनाथ नेपाल सरले सुन्नुभएछ । उहाँले–‘पुच्का भन्नुभयो । मनोज श्रेष्ठ सरले कण्ठ पार्न भन्नुभयो ‘ए ! पुच्का !’
गाडीबाट लोमान्थाङतर्फ जाँदा केही बेरको यात्रापछि थोराङ पास आइपुग्यो । अलि पर केही घरहरू देखिए । अलि तल एउटा खोला । मास्तिर मैदानमा गाडीले पाँच मिनेट भन्यो । मलाई दश मिनेटवाला समस्या नै आइलाग्यो । यसो तलतिर हेरेँ । एउटा कुलामा सल्ल पानी बगेको रहेछ । कुलामुनि भोटे पिपलका रूखहरू । यतैतिर पो बिसर्जन गर्नुप¥यो भनेर कुलामा फुत्त ओर्लिएँ । झण्डै ३० वर्ष पुरानो अभ्यासबाट आराम प्राप्त गरेँ । लागिरहृयो कि देख्नेलाई पाँच सय, फ्याँक्नेलाई हजार भन्ने सूचना पो छ कि कतै ।
सौच गरेपछि पानी त चाहियो । बगिरहेकै थियो कुलामा पानी । कुलाको पानी समाऊँ भनेर पसर डुबाएको पानीले पो हात समातिदियो । हातका जोर्नीहरू पानीले समाउँदै गर्दा फुत्त हात झिकेँ । अलि तीव्र गतिमा प्रक्रिया पूरा भयो । अब त उक्लनु पर्यो भनेर समाउने र टेक्ने ठाउँ खोज्छु । कुलाको भित्तामा ठाउँ छैन त । गाडीले साइरन हान्यो । हतार हतार एउटा ढुंगामा समातेँ र एउटा ढुंगामा टेकेँ । उक्लन खोज्छु, अघि पानी समातेको हातले त ढुंगो समाउँदैन । बल्ल उक्लिएर मैदानमा निस्केको । हावाले जता जानु उतै मुन्ट्याउनु झैँ बसतिरै ठेलेर ल्याइदियो । भेषराज न्यौपाने सरको ज्याकेट पनि हावाले बेस्सरी हल्लाइरहेको थियो । क्रमशः
(बुढाथोकी मकालु साहित्य समाजका अध्यक्ष हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच