छात्रालाई भेन्डिङ ड्रोप मेसिन

हिमालय टाइम्स
Read Time = 3 mins

-शुभाकर विश्वकर्मा
नेपालगन्ज । संघर्ष रोज ग्रुपले बागेश्वरी बहुमुखी क्याम्पसलाई सेनेटरी प्याडसहितको भेन्डिङ ड्रोप मेसिन सहयोग गरेको छ । क्याम्पसमा अध्ययनरत छात्राहरुलाई मध्यनजर गर्दै ग्रुपले भेन्डिङ ड्रोप मेसिन उपलब्ध गराएको हो ।

क्याम्पस प्रशासन र संघर्ष रोज ग्रुपको साझेदारीमा मेसिन राखिएको ग्रुपकी अध्यक्ष तुल्सी सुनारले बताउनुभयो । उहाँका अनुसार पाँच सय सेनेटरी प्याडसहित दुईवटा मेसिन उपलब्ध गराइएको हो । ग्रुपको तर्फबाट निःशुल्करुपमा एउटा मेसिन सहयोग गरिएको उनले बताइन् । एउटा मेसिन र पाँच सयवटा सेनेटरी प्याड भने क्याम्पस प्रशासनले खरिद गरेको हो । उहाँले भन्नुभयो, ‘यो सेनेटरी प्याड कोहलपुरमै उत्पादन हुन्छ । महिनावारी भएको बेला प्रयोग गर्दा सुरक्षित र भरपर्दो छ । यो प्रयोग गर्दा कुनै पनि किसिमको समस्या हुँदैन । महिनावारी भएको बेला यो निकै किफायती छ ।’

मेसिन वितरण कार्यक्रममा उहाँले छात्राहरुलाई सुरक्षित प्याड मात्रै प्रयोग गर्न सुझावसमेत दिनुभएको थियो । बागेश्वरी बहुमुखी क्याम्पसमा हाल ७० प्रतिशतभन्दा बढी छात्रा अध्ययनरत छन् । अहिलेसम्म छात्रामैत्री शौचालय थिएन् । क्याम्पसमा रहेका विभिन्न विद्यार्थी संगठनहरुले क्याम्पसमा छात्राहरुलाई सेनेटरी प्याडसहित छात्रामैत्री शौचालय हुनुपर्ने माग गर्दै आएका थिए । केही दिन अघि पनि अखिल (क्रान्तिकारी )बागेश्वरी बहुमुखी क्याम्पस एकाइ कमिटीले बागेश्वरी क्याम्पस प्रशासनसँग सेनेटरी प्याड क्याम्पसमै उपलब्ध हुनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

अखिल (क्रान्तिकारी ) बागेश्वरी बहुमुखी क्याम्पस एकाइ कमिटीका अध्यक्ष दिपेन्द्र शाहीले आफूहरुले राखेको माग पूरा भएको बताउनुभयो । उहाँका अनुसार आफूहरुको मागलाई गम्भीररुपमा लिएर माग सम्बोधन गरिदिएको भन्दै क्याम्पस प्रशासन र मेसिन सहयोग गर्ने संघर्ष रोज गु्रपलाई धन्यवाद व्यक्त गर्नुभयो । यस्तै बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमालले छात्राहरुको आवश्यकतालाई मध्यनजर गरेर मेसिन उपलब्ध गराइएको बताउनुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?