कलंकी-महाराजगञ्ज सडक बिस्तारको काम चाँडै शुरु हुन्छः मन्त्री श्रेष्ठ

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी-महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गर्नुभएको छ ।

बिहीवार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदुत छन सङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडकखण्डको निरीक्षण एवं अवलोकन गरेको हो । अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ बिस्तार अब चाँडै शुरु हुने सहमति भएकाले बताउनु भयो ।

उहाँले कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको र कलंकीदेखि महाराजगञ्जसम्मको सडकपनि अब चाँडै काम शुरु गर्ने सहमति चीन सरकारसँग भएको बताउनु भयो । मन्त्री श्रेष्ठले चिनियाँ राजदुत छन सङसँग मन्त्रालयमा छलफल गरी छिटो भन्दा छिटो काम अघि बढाउने सहमति भएको बताउनु भयो । उहाँले सो सडकखण्डमा भएका समस्याहरुको समाधान भइसकेको र अब निर्वाध रुपमा सडक बिस्तार गर्ने काम शुरु हुने प्रतिवद्धता जनाउनु भयो ।

बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी गरेर तदारुकताका साथ काम शुरु गर्ने तयारी रहेको उहाँले बताउनु भयो । स्वयम्भूनाथका संरचनाहरु भने नभत्काइकन त्यहाँको सडक पडजाइन परिवर्तन गर्ने सहमति भएको उहाँकाे भनाइ छ । उहाँले चीन सरकासँग कलंकीदेखि महाराजगञ्जसम्मको मात्रै सहमति भएपनि महाराजगञ्जदेखि धोबीखोलासम्मको सडक बिस्तार गरिदिन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दोस्रो खण्ड चक्रपथ बिस्तार गर्ने काम सम्पन्न गर्नुछ । कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको छ । यो काम अघि बढाउन पनि चीन सरकारले सहमति दिइसकेको छ । त्यसै अनुसार काम अघि बढाउन हामीले पहल गरिरहेका छौँ । यो बीचमा धेरै समयसम्म यो काम हुन सकेन । हाम्रो बीचमा मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदुतसँग छलफल गरी छिटो भन्दा छिटो काम अघि बढाउने सहमति भएको छ । समस्याको समाधान निकालीसकेको छाैँ । बिजुलीका पोल र मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी भएको छ र छिटै हामी काम शुरु गर्ने सहमति भएको छ । सरकारले बाँकी समस्या तदारुकताका साथ हल गर्ने कुरा भएको छ । बिजुलीका पोल, स्वयम्भूअघिको समस्याहरुका कुराहरु छन्, त्यसमा सांस्कृतिक सम्पदा भत्काउनु हुँदैन भनेर त्यहाँको डिजाइन नै परिवर्तन गर्ने कुरा भएको छ । सकेसम्म महाराजगञ्जदेखि धोबीखोलासम्म काम गर्नुहोस् भन्ने आग्रह गरेका छौँ । तर सहमति भने त्यो होइन ।

उपप्रधानमन्त्री श्रेष्ठले कलंकी-कोटेश्वर सडक खण्ड बनेको लामो समयसम्म पनि कलंकी-महाराजगञ्ज सडक निर्माण नभएको भएपनि अब भने तत्काल काम शुरु गर्ने तयारी रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?