राष्ट्रपतिका दुवै उम्मेदवार पाका र अनुभवी

नारायण भण्डारी
Read Time = 6 mins

काठमाडौं । राष्ट्रपतिको निर्वाचनलाई लिएर चिरा परेको सात दलीय गठबन्धनको मुख्य सहयोगी नेकपा एमाले र शुक्रबार मात्रै बुनिएको आठ दलीय गठबन्धनबाट सार्वजनिक गरिएका राष्ट्रपतिका उम्मेदवार दुवै संसद् हाँकेका पाका र अनुभवी मानिनुहुन्छ । कांग्रेस र एमालेले राष्ट्रपति पदका लागि दुई पूर्व-सभामुखलाई मैदानमा उतारेका हुन् । कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत उम्मेदवार प्रस्ताव गरेको छ भने एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई । राष्ट्रपति निर्वाचनमा कांग्रेस नेता पौडेललाई आठ दलको साथ रहने देखिएको छ भने एमाले नेता नेम्वाङलाई राप्रपा र रास्वपाले मत दिन सक्छन् । रास्वपा सरकारबाट बाहिरिइसकेको छ भने राप्रपाले शनिबार नै सरकार छाड्ने र समर्थन फिर्ता लिने निर्णय गरेको छ । दुवै गठबन्धनबाट सार्वजनिक गरिएका उम्मेदवारले शनिबार नै नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा राखिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन गर्नुभएको छ । २५ फागुनमा राष्ट्रपतिको निर्वाचन तोकिएको छ ।

यस्तो छ पौडेलको राजनीतिक इतिहास
२००१ असोज २९ गते तनहुँमा जन्मिनुभएका पौडेल ६ दशकदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । २०१७ सालमा राजा महेन्द्रले राजनीतिक दलमाथि प्रतिबन्ध लगाउँदै सत्ता हातमा लिएपछि उहाँ पार्टी राजनीतिमा सक्रिय हुनुभयो । पौडेलले २०२७ सालमा नेविसंघको संस्थापक सदस्य बनेर राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । पञ्चायत कालमा पटक–पटक गरी १४ वर्ष जेलजीवन बिताउनुभएको छ । २०३३ सालमा बिपी कोइराला निर्वासनबाट फर्केपछि पौडेलले कोइरालाको नजिक रहेर काम गर्ने मौका पाउनुभएको थियो । उहाँले आफ्नो राजनीतिक आदर्श कोइराला रहेको बताउँदै आउनुभएको छ ।

उहाँ २०४८ सालदेखि संसदीय राजनीतिमा संलग्न हुनुहुन्छ । २०५१ पुस ३ गतेदेखि २०५५ चैत ९ गतेसम्म प्रतिनिधिसभाको सभामुख भएर काम गर्नुभएको थियो । उहाँ पार्टीभित्र कम अवसर पाएको व्यक्तिको रूपमा चिनिनुहुन्छ । नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा शास्त्रीसम्मको अध्ययन गर्नुभएका पौडेल २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९ सालको चुनावमा तनहुँबाट सांसद निर्वाचत हुनुभएको छ । २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा भने नेकपा (एमाले)का उम्मेदवार किसान श्रेष्ठसँग पराजित हुनुभएको थियो । २०५७ सालमा उपप्रधानमन्त्रीसहित गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाउनुभएका पौडेल २०६३ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री हुनुभएको थियो । २०६२ सालमा पार्टीको महामन्त्री बन्नुभएका उहाँ २०६५ सालमा पार्टी संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो । त्यतिबेला उहाँ प्रधानमन्त्रीको उम्मेदवार बने पनि सफलता प्राप्त गर्न सक्नुभएन । पौडेललाई राजनीतिमा वैचारिक र निष्ठावान् नेताको रूपमा चिनिन्छ ।

यस्तो छ नेम्वाङको राजनीतिक पृष्ठभूमि
सुवास नेम्वाङ २००९ साल फागुन २८ गते इलामको सुन्तलाबारीमा जन्मिनुभएका नेता सुवासचन्द्र नेम्वाङ विद्यार्थी छँदै राजनीतिमा सक्रिय हुनुभएको थियो । २०२९ सालमा अनेरास्ववियूको तर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियू सभापति बन्नुभएका नेम्वाङ २०३३ सालमा पार्टी राजनीतिमा संलग्न हुनुभएको थियो । त्यतिबेला उहाँ थुनामा पर्नुभयो । थुनामा रहेकै बेला कोर्डिनेसन केन्द्रमा आबद्ध हुनुभएको थियो । २०५२ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत बन्नुभएका नेम्वाङले संसद्को सार्वजनिक लेखा समितिको सभापतिको भूमिका निर्वाह गरिसक्नु भएको छ । राजनीतिमा सक्रिय रहँदारहँदै उहाँ प्राध्यापन पनि गर्दै आउनुभएको थियो । २०३५ देखि २०५२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गर्नुभएको थियो । उहाँका संविधान र कानुनसम्बन्धी विभिन्न पुस्तक तथा लेख रचना प्रकाशित छन् । २०४८ सालदेखि संसदीय राजनीतिमा उत्रिनुभएका नेम्वाङले २०६५ साउन १२ देखि २०६९ जेठ १४ सम्म पहिलो कार्यकाल र २०७० फागुन ६ देखि २०७२ असोज २७ सम्म दोस्रो कार्यकाल सभामुख भएर भूमिका निर्वाह गर्नुभएको थियो । हाल काठमाडौंको बालुवाटारमा बस्दै आउनुभएका नेम्वाङलाई एमालेभित्र शालीन नेता र कानुनको विज्ञका रूपमा हेरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?