निर्माण सुरु भएको दशक वित्दापनि पुल नबनेपछि स्थानीबासी आन्दोलनमा

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 3 mins

सिन्धुली । निर्माण सुरु भएको दशक वित्दासमेत पुल अलपत्रमा अवस्थामा भएपछि मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-६ का स्थानीबासी आन्दोलनमा उत्त्रिएका छन् । दबाबस्वरुप शुक्रबारदेखि दिनहुँ यातायात अवरुद्ध गर्दै आएका हुन् ।

राजमार्गको सोखुखोलामा निर्माणाधीन पक्की पुल निर्माण सुरु भएको १० बर्ष वितिसक्दा समेत सम्पन्न नभई अलपत्र अवस्थामा छाडेकाले स्थानीयबासी दबाबसहितको आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीय रामप्रसाद भण्डारीले बताउनुभयो ।

उहाँकाअनुसार शुक्रबार तीनघण्टा चक्काजाम गरेका स्थानीयले शनिबार बढाएर छ घण्टा पुर्‍याएका छन् । आज बिहान ८ बजेदेखि दिउँसो एक बजेसम्म चक्काजाम गर्ने र समस्याको समाधान नहुन्जेलसम्म चर्को आन्दोलनका कार्यक्रमहरु दिनहूँ गरिरहने उहाँले सुनाउनुभयो ।

फिक्कल गाउँपालिका-६ का वडाअध्यक्ष कुलेन्द्र राना मगरकाअनुसार स्थानीयबासीको आन्दोलनका कारण मध्यपहाडी राजमार्ग भएर ओखलढुङ्गा, सोलुखुम्बु,भोजपुर, उदयपुर र सिन्धुलीबाट राजधानी आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई समस्या पर्ने गरेको छ । कतिपय यात्रु बाटैमा अलपत्र पर्ने गरेका छन् ।

‘पुल निर्माण ठेक्का सुरुमा पप्पु कन्स्ट्रक्सन पाएको थियो । पप्पुले अलपत्र पारेर छाडेपछि ठेक्का तोडेर लोहनी-आत्रेय जेभीलाई दिइएको थियो । जेभीले चार वर्ष बित्दासमेत सम्पन्न नगरेपछि स्थानीयहरु चक्काजाम गरेर आन्दोलनमा उत्रिएका हुन्,’ वडाअध्यक्ष राना मगरले भन्नुभयो, “हामीले हाम्रो ठाउँबाट तत्काल निर्माण कार्यको थालनी गरी सम्पन्न गर्नका लागि दबाब दिने र काम गराउन पहल गरिरहेका छौँ । तर, निर्माण कम्पनी अटेर भएको छ ।’

गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले पुल निर्माण सम्पन्न गर्नका लागि सम्बन्धित निकायमा बारम्बार ताकेता गर्दा पनि बेवास्ता भएको बताउनुभयो । ‘पुलको पिल्लर ढलान भएको स्ल्याभसमेत पूरा भएको छैन,’ उहाँले भन्नुभयो ।

सोखुखोलामा पुल नहुँदा वर्षामा आउने बाढीले यातायात अवरुद्ध हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?