संविधानको पालना र संरक्षण मेरो प्रमुख दायित्व हुनेछ : राष्ट्रपति पौडेल

‘संक्रमणकालीन न्याय व्यवस्थापनमा राष्ट्रिय सहमति आवश्यक’

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय आफ्नो अबको प्रमुख दायित्व र कर्तव्य भएको बताउनुभएको छ । सांसदहरूका लागि शीतलनिवासमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति पनि आफू सदैव सचेत रहेको बताउनुभयो । उहाँले संविधानप्रदत्त मर्यादामा बसेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो, ‘संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु ।’

उहाँले राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रहन कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने बताउनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने उहाँको भनाइ छ ।
आवधिक निर्वाचन लोकतन्त्रको प्राणवायु भएको उल्लेख गर्दै उहाँले नेपालमा स्थानीय तह, प्रतिनिधिसभा, प्रदेशसभादेखि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा सबैमा बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो । ‘यस महत्वपूर्ण घडीमा मुलुकलाई यहाँसम्म ल्याउन अहम् भूमिका खेल्ने शहीद तथा अग्रजप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । संविधानको पालना र संरक्षण गर्ने विषय अबको प्रमुख दायित्व र कर्तव्य हुनेछ भन्ने प्रष्ट पार्न चाहन्छु । गणतान्त्रिक नेपालको राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति म सदैव सचेत छु र भविष्यमा पनि रहनेछु,’ उहाँले भन्नुभयो ।

पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय सहमति र एकता आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । संक्रमणकालीन न्यायको व्यवस्थापनका साथै आर्थिक क्षेत्रमा देखिएको असर, राजनीतिक उपलब्धिको रक्षा र जलवायु परिवर्तनले देखा पर्न थालेका असरहरूको व्यवस्थापनमा पनि राष्ट्रिय सहमति आवश्यक रहेको उहाँको भनाइ थियो । मुलुकमा अहिले चुनौती रहेको बताउँदै उहाँले राजनीतिक उपलब्धिलाई सदुपयोग गरेर तीव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसकेमा अन्ततः प्राप्त उपलब्धिमाथि नै प्रहार हुन सक्नेतर्फ गम्भीर हुनपर्ने बताउनुभयो । पौडेलले लोकतान्त्रिक संस्थाहरू बलिया र कानुनसम्मत भएनन् भने त्यस्ता संस्थाप्रति नागरिकका विश्वास धर्मराउने र व्यवस्थाप्रति वितृष्णा जाग्न बताउँदै यसतर्फ पनि सजग हुनेपर्ने धारणा राख्नुभयो ।

राष्ट्रपति पौडेलद्वारा कारगेटबिना नै कुमारी घरको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेल कारगेटबिना नै काठमाडौंको वसन्तपुरस्थित कुमारी घर पुग्नुभएको छ । राष्ट्रपति बनेपछि पौडेल शनिबार अपराह्न पहिलोपटक कुमारी घर दर्शन गर्न पुग्नुभएको हो । पौडेलको सवारीको क्रममा सडक खाली गराइएको थिएन । यसअघिका राष्ट्रपतिको सवारीमा सडक खाली गराइए पनि पौडेल भने सडक खाली नगराईकन कुमारी घर दर्शन गर्न पुग्नुभएको हो । यस क्रममा सर्वसाधारणको सवारीलाई पनि सुरक्षाकर्मीहरूले रोकेका थिएनन् । राष्ट्रपतिको कारगेटसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती बेहोर्नु परिरहेको भन्दै यसअघि उच्च पदस्थ अधिकारीहरूको आलोचना पनि हुने गरेको थियो । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पनि पशुपतिनाथ दर्शन गर्न जाँदा सडक जाम भई उहाँको आलोचना गरिएको थियो । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा वीर अस्पताल अगाडि सडकमा हिँडेको भन्दै प्रहरीले एक चिकित्सकलाई कुटपिट गर्दा व्यापक विरोध र प्रदर्शन पनि भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?