प्रधानमन्त्रीलाई तीन महिनामा दोस्रोपटक विश्वासको मत

पक्षमा १७२ र विपक्षमा ८९ मत

अनिल क्षेत्री
Read Time = 19 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत पाउनुभएको छ । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री दाहाललाई १७२ सांसदले विश्वासको मत दिएका हुन् । सोमबारको बैठकमा उपस्थित २६२ सांसदमध्ये दाहाललाई विश्वासको मत दिन्न भन्नेमा ८९ सांसदले मत दिए । चुनावी गठबन्धन त्यागेर एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बन्नुभएका प्रचण्डले तीन महिनाको बीचमा प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिनुभएको हो । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डलाई यसपटक कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एस, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, तीनजना स्वतन्त्र सांसद र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका हुन् । यसपटक एमाले र राप्रपाले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गरे भने एक सांसद रहेको नेपाल मजदुर किसान पार्टी तटस्थ रह्यो ।

यसअघि, पुस ११ मा शपथ लिनुभएका दाहालले पुस २६ मा विश्वासको मत लिनुभएको थियो । त्यतिबेला सत्तामा संसद्को दोस्रो ठूलो दल एमाले, चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी, पाँचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टीलगायत थिए । सत्तारूढ दलहरूको संख्या पाँच थियो भने विश्वासको मत नदिने सांसदहरूको संख्या भने दुई मात्रै थियो । २७५ सदस्यीय संसद्मा नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्रै दाहालको विपक्षमा मत जाहेर गर्नुभएको थियो । त्यतिबेला प्रमुख प्रतिपक्षमा बस्ने घोषणा गरेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि भोट हालेको थियो । प्रचण्डले विश्वासको मत दिएर कांग्रेसले झैं प्रतिपक्षमा बस्ने राजनीतिक दलहरूमा जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत थिए ।

संसद्मा दोस्रोपटक विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले अब आरामसँग सरकार चल्ने प्रतिक्रिया दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिन मंगलबारदेखि नै छलफल थाल्ने जानकारी दिँदै भन्नुभयो, ‘आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जो जो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर दुई÷चार दिन भित्रमै सबै टुंग्याउने र काम गर्ने विचार छ ।’ शतप्रतिशत मत आउँछ भन्नुभएको थियो, आएन नि ? भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘जति भयो, त्यो पर्याप्त छ । अब आरामसँग सरकार चल्छ । विकास निर्माणको कामले गति लिन्छ ।’

‘एजेण्डा मिलेका कारण यो गठबन्धन टिक्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धनमा दलहरू एजेण्डाका हिसाबले एकैस्थानमा रहेका कारण चाँडै विश्वासको मत लिनुपर्ने अवस्था नआउने दाबी गर्नुभएको छ । विश्वासको मतमाथिको छलफलमा उठेको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र, गणतन्त्र र शान्तिका लागि त्यस्तो नहुने जिकिर गर्नुभएको हो । एजेण्डा नमिलेका कारण एमालेसँगको सहकार्य टुटाउनुपरेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वैशाखसम्म सरकारबाट हटिसक्ने दाबी गर्नुभएको छ । पुरानो कुरा नल्याउने विषयमा बाहिर गएपछि एमालेसँग टिक्दैन कि भन्ने लागेको थियो । तर, अहिलेको गठबन्धन टिक्ने प्रचुर सम्भावना छ किनभने एजेण्डाका हिसाबले एकैठाउँमा छौँ । यो चाहिँ टिक्छ भन्ने लाग्छ । त्यतिबेला उहाँले तपाईं वैशाखभन्दा उता जानुहुन्न भन्नुभएको छ । उहाँले भनेका वैशाखमा राष्ट्रपतिको बाँयापट्टि लबीमा तपाईं र म एकैठाउँमा हुन्छौँ भन्नुभएको छ । उहाँको भनाइलाई पुष्टि गर्ने कि नगर्ने हामीहरू सबैको हातमा छ ।’

एक अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्को एकपटक आफूलाई प्रधानमन्त्री बनाउन बाँकी रहेको उल्लेख गर्दै भन्नुभयो, ‘ओलीजीलाई मैले आभार व्यक्त गरेको छु तपाईंले मलाई प्रधानमन्त्री बनाउनुभयो भनेर । मैले तपाईंलाई दुईपटक प्रधानमन्त्री बनाएको थिएँ । तपाईंले मलाई ब्याज तिर्नुपर्ने थियो । ऋण तिर्नुपर्ने थियो । अझै ब्याज बाँकी छ । एउटा बाँकी छ हिसाब राख्नुहोला ।’

‘राष्ट्रिय सहमतिको प्रस्ताव गर्दा एमाले र राप्रपाले समर्थन फिर्ता लिए’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले राष्ट्रिय सहमतिको प्रस्ताव गर्दा एमाले र राप्रपा सरकारबाट बाहिरिएको र समर्थन फिर्ता लिएको दाबी गर्नुभएको छ । सोमबार संसद्मा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्दै प्रधानमन्त्री प्रचण्डले एमाले र राप्रपाले त्यस विषयमा जवाफ दिनुपर्ने जिकिर गर्दै भन्नुभयो, ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनका लागिका मेरो प्रस्तावपछि अचानक राप्रपा र एमालेमा मन्त्रीहरूले राजीनामा दिनुभयो र सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिनुभयो । सरकार गठनको दुई महिना नपुग्दै विश्वासको मत फिर्ता लिने प्रतिरक्षामा निर्णय गर्ने दल र माननीयहरूले नै गर्नुहोला । यो कति राजनीतिक भयो त्यसको जवाफ पनि उहाँहरूले दिनुहोला ।’ प्रधानमन्त्री प्रचण्डले सरकारबाहिर रहेका दलहरूलाई समेत जोडेर राष्ट्रिय सहमतिको प्रयास गरेको दाबी गर्दै भन्नुभयो, ‘राष्ट्रसामु राजनीतिक स्थायित्व जनाएका दुई दल नै अस्थिरतातर्फ अग्रसर हुनु चिन्ताको विषय हो ।’ राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गरौँ भन्दा एमाले अध्यक्ष ओलीले नमानेको उहाँको टिप्पणी छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रका संकट र सम्भावना दुवैले राष्ट्रिय सहमतिको माग गरेको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताउनुभएको छ ।

‘संक्रमणकालीन न्याय कुनै दल विशेषको मुद्दा होइन’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय कुनै दल विशेषको सरोकारको विषय मात्र नभएको बताउनुभएको छ । यो देशले समाधान गर्नुपर्ने राष्ट्रिय मुद्दा भएको जिकिर गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यो कुनै दल विशेषको मुद्दा सरोकारको मुद्दा होइन । देशले समाधान गर्ने राष्ट्रिय मुद्दा हो । यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।’ प्रधानमन्त्री प्रचण्डले विविध कारणले गर्दा अहिलेसम्म शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने काम नभएको भन्दै अब यसलाई निष्कर्षमा पुर्‍याउने दाबी गर्नुभयो ।

गठबन्धन स्वार्थप्रेरित, क्षणिक र अस्थिरता ल्याउने हुनुहुँदैन : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरूबीचको गठबन्धनले मुलुकमा स्थायित्व ल्याउनुपर्ने बताउनुभएको छ । संविधानको वर्तमान निर्वाचन प्रणालीले प्रतिनिधिसभामा एउटा मात्रै राजनीतिक दलको बहुमत आउने अवस्था नरहेकाले गठबन्धनको अभ्यास अति आवश्यक भएको जिकिर गर्दै सभापति देउवाले भन्नुभयो, ‘राजनीतिक गठबन्धन आत्मकेन्द्रित, स्वार्थ प्रेरित, क्षणिक र अस्थिरता ल्याउने हुनुहुँदैन । देश र जनताको पक्षमा संविधानको रक्षा गर्ने, देशमा स्थिरता, अमनचयन, शान्ति र विकासका लागि गठबन्धन हुन आवश्यक छ । मिश्रित निर्वाचन प्रणालीमा एक मात्र दलले प्रतिनिधिसभामा बहुमत ल्याउन सक्ने अवस्था छैन । त्यसैले हामीले उठाएको गठबन्धनको संस्कारमा अभ्यस्त हुँदै जानुको विकल्प छैन ।’ शान्ति प्रक्रियाका बाँकी कामहरूलाई तार्किक निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिँदै सभापति देउवाले संक्रमणकालीन न्यायको विषयलाई सम्बोधन गर्न अगाडि बढेको कानुन संशोधनको प्रक्रियालाई संघीय संसद्मा रहेका सबैले आपसी सहमतिका साथ निष्कर्षमा पु¥याउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीलाई एमालेको प्रश्न : ‘पुस १० मा हामीसँग किन आएको ?’
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १० मा बनेको गठबन्धनबाट पुरानै गठबन्धनमा फर्किनुको कारण दिनुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले पेस गरेको विश्वासको मतमाथिको प्रस्तावमा भएको छलफलमा बोल्दै उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘प्रचण्डको नेतृत्वमा सरकार बन्दा कुन पृष्ठभूमिबाट अघि बढेका थियौँ त्यो पृष्ठभूमिलाई हेक्का राख्न जरुरी छ । तपाईंलाई पुरानै गठबन्धनमा फर्किनु थियो भने हामीसँग सहयात्रा गर्न किन सहमत हुनुभयो ? तपाईंले अहिले जवाफ नदिनुहोला तर इतिहासले यो प्रश्नको जवाफ खोज्नेछ । एमालेले किन सरकार छाड्यो भन्ने दुनियाँलाई थाहा छ । सबैभन्दा धेरै प्रधानमन्त्रीलाई नै थाहा छ ।’ उपाध्यक्ष पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको टिप्पणी भन्नुभयो, ‘२६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्ड दुई महिना १० दिन नपुग्दै अर्कोपटक विश्वासको मत लिन उपस्थित हुनुभयो । म सोध्न चाहन्छु, अर्कोचोटि विश्वासको मत लिने कार्यसूची कहिले छ ?’

उपाध्यक्ष पौडेलले नेकपा एमालेबाहेक कसरी राष्ट्रिय सहमति बन्छ ? भन्ने प्रश्न गर्दै भन्नुभयो, ‘राष्ट्रिय सहमतिको लागि सहमति उन्मुख गतिविधि गर्नुपर्छ । सहयात्रीलाई घोक्र्याएर निकाल्ने, अनि सहमतिको कुरा गर्ने मेल खाने विषय होइन । एमाले विनाको सहमति कस्तो राष्ट्रिय सहमति हो ? एमालेबिना राष्ट्रिय सहमति सम्भव छ कि छैन ?’

एमालेलाई माओवादीको जवाफ : ‘कठघरामा उभिएर जवाफ दिन तयार छौँ’
सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिका लागि लिएको कदमबारे इतिहासको कठघरामा उभिएर जवाफ दिन तयार रहेको बताएको छ । पुस १० गतेको सहमतिविपरीत कांग्रेससँग सहकार्य गर्नुको कारणबारे एमालेले सोधेको प्रश्नको जवाफमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले राष्ट्रिय सहमतिको कुरा गर्दा एमालेले सरकार छाडेको आरोप लगाउँदै भन्नुभयो, ‘पहिलो दललाई सहमतिमा लिएर जानुपर्ने अहिलेको जनमत हो । त्यही कुरा प्रधानमन्त्रीले गर्नुभएको हो । राष्ट्रिय सहमतिका लागि लिएको कदमबारे इतिहासको कठघरामा उभिएर जवाफ दिन तयार छौँ ।’ सांसद पौडेलले एमाले राष्ट्रिय सहमतिबाट किन भागेको ? भन्दै प्रश्नसमेत गर्नुभयो ।

प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्दैन : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वासको मत लिने अवस्था नआउने दाबी गर्नुभएको छ । नेकपा एमाले र राप्रपाका नेताहरूले प्रधानमन्त्रीले दुई/दुई महिनामा विश्वासको मत लिने अवस्था त आउने होइन ? भनेर गरेको प्रश्नप्रति लक्षित गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भन्नुभयो, ‘त्यो अवस्था आउँदैन भन्ने कुराको मलाई विश्वास छ । अब यो गठबन्धन आउने पाँच वर्षसम्म टिक्छ, राजनीतिक स्थायित्व दिन्छ, देशलाई विकासको बाटोमा अगाडि बढाएर लिएर जान्छ, राष्ट्रको सबै चुनौतीहरूको सामना गर्न यो गठबन्धन एकताबद्ध भएर अगाडि बढ्छ ।’ प्रचण्ड नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बने पनि गठबन्धन फेरेर अहिलेको अवस्था आउँछ भन्ने आफूलाई पहिल्यै लागेको अध्यक्ष नेपालको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले धोका दिनुभयो : लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री दाहालले संसद्मा दोस्रोपटक विश्वासको मत लिन राखेको प्रस्तावको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘तपाईंले बाटो फेरेपछि रात कटाउन पनि गाह्रो भयो । हामीले निश्चित समझदारी गरेर सरकारमा गएका थियौँ । कुनै विषयमा सबैको सहमति चाहिन्छ । तर, सबैलाई सबै पद बाँडेर जाने यो व्यवस्थाले परिकल्पना गरेको चिज होइन । बाटो त तपाईंले फेर्नुभयो । त्यसैले हामीले छोड्नुपर्ने अवस्था आयो । धोका हामीले दिएको होइन तपाईंले दिएको हो ।’

नागरिकको मुद्दामा इमानदारी गुमाएको दिन प्रतिपक्षमा उभिन्छौँ : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता डोलप्रसाद अर्यालले न्यूनतम साझा कार्यक्रममा समावेश भएका आम नागरिकका मुद्दा सम्बोधन गर्ने विश्वासका साथ सरकारलाई विश्वासको मत दिने निर्णय गरेको बताउनुभयो । अर्यालले भन्नुभयो, ‘सरकारलाई हामीले दिएको समर्थन सरकारले जे गरे पनि ठिक हो भन्ने कबुलियतनामा होइन । नागरिकको मुद्दामा इमानदारी गुमाएको दिन हामी प्रतिपक्षमा उभिनेछौँ ।’ जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाको लागि सरकारलाई समर्थन दिने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?