संकटमा चुँदारा पेसाः दैनिकी चलाउनै कठिन

हिमालय टाइम्स
Read Time = 8 mins

भोजपुर । काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन । लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ ।

विगत वर्षमा धेरैले यो पेसा गर्दै आए पनि पछिल्लो समयमा भने घट्दै गएको छ । न्यून ज्याला, संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा सङ्कटमा पर्दै गएको चुँदाराको भनाइ छ । यहाँ ठाउँअनुसार गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहरलगायतका काठबाट स-साना आकारका गोलियालाई कुँदेर चुँदाराले काठका ठेकीसँगै भाँडाकुँडा बनाउने गर्दछन् । जसका लागि उनीहरुलाई निकै मेहनत पर्ने गर्दछ ।

दूध जमाउने ठेकीबाहेक मोही पार्ने ठेकी, कोसी, आरी खुर्पेटा कुँदेर चुँदाराले आफ्नो जीविका चलाउँदै आएका छन् । ठेकी बनाउनका लागि फलामबाट बनाइएका बाँक, रुखान, सादनलगायतका औजारको प्रयोग हुने गर्दछ । नयाँ पुस्तामा ध्यान नजाँदा तथा व्यावसायिक हुन नसक्दा यहाँ अहिले पनि परम्परागतरूपमा नै ठेकी बनाउने चलन छ । काम गर्ने प्रविधिले आधुनिकता नपाउँदा श्रम धेरै गर्नुपर्ने भएकाले जीविका चलाउन समस्या हुने चुँदारा बताउँछन् ।

धेरै मेहनतले खोलाखोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि यो पेसा छाड्दै गएको ५१ वर्ष बढी समयबाट चुँदारा पेसा गर्दै आएका टेम्केमैयुङ गाउँपालिका-८ गोगनेका रत्नबहादुर विश्वकर्माले बताउनुभयो । “न्यून ज्यालालगायत कारणले यो हाम्रो पुर्ख्याैली पेसा सङ्कटमा पर्न थालेको छ”, विश्वकर्माले भन्नुभयो, “मेहनत धेरै गर्नुपर्छ । मेहनतअनुसारको आम्दानी हुँदैन, धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले चासो दिँदैनन् ।”

काठको सामग्री बनाउनका लागि दार, पँयले, लोडसल्ला, मौवा, कटहरलगायत रुखको काठ उपयोगी हुने विश्वकर्माले बताउनुभयो । तर पछिल्लो समय त्यस्ता काठसमेत अभाव हुँदै गएको उहाँले बताउनुभयो । “काममा त दुःख छँदैछ । अझ काठको पनि अभाव छ । गाउँले आफैँले काठ खोजेर ल्याए भने हामी बनाइदिन्छौँ । हामीले ज्याला लिने हो”, विश्वकर्माले भन्नुभयो, “एक पाथी जाने ठेकी बनाएको रु दुई सय ५० देखि रु तीन सयसम्म ज्याला लिने गरेका छौँ । दुई जनाले दिनभर काम गरेको रु एक हजार पाँच सयसम्म हुन्छ ।”

आफूले पाउँदै आएको ज्याला समय सुहाउँदो नभएको विश्वकर्माको भनाइ छ । मेहनतका आधारमा प्रतिफल नहुने भएकाले नयाँ पुस्ताले चासो नदिँदा पेसा लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । विश्वकर्माले भन्नुभयो, “यो काम गरेर हामीले जीवन गुजरा गर्न सकिएको छैन । हिउँदको समयमा खोलामा पानी कम हुने भएकाले निरन्तर काम हुँदैन । वर्षात्‌काे समयमा मात्र सञ्चालन हुन्छ । काम गर्न झन्झट हुने भएकाले धेरैले यो पेसा नै गर्न छाडे । नयाँ पुस्ताले चासो दिँदैनन् । पेसा जोगाउन नै समस्या छ ।”

खोलाबाट भिरालो ठाउँमा पानी ल्याएर डुँढबाट पङ्खामा खसाइ काठलाई घुमाएर फलामको सानो धारिलो हतियार (बाँक)को सहायताले काठलाई कोपेर विभिन्न आकारको सामग्री बनाउने गरिन्छ । त्यसको अलावा हातले यन्त्र घुमाएर पनि काठका सामग्री बनाउने चलन छ । चुँदाराले कलात्मकरूपमा काठबाट ठेकी, हर्पे, तोङ्बाको भाडो, गम्बुलगायत विभिन्न सामग्री बनाउँदै आएका छन् ।

हालसम्म परम्परागत शैलीमा हुँदै आएकाले यसलाई आधुनिक उपकरण प्रयोग गरेर सञ्चालन ल्याउन सके काम गर्न सहज हुने चुँदाराको काम गर्दै आएका अर्का स्थानीय जङ्गबहादुर विकले बताउनुभयो । विकले भन्नुभयो, “हामीले बलको भरमा परम्परागतरूपमा काम गरिरहेका छौँ । बाउबाजेले जसरी गरे हामीले पनि त्यही विधिअनुसारको काम गर्दै आएका छौँ । आधुनिक उपकरण खरिद गर्नका लागि स्थानीय सरकार तथा सरोकारवाला पक्षबाट सहयोग गरे हुने । तर यो पेसाको संरक्षणमा खास कसैको सहयोग छैन ।”

पेसालाई जोगाउन नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने विकको भनाइ छ । तालिमको व्यवस्था गरेर सीपलाई सबैमा विस्तार गर्नुपर्ने विकले बताउनुभयो । “यो सीपलाई विस्तार गर्न आवश्यक छ”, विकले भन्नुभयो, “विस्तार गर्न सकिएन भने यो काम गर्ने मानिस पाउन मुस्किल छ । राज्यको तर्फबाट जीवन गुजारा गर्न सक्नेसम्मको वातावरण निर्माण भयो भने पेसालाई बचाइराख्न सकिन्थ्योजस्तो लाग्छ । अहिले पनि हामीले काम गर्न आवश्यक सामग्री जुटाउन नै समस्या छ ।”

पराम्परागतरूपमा सञ्चालन हुँदै आएका यस्ता पेसाको संरक्षणमा सरोकारवाला पक्षले ध्यान दिनुपर्ने स्थानीय गोरखबहादुर विष्टले बताउनुभयो । राज्यको तहबाट यस्ता पेसालाई प्राथमिकता नदिने हो भने नयाँ पुस्ताका लागि इतिहास हुने विष्टको भनाइ छ । रैथाने पराम्परागत पेसाको संरक्षण गर्न ठोस योजना बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । विष्टले भन्नुभयो, “यो पेसालाई जोगाउनुपर्ने अवस्था छ । धेरैले पेसा छाड्दै जाँदा यस्तो काम गर्ने मानिस पाउन नै मुस्किल छ ।”

स्वास्थ्यका लागि पनि काठका भाँडा फाइदाजनक मानिन्छ । आधुनिक औजार र प्रविधिको प्रयोगका कारण यस्ता काठका भाँडा विस्तारै हराउन थालेका हुन् । गाउँमा पशुपालन गर्ने व्यवसाय घटेपछि काठका ठेकीको प्रयोगमा पनि कमी आएको देखिन्छ । अझै पनि जिल्लाका केही ग्रामीण स्थानमा कुँदेरै ठेकी बनाउने चलन छ ।

परम्परागतरूपमा गाई-भैँसीको दूध जमाउन प्रयोग गरिने काठका ठेकीको चलन पछिल्लो समय हराउँदै गएको छ । बजारमा आधुनिक स्टिललगायत प्लाष्टिकका सामग्री पाइन थालेपछि काठको ठेकीको प्रयोग हराउँदै गएको हो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?