नेपाल-इटली व्यापार प्रवद्र्धनमा जोड

Read Time = 4 mins

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले इटलीसँगको द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिनुभएको छ । उहाँले भारत, चीनलगायतका देशसँगको तुलनामा इटालीसँगको व्यापारघाटा अनुपात कम भए पनि सन्तुष्ट हुने अवस्था नरहेको भन्दै नेपाली कार्पेट, गार्मेन्टलगायत इटालीमा नेपाली मौलिक वस्तुको बजार प्रवद्र्धन गर्न सकेमा व्यापारघाटा घटाउन सकिने बताउनुभयो ।

बिहीबार नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारणसभालाई राजधानीमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सरकार र निजी क्षेत्र मिलेर दुई देशबीचको व्यापार अभिवृद्धि तथा नेपाली उत्पादनको बजार सुनिश्चित गर्ने काम गर्नुपर्ने उहाँको भनाइ थियो । नेपाल इटली चेम्बरका कार्यवाहक अध्यक्ष धु्रवकुमार श्रेष्ठले नेपाल र इटाली दुवै मुलुकमा स्थायी दूतावास स्थापना गर्न सके आर्थिक कूटनीति प्रभावकारी हुन सक्ने बताउनुभयो । इटलीका नागरिक नेपाल भ्रमण गर्न मन पराउने भए पनि हवाई कनेक्टिभिटी महँगो रहेको उहाँको भनाइ थियो । तथ्यांकअनुसार सन् २०२२ मा इटालीबाट पाँच हजार दुई सय ३९ जनामात्र पर्यटक नेपाल आएका छन् तर कोरोनाअघि वार्षिक १५ हजार छ सय ७६ पर्यटक आएका थिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पछिल्लो समय ब्याजदरका कारण अर्थतन्त्र नाजुक अवस्थामा पुगेको भन्दै एकल अंकमा झार्नुपर्ने बताउनुभयो । चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रका सुझाव र सल्लाह सरकारले तत्काल सम्बोधन नगरे अर्थतन्त्र थप धरासायी बन्दै जाने बताउनुभयो ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको करिब साढे छ दशक हुनै लागेको छ । सन् १९५९ अगस्ट ३१ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कार्यक्रममा नेपाल इटाली उद्योग वाणिज्य क्षेत्रमा योगदान पुर्‍याउनुभएका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । विशेष सम्मान नेपाल इटाली चेम्बर अफ कमर्सका विशिष्ठ मानार्थ सदस्य राजेशकाजी श्रेष्ठलाई प्रदान गरिएको छ भने उत्कृष्ट आयातकर्ता विनोद सगतानी, इटालीतर्फ नेपाली वस्तु निर्यातका उत्कृष्ट निर्यातकर्ता राजु श्रेष्ठलाई सम्मान प्रदान गरिएको छ । त्यस्तै, नेपाल इटली चेम्बरतर्फबाट नेपालमा इटालीका पर्यटक सबैभन्दा बढी भित्र्याउन सफल पिस इन्टरनेसनल टुर एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक सर्वोत्तमलाल श्रेष्ठका साथै फायर एण्ड आइस पिज्जेरियालाई उत्कृष्ट लगानीकर्ताका रूपमा सम्मान प्रदान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?