राष्ट्रिय जनगणना-२०७८ : जनसंख्या वृद्धिदर ८० वर्षयताकै न्यून

डिबी शर्मा
Read Time = 18 mins

काठमाडौं । नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै न्यून देखिएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना-२०७८ को विवरणअनुसार जनसंख्या वृद्धिदर विसं १९९८ पछि सबैभन्दा कम देखिएको हो । १९९८ मा नेपालको जनसंख्या वृद्धिदर १.२७ प्रतिशत थियो । पछिल्लो विवरणअनुसार अहिले नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशतमा सीमित भएको छ । गत दश वर्षको अवधिमा नेपालको जनसंख्या १०.०८ प्रतिशतले वृद्धि भई २६ लाख ७० हजार ०७४ जना व्यक्ति थपिएका छन् । सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भक्तपुर (३.३५ प्रतिशत) र सबैभन्दा कम रामेछाप (-१.६७ प्रतिशत) रहेको छ ।

१० वर्षमा हुने जनगणनामा २००९/०११ मा २.७३ प्रतिशत पुगेको थियो । २०१८ मा फेरि १.३१ वृद्धिदरमा सीमित रहेको थियो । २०२८ देखि २०५८ सम्म नेपालको जनसंख्या वृद्धिदर दुई प्रतिशतमाथि रहेको थियो । २०२८ मा २.०५ प्रतिशत, २०३८ मा २.६२ प्रतिशत, २०४८ मा २.०८ र २०५८ मा २.२५ प्रतिशतले जनसंख्या वृद्धिदर रहेको थियो । २०६८ मा १.३५ प्रतिशत वृद्धिदर रहेकोमा २०७८ मा ०.९३ प्रतिशतमा सीमित छ ।
नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमा पुरुष एक करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला एक करोड ४९ लाख ११ हजार २७ छन् । नेपालमा पुरुषभन्दा महिलाको जनसंख्या करिब ६ लाख ५० हजार बढी छ । यसपटक बागमती र मधेस प्रदेशमा करिब २१ प्रतिशत जनसंख्याको बसोबास छ । कर्णाली प्रदेशमा सबैभन्दा कम छ ।

कुल जनसंख्यामध्ये अन्य लिंगी (लैंगिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या दुई हजार ९२८ रहेको विभागले जनाएको छ । विभागका अनुसार बागमती प्रदेशमा ३२.७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २.८ प्रतिशत रहेको छ । लैंगिक अनुपात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ रहेको छ । गत २०६८ सालमा लैंगिक अनुपात ९४.१६ थियो ।

जनगणनाको नतिजाअनुसार जनघनत्व (प्रति वर्गकिलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) १९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ । जुन २०६८ सालमा १८० मात्र थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ । सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा (५१६९ जना प्रतिवर्ग किलोमिटर) र सबैभन्दा कम मनाङ जिल्लामा (तीनजना प्रतिवर्ग किलोमिटर) रहेको छ ।

कुल जनसंख्याको ६१.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका रहेका छन् । गत २०६८ सालमा यो उमेर समूहका जनसंख्या ५६.९६ प्रतिशत मात्र रहेको थियो । हाल १४ वर्ष वा सोभन्दा कम उमेरका र ६० वर्ष वा सोभन्दा माथिल्लो उमेरका जनसंख्या क्रमशः २७.८३ प्रतिशत र १०.२१ प्रतिशत रहेको छ । २०६८ सालको जनगणनाअनुसार ५४ लाख २७ हजार ३०२ परिवार संख्या रहेकोमा हाल उक्त संख्या करिब २३ प्रतिशतले बढेर ६६ लाख ६६ हजार ९३७ पुगेको छ । जसमध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार ६ हजार ९६ रहेका छन् । परिवारको औसत आकार २०७८ सालमा प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ, जुन २०६८ सालमा ४.८८ जना रहेको थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ मा प्रति परिवार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य रहेका छन् ।

आधा बढी मानिस तराईमा, हिमाली क्षेत्रमा ६.०८ प्रतिशत मात्रै
काठमाडौंको जनसंख्या करिब साढे २० लाख, मनाङमा पाँच हजार मात्रै
राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत जनसंख्या रहेको छ । जुन गत २०६८ को जनगणनामा क्रमशः २०.८७ र ५.९३ प्रतिशत रहेको थियो । यसैगरी, मधेश प्रदेशमा दोस्रो ठूलो जनसंख्या रहेको छ । २०७८ मा जनसंख्याको आकारको हिसाबले तेस्रो, चौथो, पाँचौँ र छैटौँ क्रमशः कोशी, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेश रहेका छन् ।
तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत, पहाडमा ४०.३१ प्रतिशत र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत जनसंख्या रहेको छ । जुन दश वर्षअघि अर्थात् २०६८ मा क्रमशः तराईमा ५०.२७ प्रतिशत, पहाडमा ४३.०१ प्रतिशत र हिमाली क्षेत्रमा ६.७३ प्रतिशत थियो । देशका ७७ जिल्लाहरूमध्ये सबैभन्दा बढी जनसंख्या काठमाडौंमा २० लाख ४१ हजार ५८७ जना र सबैभन्दा कम जनसंख्या मनाङमा पाँच हजार ६५८ जनाको अक्सर बसोबास रहेको छ । मोरङ, रुपन्देही, झापा र सुनसरी क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसंख्या भएका जिल्लाहरू हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा परेका छन् ।

उपत्यकाका पालिकामा १० वर्षमै जनसंख्या दोब्बर, कागेश्वरी मनोहरा पहिलो स्थानमा
पछिल्लो १० वर्षमा काठमाडौं उपत्यकाका स्थानीय तहमा जनसंख्या वृद्धिदर उच्च देखिएको छ । सबैभन्दा धेरै जनसंख्या बढ्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका पहिलो स्थानमा छ । कागेश्वरी मनोहरा नगरपालिकाको जनसंख्या २०६८ को भन्दा दोब्बरले बढेको छ । २०६८ मा ६० हजार २३७ रहेको यहाँको जनसंख्या २०७८ मा एक लाख ३० हजार ४३३ पुगेको छ । त्यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिकाको जनसंख्या पनि करिब दोब्बर बढेको छ । २०६८ मा ६२ हजार १७२ रहेको यहाँको जनसंख्या २०७८ मा एक लाख २३ हजार ११६ पुगेको छ । काठमाडौंको तारकेश्वर नगरपालिकामा २०६८ मा ८१ हजार ४४३ जनसंख्या रहेकामा २०७८ मा एक लाख ५१ हजार ४७९ पुगेको छ । काठमाडौंको नागार्जुन नगरपालिकामा २०६८ मा ६७ हजार ४२० रहेको जनसंख्या बढेर २०७८ मा एक लाख १५ हजार ४३७ पुगेको छ । सबैभन्दा बढी जनसंख्या घट्नेमा भने अछामको साफेबगर नगरपालिका पहिलो स्थानमा छ । त्यहाँको जनसंख्या २०६८ सालमा ३३ हजार ७८८ रहेकामा २०७८ मा घटेर २५ हजार ८९१ मा झरेको छ ।

चार जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक
भौगोलिक क्षेत्रअनुसार १० वर्षको अवधिमा हिमाली क्षेत्रमा ०.५ प्रतिशतले जनसंख्या घटेको छ भने पहाडी क्षेत्रमा ३.१९ प्रतिशतले र तराई क्षेत्रमा १७.३८ प्रतिशतले जनसंख्या बढेको छ । नेपालका ३४ जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक हुने पाँच जिल्लामा रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम रहेका छन् । हिमाल र पहाडको तुलनामा हिमाली क्षेत्रको जनसंख्या वृद्धिदर ऋणात्मक छ । राष्ट्रिय जनगणनाको नतिजा अनुसार हिमाली क्षेत्रको जनसंख्या वृद्धिदर माइनस ०.०५ प्रतिशत छ । २०६८ को जनगणना अनुसार हिमाली क्षेत्रको जनसंख्या वृद्धिदर ०.५४ प्रतिशत थियो ।

३८ प्रतिशत नागरिक इन्टरनेटको पहुँचमा
९२.२ प्रतिशत नेपाली बिजुली बत्तीको पहुँचमा, ७३ प्रतिशत नेपालीसँग स्मार्ट फोन
७३ प्रतिशत नेपालीसँग स्मार्टफोन रहेको तथ्यांकले दखाएको छ । राष्ट्रिय तथ्यांक विभागका अनुसार २०७८ को तथ्यांकअनुसार ७३ प्रतिशतले स्मार्ट र ७३.३ प्रतिशतले सामान्य फोन बोक्छन् । तर, इन्टरनेटको पहुँचमा भने ३७.८ प्रतिशत मात्रै रहेका छन् । तथ्यांकअनुसार नगरपालिकामा ४५.७ प्रतिशत र गाउँपालिकामा २१.५ प्रतिशत इन्टरनेटको सुविधा पुगेको हो । रेडियोका ३४.२ प्रतिशत र टेलिभिजनका ४९.४ प्रतिशत प्रयोगकर्ता रहेका छन् ।

नेपालमा अझै पनि आधाभन्दा बढी जनसंख्याले खाना पकाउन दाउरा प्रयोग गर्ने गरेका छन् । जनगणना-२०७८ को अन्तिम नतिजाले देशका कुल परिवारमध्ये आधाभन्दा बढी ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठ/दाउरा प्रयोग गर्ने गरेको देखाएको हो । खाना पकाउन अक्सर एलपीग्याँस, बिजुली, गुइँठा/गोरहा, बायोग्यास, मट्टीतेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत क्रमशः ४४.३, ०.५, २. ९, १. २, ०.०५ र ०.१ रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ६४ प्रतिशतले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेका थिए ।
जनगणनाले धेरैजसो घरपरिवारले आफू बसोबास गरेको घर/आवासीय एकाइमा बत्ती बाल्न अक्सर बिजुली प्रयोग गर्ने गरेको देखाएको छ । गत जनगणनामा बिजुली प्रयोग गर्ने परिवार ६७.३ प्रतिशत प्रतिशत रहेको थियो । हाल संख्या उल्लेख्य वृद्धि भई ९२.२ प्रतिशत पुगेको छ ।

साक्षरता दर ७६ प्रतिशत, पुरुषभन्दा महिला कम साक्षर
नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव चार प्रतिशतले वृद्धि भएको छ । साक्षरता दर ७६ प्रतिशत पुगेको हो । पुरुषको साक्षरता दरभन्दा पहिलाको १४.२ प्रतिशत कम रहेको छ । पाँच वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ । २०६८ को जनगणनाअनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत थियो । पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो । जनगणना २०७८ अनुसार कुल साक्षर जनसंख्याको सबैभन्दा बढी २८.७ प्रतिशत व्यक्तिहरूले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) मात्र उत्तीर्ण गरेका छन् । निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म) मात्र उत्तीर्ण गरेका व्यक्तिहरू १९.९ प्रतिशत रहेको विभागले जनाएको छ । एसएलसी वा सोसरह मात्र उत्तीर्ण गर्ने व्यक्तिहरू ९.५ प्रतिशत रहेका छन् । एसएलसीभन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरू १९.५ प्रतिशत रहेका छन् । यस्तै, १.८ प्रतिशत व्यक्तिहरूले अनौपचारिक शिक्षा अध्ययन गरेको देखिएको छ ।

करिब २२ लाख नेपाली विदेशमा, विदेशिनेमा ६ गुणा बढी पुरुष
२१ लाख ९० हजारभन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना–२०७८ का अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेको पाइएको हो । यो २०६८ को राष्ट्रिय जनगणनाभन्दा दुई लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेको पाइएको थियो । जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष ८२.२ प्रतिशत र तीन लाख ९० हजार ९१७ अर्थात् १७.८ प्रतिशत महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ । सधैँको लागि देश छोडेर गएका व्यक्तिहरूको भने गणना नगरिएको विभागले जनाएको छ । त्यस्तै, परिवारका सबै सदस्य विदेशमा रहेकाहरूको पनि गणना गरिएको छैन ।

४.५ प्रतिशत नेपालीको घरमा छैन शौचालय
नेपालका ४.५ प्रतिशत जनसंख्या अझै शौचालयको पहुँचबाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ । खुला दिशामुक्त घोषणा भएको चार वर्षपछि ४.५ प्रतिशत जनसंख्या अझै शौचालयको पहुँच बाहिर रहेको तथ्यांक सार्वजनिक भएको हो । २०७८ सालको जनगणनाअनुसार जम्मा ९५.५ प्रतिशत जनसंख्यामा शौचालय बनेको तथ्यांकले देखाउँछ । २०७६ साल असोज १३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिशामुक्त देश घोषणा गर्नुभएको थियो । जनगणनाअनुसार नेपालमा कुल ६६ लाख ६० हजार ८४१ वटा परिवार छन् । यसमध्ये ४.५ प्रतिशत परिवारमा अझै कुनै पनि प्रकारको शौचालय बनेको छैन ।

तथ्यांकको गुणस्तर अभिवृद्धि गर्न जरुरी : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमित रूपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी रहेको बताउनुभएको छ । राष्ट्रिय जनगणना-२०७८ को औपचारिक घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघ, प्रदेश र स्थानीय तहमा उत्पादन हुने सबै विषयका तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमित रूपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले सरकारले तथ्यांक प्रणालीको सुदृढीकरण तथा एकीकृत तथ्यांक पद्धतिको निर्माण गर्ने उद्देश्यले हालै जारी गरेको तथ्यांक ऐन, २०७९ को कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । जनगणनाको तथ्यांकबाट संघ, प्रदेश र स्थानीय तहमा नीति, योजना र कार्यक्रम बनाउँदा तथ्यमा आधारित निर्णय गर्न सहज हुने उहाँको भनाइ छ ।

जनगणना २०७८ को अध्ययन गर्दा कम उमेरका व्यक्तिहरूको संख्या क्रमशः घटेको, बढी उमेरका व्यक्तिहरूको संख्या क्रमशः बढेको देखिएको उहाँले बताउनुभयो । महिला परिवारमुली भएका परिवारहरू तथा परिवारमा उपलब्ध सञ्चारलगायत अन्य साधन, सुविधा, सफा खानेपानी प्रयोग गर्ने बिजुली प्रयोग गर्ने, खाना पकाउन आधुनिक इन्धनको प्रयोग गर्ने, शौचालय सुविधा भएका परिवारको अनुपात वृद्धि भएको तथ्यांकले देखाएको उहाँको भनाइ छ । प्रधानमन्त्री दाहालले जनगणना देशको आर्थिक र सामाजिक स्थिति प्रस्तुत गर्ने महत्वपूर्ण कार्य भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?