पञ्चेबाजा संरक्षणमा दलित समुदायका महिला

हिमालय टाइम्स
Read Time = 7 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका-१ का महिला पञ्चेबाजा संरक्षणमा सक्रिय भएका छन् । दलित समुदायको सांस्कृतिक बाजाको रूपमा रहेको रहेको पञ्चेबाजा संरक्षणमा महिलाहरू एकजुट भएका हुन् । उनीहरूले एउटा समूहसमेत गठन गरेका छन्, संस्कृति संरक्षणका लागि । उक्त समूहको नाम हो, लालीगुँरास पञ्चेबाजा समूह । यो समूह वि.स. २०७५ सालमा स्थापना भएको हो ।

समूहका अध्यक्ष गगने दमाईं पञ्चेबाजाको संरक्षणको लागि संस्थागत रूपमा अघि बढेको बताउनुहुन्छ । समूहमा महिलाहरूको बाहुल्य रहेको उहाँको भनाइ छ । समूहको नेतृत्व आफूले गरे पनि बाजा बजाउने काम महिलाहरूले नै गरिरहेको उहाँले बताउनुभयो । संस्कृति संरक्षणमा महिलाहरू पनि जुट्न सक्छन् भन्ने सन्देश समूहले दिइरहेको अध्यक्ष दमाईंको भनाइ छ । अरू बेला चुलो चौकोमा सीमित हुने महिलाहरू अहिले विभिन्न कार्यक्रम तथा मेलाहरूमा अग्रस्थानमा बाजा बजाउन सक्षम भएका छन् । कोहलपुर नगरपालिका-१ की वडा सदस्य शितला परियारले समाज रुपान्तरणमा महिलाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । दलित महिला अधिकारकर्मीसमेत रहनुभएकी परियार दलित समुदाय सीपयुक्त जाति भएको बताउनुहुन्छ । पञ्चबाजामार्फत समाजमा नयाँ सन्देश प्रवाह गर्न खोजिएको उहाँले बताउनुभयो । ‘हामीले आफ्नो पहिचानलाई संरक्षण अभियान थालेका छौँ । संस्कृति संरक्षण हाम्रो अभियान हो । त्यसैले हामी महिला अग्रसर भएका हौँ’ उहाँले भन्नुभयो । दलित समुदाय मात्रै होइन स्थानीय सरकारले समेत यस्ता संस्कृति संरक्षणमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । कौशिलानगरका दलित समुदायले सुरु गरेको पञ्चेबाजा अभियानमा स्थानीय सरकारले समेत साथ दिएको छ । अध्यक्ष दमाईले कोहलपुर नगरपालिकाले पञ्चेबाजा संरक्षणको लागि तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको बताउनुभयो ।

पञ्चेबाजा अर्थात पाँच बाजाहरूको समूह । यो बाजा नेपालको पहाडी भेकमा बजाउने गरिन्छ । पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन् । पञ्चेबाजा, नेपाली धार्मिक एंव साँस्कृतिक बाजाको रूपमा प्रयोग हुँदै आएको छ । पञ्चेबाजा मौलिक संस्कृतिको धरोहर हो ।

यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ । विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा लगायतका शुभ कार्यमा यो बाजाको बढी प्रयोग हुन्छ । मंगल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो । परम्परागत रूपमा नेपालका दमाईं समुदायले मात्र यो बाजा बजाउने गर्दथे । हाल यो बाजा विभिन्न समुदायका पुरुष र पछिल्ला दिनहरूमा महिलाहरूले पनि व्यावसायिक रूपमा बजाउन थालेका छन् ।

महिलाले यसरी बाजा बजाउन थाले
कोहलपुर-१ कौशिलानगरकी नमिता नेपाली दमाहा बजाउनुहुन्छ । २५ वर्षीय यी युवतीले दमाहा बजाउन थालेको आठ वर्ष भयो । लामो समयदेखि गाउँमा हुने विभिन्न शुभकार्यमा आफूले दमाहा बजाउँदै आएको उहाँले बताउनुभयो । दमाहा बादक नेपालीका आमा बुबा पनि दमाहा बजाउनुहुन्थ्यो । नेपालीका आमाबुवाले जीविकोपार्जनको लागि दमाहा बजाउनुभयो । उहाँ संस्कृति संरक्षणका लागि दमाहा बजाउनुहुन्छ ।

नेपाली भन्नुहुन्छ, ‘यो हाम्रो समुदायको बाजा हो । जीविपार्जनको स्रोत पनि हो । समयक्रमसँगै यो बाजा लोप हुने अवस्था पुग्यो । अहिले मैले यसको संरक्षणको लागि बजाइरहेकी छु ।’ उहाँले अहिले पनि आफूले बाजा बजाउन सिकिरहेको बताउनुभयो । बाजा बजाउन सुरु गर्दा धेरै जिस्क्याउने गरेको अनुभव छ, उहाँसँग । पहिला कुरा काट्नेहरू अहिले राम्रो सुझाव दिइरहेका छन् ।

कोहलपुर-१ कौशिलानगरकै बिम्री नेपाली नरसिंहा बजाउनुहुन्छ । उहाँ उमेरले ४० वर्ष लाग्नुभयो । उहाँले आफूले बाजा बजाउन भर्खरै सिकेको बताउनुभयो । आफूले नरसिंहा बजाउने तालिम लिइरहेको उहाँको भनाइ छ । गाउँका केही महिलाहरू मिलेर बाजा बजाउन सिकिरहेको ब्रिमीको भनाइ छ । ‘समाजमा अहिले पनि महिलाले केही गर्न सक्दैनन् भन्ने सोचाईं छ । हामी घरदैलोमै सीमित हुनुहुँदैन । त्यस्तो सोच बदल्न बाजा बजाउन सुरु गरेको हो,’ उहाँले भन्नुभयो ।

सोही ठाउँकी ४५ वर्षीया भीमकला परियार र विमला परियारले पनि दमाहा बजाउनु हुन्छ । उहाँहरू समूह नै बनाएर संस्कृति संरक्षणका लागि बाजा बजाउन अग्रसर हुनुभएको छ । बाजामार्फत संस्कृति संरक्षण गर्न सकिन्छ भन्ने सन्देश दिनको लागि आफूहरू संस्थागत रुपमा अघि बढेको उहाँहरू बताउनुहुन्छ । अहिले कोहलपुरमा हुने गरेका हरेक कार्यक्रमहरूमा उहाँहरूको माग बढ्न थालेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?