एमाले अध्यक्ष ओलीको प्रश्न : देशको आर्थिक अवस्थाबारे दश टाउके गठबन्धन किन बोल्दैन ?

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दश टाउके गठबन्धन मौन रहेको बताउनुभएको छ । एमालेको मिसन ग्रासरुट अभियानको क्रममा मंगलबार पाल्पाको तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मुलुकमा आर्थिक संकट परेको बेला दशदलीय गठबन्धन मौन बसेको बताउनुभएको हो ।

दश गठबन्धन र बाह्य शक्तिले एमालेलाई कमजोर बनाउने प्रयास गरेको उहाँले बताउनुभयो । एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले अहिले आएर सबै कमजोर बनाउने खेलमा लागेको उहाँले बताउनुभयो ।

‘हामीविरुद्ध कमजोर बनाउने खेल भएको छ । एमालेले जतिबेला सरकारको नेतृत्व गर्ने मौका पायो त्यो बेला नै राम्रो काम गरेकाले अहिले चारैतिरबाट घेराबन्दी गरेका छन्,’ उहाँले भन्नुभयो, ‘अब अरु एकातिर, एमाले अर्काेतिर भए पनि कमजोर हुँदैनौ बरु ग्रासरुट अभियानमार्फत अझ सशक्त भएर आउँदो चुनावमा बहुमत सांसद जित्छौं । सुरुदेखि हालसम्म एमाले सरकारले देशको विकास र समृद्धिमा असाधारण काम गरेको छ ।’ एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीले भूमिका खेलेको भन्दै त्यसतर्फ सचेत रहन पनि ओलीले कार्यकर्ताहरूलाई निर्देशन दिनुभएकाे थियाे ।

दशदलीय गठबन्धनले एमालेले अघि सारेका राम्रो योजनाहरुको समेत बजेट रोक्ने काम गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो‘ हामी सरकारमा रहँदा सडक, पूर्वधार र उर्जाका क्षेत्रमा राम्रा कामको थालनि गरेका थियौं, केही काम सम्पन्न भए पनि केही कामले गति लिएको अवस्था थियोृ तर अहिलेको गठबन्धन सरकारले ति कामहरु अलपत्र छाडेको छ ।’

कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री तथा पार्टी उपमहासचिव प्रदीप ज्ञवाली मुलुक आर्थिक, राजनैतिक र राष्ट्रियता संकटमा रहेको बताउनुभयो । यस्तो अवस्थामा सत्ता गठबन्धन रमिते बनेको उहाँको आरोप छ । फरक प्रसंगमा ज्ञवालीले चुनावी प्रतिस्पर्धामा अन्तरघात भएको संकेत गर्दै एमालेभित्र खराब आचरणका मान्छे प्रवेश गरेकाले तिनीहरुलाई पाखा लगाउनुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?