हेलिकोप्टर दुर्घटनामा एकजनाको निधन, घाइतेको काठमाडौंमा उपचार हुँदै

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । संखुवासभाको भोटखोला-४ मा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकजनाको निधन भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको निधन भएको संखुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । दुर्घटनामा घाइते गुरुङलाई हेलिकोप्टरमार्फत उपचारका लागि ल्याउने क्रममा तुम्लिङटार विमानस्थलमा निधन भएको हो । उहाँ हेलिकोप्टरमा सहयोगीका रूपमा काम गर्दै आउनुभएको थियो ।

शुक्रबार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला गाउँपालिका-४ हटिया, सिपु्रङको हम्मरेडाँडामा रूखमा ठोक्किएर हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, छिरिङ भोटे, मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते हुनुभएको छ । क्याप्टेनसहित घाइते सबैको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । सेनाको हेलिकोप्टर दुर्घटनास्थल पुगेर घाइतेहरूको उद्दार गरेको थियो ।

संखुवासभामा माथिल्लो अरुण हाइड्रोपावरको सामान बोक्ने हेलिकोप्टर दुर्घटनामा परेको हो । घाइते सबैको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटना भएको सिम्रिक एअरको हेलिकोप्टरले गोला भन्ने स्थानबाट परियोजनाका लागि आवश्यक निर्माण सामग्रीहरू ढुवानी गर्दै आएको थियो ।

सिम्रिकको हेलिकोप्टर बिहीबार काठमाडौंबाट खाँदबारी प्रहरी कार्यालयमा अवतरण भई उत्तरी गोलातर्फ बेलुकी गएको थियो । त्यहाँ उसले शुक्रबार बिहानदेखि विद्युत्का सामान ओसार्न सटल उडान गर्दै आइरहेको थियो ।

३९ वटा हेलिकोप्टर दुर्घटना
पछिल्लो समय २६ चैतमा धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट हेलीको (एन एएनबी) कलसाइनको हेलिकोप्टर दुर्घटना परेको थियो । उक्त हेलिकोप्टरले पनि कार्गो बोकेर अवतरण गर्ने क्रममा अनियन्त्रित भएर पल्टिएको थियो । उक्त दुर्घटनामा हेलिकोप्टर चालक प्रिया अधिकारी सामान्य घाइते हुनुभएको थियो ।

हेली एभरेष्टको दुर्घटना भएको अघिल्लो दिन २५ चैतमा ह्याम्स हस्पिटलको छतमा अवतरण गर्ने क्रममा एयर डाइनेष्टिको अर्को एक हेलिकोप्टर पनि दुर्घटनामा परेको थियो ।

शुक्रबारसहित नेपालमा हालसम्म ३९ वटा हेलिकोप्टर दुर्घटना भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार हालसम्म विभिन्न कम्पनीका हेलिकोप्टर विभिन्न ठाउँमा गरी ३९ पटक दुर्घटना भएका छन् । यी ३९ वटा दुर्घटनामध्ये अधिकांश भवितव्य र केही लापरबाहीका कारण भएको पाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?