नाइजेरियाको नयाँ राष्ट्रपतिमा बोला टिनुबु

Read Time = 2 mins

लागोस । अफ्रिकी मुलुक नाइजेरियामा बोला टिनुबु नयाँ राष्ट्रपति चयन हुनुभएको छ । सत्तारुढ दल अल प्रोग्रेसिभ कंग्र्रेसका उम्मेदवार बोला टिनुबुले ८० लाख ७९ हजार मत ल्याएको नाइजेरियाको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचित ७० वर्षीय राष्ट्रपतिले आफ्ना निकटतम प्रतिद्वन्द्वी पूर्वउपराष्ट्रपति अतिकु अबुबकरलाई पराजित गर्नुभएको हो । नेता अबुबकरले छ लाख ९८ हजार मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा रहनुभएका लेबर पार्टीका उम्मेदवार पिटर ओबीले ६१ लाख मत पाएको आयोगका अध्यक्ष महमुद याकुबुले जनाउनुभएको छ । यो निर्वाचन नाइजेरियाको इतिहासमा सबैभन्दा कडा प्रतिस्पर्धा भएको थियो ।

नवनिर्वाचित राष्ट्रपति टिनुबु लागोस राज्यका पूर्वगभर्नर एवं सिनेटरसमेत हुनुहुन्छ । राष्ट्रव्यापी समर्थकहरूको विशाल भेलालाई सम्बेधन गर्दै उहाँले आफ्नो जितसँगै नाइजेरियामा नयाँ आशा पलाएको बताउनुभएको छ । उहाँले दिगो विकासमा ध्यान दिने तथा नागरिकका चाहनाबमोजित राष्ट्रिय विकासका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुरक्षित नाइजेरिया बनाउने जनचाहना पूरा गर्ने दृढता उहाँले व्यक्त गर्नुभएको छ ।

निवर्तमान राष्ट्रपति मुहमदु बुहारीले टिनुबुको जितको स्वागत गर्दै निर्वाचन परिणामले अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्रमा लोकतन्त्र प्रतिविम्बित भएको बताउनुभयो । राष्ट्रपति बुहारीले सुव्यवस्थित रूपमा टिनुबु र उहाँको टोलीलाई सत्ता हस्तान्तरण गर्ने बताउनुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?