हिमालय ट्राभल मार्ट हुने

Read Time = 3 mins

काठमाडौं । हिमालय ट्राभल मार्टको चौथो संस्करण जुन ६ देखि ९ सम्म काठमाडौंमा हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरद्वारा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वामित्वअन्तर्गत नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम, पाटा अन्तर्राष्ट्रिय एवं पर्यटन क्षेत्रका विभिन्न संघ-संस्थाको विशेष सहयोगका आयोजना मार्ट आयोजना हुने भएको हो ।

सन् २०१७ देखि २०१९ सम्म वार्षिकरूपमा हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएकोमा कोरोना महामारीका कारण सन् २०१९ पछि आयोजना हुन सकेको थिएन ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिलाई मार्टमा सहभागी भई पर्यटन व्यवसाय पुनरुत्थान गर्न र नेपाललाई महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा सहयोग गर्न हार्दिक निमन्त्रणा दिनुभएको छ । उहाँले भन्नुभयो, ‘कोभिडले विश्वव्यापीरूपमा यात्रा र पर्यटन उद्योगमा नराम्रो असर पारेको छ । नेपाल पनि यसमा अपवाद रहेन । यद्यपि पर्यटन क्षेत्र क्रमशः लयमै फर्किरहँदा मार्टको आयोजनाले नेपाललगायत समग्र हिमालयन क्षेत्रकै पर्यटन पुनरुत्थान र प्रवद्र्धन पहललाई सहयोग पुर्‍याउने तथा महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिएका छौँ ।’

मार्टकै पूर्वसन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विश्वभरबाट आउने अतिथिलाई निमन्त्रणाका साथै शुभकामना सन्देश दिनुभएको छ ।

आयोजकका अनुसार देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाका रूपमा स्थापित हिमालय ट्राभल मार्टमा नेपाल, भारत, पाकिस्तान, चीन (तिब्बत), भुटान र म्यानमार जस्ता हिमालयन राष्ट्रबाट बिक्रेता तथा युरोप, अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, एसिया, सिआइएस राष्ट्र, एसिया र अरब राष्ट्रका विश्वव्यापी क्रेतालाई एउटा मञ्चमा भेला गराई व्यापार आदान-प्रदान तथा सम्बन्ध सञ्जाल विस्तार, ज्ञान तथा सीप आदान-प्रदान गर्ने एक अद्वितीय मञ्च तथा एउटा विशेष लोकप्रिय बि-टु-बि कार्यक्रम हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?