नेपालको पहिलो होमस्टेद्वारा ‘सिरुबारी दर्पण’ पुस्तक सार्वजनिक

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 5 mins

स्याङ्जा । नेपालको पहिलो सामुदायिक होमस्टे सिरुबारी सामुदायिक होमस्टेको २५औँ वर्षगाँठ तथा रजत महोत्सव २०७९ को अवसरमा ‘सिरुबारी दर्पण’ शीर्षकको पुस्तक प्रकाशन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले एक समारोहबीच उक्त पुस्तकको लोकार्पण गर्नुभएको थियो । यो पुस्तकमा नेपालको पहिलो होमस्टेका रूपमा इतिहास बनाएको सिरुबारी सामुदायिक होमस्टेका विविध पक्षहरूलाई प्रकाश पारिएको छ । यो पुस्तकले होमस्टेका बारेमा जान्न चाहनेहरूका लागि थोरै भए पनि ज्ञान दिएको छ । यसमा सिरुबारीवासी नागरिकले पहिलो पर्यटकीय गाउँका रूपमा सिरुबारीलाई स्थापित गर्न के-कस्ता दुःख र संघर्षहरू गर्नुपर्‍यो भन्ने विषयलाई पनि केलाउने प्रयास गरिएको छ ।

विसं २०५४ सालमा औपचारिक दर्ता भएको यो होमस्टेलाई नेपालको मात्र नभएर दक्षिण एसियाकै पहिलो होमस्टे मानिन्छ । राज्यले २०६७ सालमा मात्र होमस्टे कार्यविधि प्रकाशित ग¥यो तर त्यस समयभन्दा १२ वर्षअगाडि नै क्याप्टेन रुद्रमान गुरुङले सिरुबारीलाई होमस्टेका रूपमा सञ्चालन गरिसक्नु भएको थियो । यो एउटा नागरिकले राज्यको दृष्टिभन्दा पनि माथि सोचेर काम गर्न सक्छ भन्ने गतिलो उदाहरण थियो । त्यसैले यस पुस्तकमा होमस्टेका महानायक स्व. क्या. रुद्रमान गुरुङको योगदान र उहाँले होमस्टे स्थापनाका लागि गरेका प्रयासहरूलाई उल्लेख गरिएको छ ।

यसमा पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड आदि निकायका विज्ञहरूका लेखरचनाहरू समेटिएका छन् । तत्कालीन समयमा गाउँ पर्यटनका नायक स्व. क्या. रुद्रमान गुरुङलाई होमस्टे निर्माणमा सहयोग गर्ने जीवित पात्रहरूका संघर्षका अनुभवहरूलाई पनि समेट्ने कोसिस गरिएको छ ।

होमस्टे स्थापनासँग जोडिएका स्वदेशी तथा विदेशी सहयोगीहरूका ऐतिहासिक अनुभवमूलक लेखहरू पुस्तकमा समावेश गरिएका छन् । तत्कालीन समयमा सिरुबारीमा विदेशी पाहुना ल्याउन क्याप्टेन साहेबसँग मिलेर काम गर्ने अष्ट्रेलियन नागरिक टोनी पारको ऐतिहासिक लेख पनि कृतिमा समेटिएको छ । पर्यटन विज्ञहरूका लेखहरूले पनि पुस्तकलाई ओझिलो बनाएका छन् ।

तत्कालीन समयमा होमस्टे स्थापनाका लागि आधारको काम गरेका सिरुबारी होमस्टेका चार स्तम्भका रूपमा रहेका चार संस्थाहरू-धर्मोदय सभा, नवयुवा क्लब, बुद्ध आमा समूह र पर्यटन विकास समितिका संस्थापक तथा पदाधिकारीहरूका भोगाइ र विचार तथा अनुभवलाई पनि उक्त पुस्तकमा समेटिएको छ । सिरुबारी सामुदायिक होमस्टेलाई विगतदेखि सफल बनाउन भूमिका खेल्ने सिरुबारीमा जन्मेर देश-विदेशमा रहेका गुरुङ समुदायका संस्थाहरू सोपाल समाज पोखरा, काठमाडौं, युकेका संस्थापक तथा पदाधिकारीहरूका लेखहरूलाई प्रतिनिधिमूलक तरिकाले समावेश गरिएको छ ।

वास्तवमा सिरुबारी गाउँका भौगोलिक तथा प्राकृतिक विशेषताहरू यस पुस्तकमा उल्लिखित छन् । करिब १६१० मिटरको उचाइमा रहेको सिरुबारी गाउँको प्राकृतिक सुन्दरता तथा भौगोलिक विशिष्टतालाई पुस्तकमा चर्चा गरिएको छ । सिरुबारी गाउँको सरसफाइ, ढुंगाको प्रयोगबाट बनाइएका यहाँका कलात्मक घरहरू, ढुंगाकै पर्खाल र ढुंगाकै प्रयोग गरी बनाइएका बाटाहरूले प्रकृतिको सुन्दर र कलात्मक प्रयोगलाई देखाउँछ । यहाँका महिला दिदीबहिनीको अनुशासित तथा शिष्ट र आत्मीय व्यवहार, बेलुका देखाइने सांस्कृतिक कार्यक्रमका मौलिकताहरूलाई ‘सिरुबारी दर्पण’ ले उजिल्याउने प्रयास गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?