पीएनजीमाथि नेपालको जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईमा जारी पपुवा न्यूगिनी (पीएनजी) विरुद्धको दोस्रो खेलमा नेपालले ३ विकेटको जित हात पारेको छ । पीएनजीले १८० रनको लक्ष्य नेपालले १२ बल बाँकिरहँदा ७ विकेट गुमाएर भेट्टायो । नेपालका लागि ओपनर आसिफ सेखले ८८ रनको इनिङ्स खेल्नुभयो । उहाँले १३० बलमा ३ चौका र एक छक्का प्रहार गर्नुभएको थियो ।

नेपालको सुरुवात भने राम्रो रहेन । ओपनर कुशल भुर्तेल शून्यमै आउट हुनुभयो । यस्तै अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल ६, भीम सार्की ८, कप्तान रोहित पौडेल र आरिफ सेख १-१ रनमा आउट हुनुभएपछि नेपाल संकटमा परेको थियो । त्यसपछि पनि दीपेन्द्रसिंह ऐरी ८ र कुशल मल्ल २३ रनमा आउट भएपछि धरमराएको नेपाली पारीलाई सातौं विकेटका लागि आसिफ र सन्दीप लामिछानेले ७७ रनको पारी खेल्दै नेपाललाई जित दिलाउनुभएको थियो ।

यस्तै सन्दीपले ५० बलमा ३ चौकासहित ३५ रनको महत्वपूर्ण पारी खेल्नुभयो । पीएनजीका सेसे बाउ र सिमो काउमाले समान २–२ विकेट लिनुभयो । त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको पपुवा न्यूगिनीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो । पपुवा न्यूगिनीका ओपनर टोनी उराले ५१ बलमा २ चौका र १ छक्कासहित ३९ रन बनाउनुभयो ।
ओपनर किप्लिङ डोरिगा ४३ बलमा ३ चौकासहित २६ रनमा आउट हुनुभयो । यस्तै सेसे बाउ ११, असाद भालाले ११, गौडी टोका १५, हिरि हिरि ३१ र नर्मन भानुवा १५ रनमा आउट हुनुभयो । नेपालका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा १ मेडनसहित ३० रन खर्चेर २ विकेट लिनुभयो । कुशल मल्लले १० ओभरमा १ मेडनसहित १० रन खर्चेर १ विकेट लिनुभयो । सोमपाल कामीले १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिनुभयो । सन्दीप लामिछाने र करण केसीले एक–एक विकेट लिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?