आयुर्वेदका लागि नेपाल उचित गन्तव्यस्थल : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताउनुभएको छ । शुक्रबारबाट काठमाडौंमा सुरु भएको सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उहाँले यस्तो भनाइ राख्नुभएको हो । उहाँले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

‘सम्पूर्ण स्वास्थ्यका लागि आयुर्वेद’ भन्ने मूल नाराका साथ सुरु भएको दुई दिने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा नेपाल, भारत र युरोप तथा अमेरिका लगायतका अन्तर्राष्ट्रिय आयुर्वेद क्षेत्रका विज्ञहरू, उत्पादक, व्यवसायीको सहभागिता छ । महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघले आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले नीतिगत निर्णय गरेर जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्ने बताउनुभयो ।

नेपाल आयुर्वेदका लागि उचित गन्तव्यस्थल भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरू जोगाइराख्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा रहेका वनस्पतिहरूको अध्ययन र अनुसन्धान अझै हुन जरुरी बताउनुभयो । उहाँले भन्नुभयो, ‘आयुर्वेदालाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिबद्ध छ । नेपाल आयुर्वेद क्षेत्रको प्राकृतिक भूमि हो । नेपालमा विभिन्न प्रकारका प्राकृतिक औषधिहरू पाइन्छन्, यार्सागुम्बा, अमला, लगायतका विभिन्न अमूल्य जडिबुटीहरू पनि यहाँ पाइन्छ । सिंहदरबारस्थित वैद्यखानाबाट पनि हामीले आयुर्वेदलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेक छौँ । हामीले पहिलो प्राथमिकतामा राखेर आयुर्वेद अस्पतालका लागि औषधिहरूको मुख्य थलोको रूपमा नेपाललाई भारतले राखेको छ । अझै यसलाई हामीले प्रचारप्रसार गर्न आवश्यक छ । तर, पछिल्लो समय जलवायु परिवर्तनका कारण यसमा असर परिरहेको छ । यसलाई हामीले न्यूनीकरण गर्दै जानुपर्छ ।’
प्रधानमन्त्री दाहालले यो महासभाले जलवायु परिवर्तनलाई पनि मध्यनजर गरेर छलफल र त्यसलाई न्यूनीकरण गर्ने कुरामा लाग्नेमा विश्वस्त रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सातवटै प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडीबुटी संकलन एवं प्रशोधन केन्द्रको स्थापनाको नीति अगाडि सारिएको जानकारी दिनुभयो । उहाँले गुणस्तरीय आयुर्वेद औषधि उत्पादनतर्फ उन्मुख आयुर्वेद औषधि कम्पनीको प्रवद्र्धन गर्ने सरकारको योजना रहेको सुनाउनुभयो ।

स्वास्थ्य पर्यटनलाई प्रवद्र्धन गर्न आयुर्वेद, पञ्चकर्म, योग, ध्यान कार्यक्रम सञ्चालन गर्न अस्पताल, उपचार केन्द्र, वेलनेस सेन्टर स्थापना गर्ने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले त्यसका लागि नीतिगत निर्णय भइसकेको जानकारी दिनुभयो । सातवटै प्रदेशमा एक सय शैय्याको आयुर्वेद अस्पताल सातै प्रदेशमा सञ्चालनमा ल्याउने उहाँको भनाइ थियो ।

महर्षि वैदिक फाउन्डेसन, अन्तर्राष्ट्रिय महर्षि फाउन्डेनसन र अन्य आयुर्वेदसम्बन्धी अन्तर्राष्ट्रिय संघसंस्थाको सहकार्यमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको आयोजना गरिएको नेपाल आयुर्वेद चिकित्सिक संघका महासचिव डा. कोपिला अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आयुर्वेदको प्रवद्र्धनका लागि भारतको नरेन्द्र मोदी नेतृत्वको सरकारले आयुष मन्त्रालय नै स्थापना गरेर यस क्षेत्रलाई महत्व दिएको जानकारी गराउनुभयो । उहाँले आयुर्वेद तथा प्राकृतिक चिकित्सा, जडीबुटीको क्षेत्रमा दुई देशले एकापसमा सहकार्यका लागि केही प्रयास अगाडि बढाइसकेको र आगामी दिनमा यसले थप सार्थकता पाउने बताउनुभयो ।

आयुर्वेदको उद्गमस्थलका रूपमा रहेको नेपालमा आयोजित यस सम्मेलनमा ५० भन्दा बढी देशका आयुर्वेदविज्ञ, अनुसन्धानकर्ता, उद्योगी, चिकित्सकलगायत पाँच सय बढीको सहभागिता छ । सम्मेलन आगामी आइतबारसम्म चल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?