पुस्तक : ‘के.बी.’ कृष्णबहादुर उप्रेतीको आत्मकथा

हिमालय टाइम्स
Read Time = 8 mins

✍️ सुशीला घिमिरे

कृष्णबहादुर उप्रेतीको आत्मकथा छ अहिले मेरा हातमा । कृष्णबहादुर उप्रेतीको आत्मकथाको पुस्तक हो यो । दोलखा बैतेश्वरका बासिन्दा उप्रेती त्यहाँको सम्पन्न परिवारका सदस्य हुनुहुन्छ, पछि उहाँ सहकारी क्षेत्रमा सक्रिय व्यक्ति । उहाँले आफ्नो आत्मकथा तयार पार्नु भएको छ ‘के.बी’ शीर्षकमा । पुस्तक डिएमआई साइजमा छ । भूमिका खण्डमा १४, पाठ्यखण्डमा २६८ र तस्वीर खण्डमा २० गरी पुस्तकमा जम्मा ३०२ पृष्ठ छन् । पुस्तकको मूल्य उल्लेख भएको नपाइएको हुँदा यो पुस्तक निःशुल्क वितरण गरिएको हो कि जस्तो देखिन आयो । पुस्तकको छपाइ स्तरीय छ, पहेंलो तर तौलयुक्त कागज पुस्तकमा प्रयोग भएको छ । अशुद्धिहरू भने भेटिन्छन् ।

पुस्तकको प्रकाशक र वितरकमा गु्रप अफ वर्तमान मिडिया प्रा.लि.अनामनगर तथा नेचुरल मिडिया प्रा.लि.मैतीदेवी रहेका छन् । पुस्तकको सर्वाधिकार लेखकमै छ । यस पुस्तकको यो पहिलो संस्करण हो जो २०७९ साल अर्थात् यसै वर्ष प्रकाशित भएको छ । यस पुस्तकको आवरण तथा लेआउट केशव भट्टराईले तयार गर्नुभएको छ । आवरण आकर्षक छ र आवरणमा केबी अर्थात् कृष्णबहादुर उप्रेतीको तस्वीर छ । तल सेता ठूला अक्षरमा ‘के.बी.’ र त्यसभन्दा तल ‘कृष्णबहादुर उप्रेती’ भनिएको छ । त्यसभन्दा मुनि सेता साना अक्षरमा ‘आत्मकथा’ लेखिएको छ । पृष्ठ आवरणमा आकर्षक रङमा केही सान्दर्भिक भनाइ राखिएको छ । तल प्रकाशक वितरक संस्थाको चिनारी झल्काउने लोगो र बारकोड राखिएको छ ।

पुस्तक उहाँका स्वर्गीय माता, पिता र दाजुमा समर्पित गरिएको छ । भनिएको छ, ‘पुजनीय माता स्व.रत्नमाया उप्रेती, पिता स्व.जगतबहादुर उप्रेती एवम् दाइ स्व.शान्तबहादुर उप्रेतीमा समर्पित ।’ त्यसपछि भूमिका खण्डमा आत्मकथाकार कृष्णबहादुर उप्रेतीको ‘उप्रेती उवाच’ छ । त्यसपछि ‘प्रकाशकीय’ छ र यसका अन्त्यमा ग्रुप अफ वर्तमान मिडिया प्रा.लि.का अध्यक्ष खिलानाथ दाहाल र नेचुरल मिडिया प्रा.लि.का अध्यक्ष काजी श्रेष्ठको नाम उल्लेख भएको छ, त्यसपछि विषयसूची ।

यो पुस्तक कृष्णबहादुर उप्रेतीको आत्मकथा हो । यसले धेरैलाई त्यति प्रभावित बनाउन नसक्ला तर एकजना व्यक्तिका संघर्षका अनेकौं पाटालाई उघारिदिएको हुँदा पुस्तक पठनीय छ । लेखक साहित्यकारका रूपमा चिनिएको जस्तो लाग्दैन तर पुस्तकमा प्रयोग भएको भाषा परिष्कृत र लालित्यपूर्ण लाग्छ ।

यस पुस्तकको पाठ्यखण्ड तीन खण्डमा विभाजित छ । पहिलो खण्डमा ‘व्यक्तिगत जीवन’ भनिएको छ र यस खण्डअन्तर्गत विभिन्न २५ वटा शीर्षकमा उहाँले आफ्नो व्यक्तिगत जीवनका विभिन्न पक्षलाई देखाउनु भएको छ । उहाँले यहाँ आफ्नो गाउँ पारिवारिक अवस्था, आफ्नो पढाइ, विवाह, स्ववियुको राजनीतिमा संलग्नता, पिताको र दाजुको निधनबाट मर्माहत बन्नुपरेको अवस्था आदिको चिर्चा गर्नु भएको छ ।

यही खण्डमा उहाँले सन्तान प्राप्तिका खुशीहरूको पनि चार्चा गर्नु भएको छ । आफू मार्खुको सम्पन्न मुखिया परिवारको सदस्य भए पनि गाउँमा ढिँडो र च्याख्ला नै खानु पथ्र्यो भन्ने उहाँले देखाउनु भएको छ । उहाँ गाउँमा ‘कृष्ण काजी’ हुनुहुन्थ्यो र सरदर गाउँले भन्दा उहाँको अवस्था केहीमाथि थियो भन्ने यस पुस्तकमा रहेका अभिव्यक्तिबाट थाहा हुन्छ ।

खण्ड-२ मा ‘सहकारी खण्ड’खन्तर्गत उहाँले सहकारी क्षेत्रमा गर्नु भएका कामको चर्चा छ । उहाँको कार्यक्षेत्रका रूपमा सहकारी क्षेत्र देखिन आएको छ । जुन क्षेत्रमा रहेर उहाँले काम गर्नुभयो त्यसको चर्चा गरेर आफ्ना अनुभव बाँड्न चाहनु भएको छ । यस खण्डमा २५ वटा शीर्षकमा विभिन्न आलेख छन् । उहाँको जीवनको कार्यात्मक उकाली र ओरालीहरू यस खण्डमा झल्किन आएका छन् । यो खण्ड पाठकहरूका लागि प्रेरणाको स्रोत बनेर आएको छ । उहाँका कतिपय अनुभूति, चिन्ता चासो र स्वीकारोक्तिसमेत यस खण्डमा आएका छन् ।

तेस्रो खण्डको ‘केबी उप्रेती पात्र एक, प्रसंग अनेक’ अन्तर्गतका विभिन्न शीर्षकमा विभिन्न २२ जनाका उहाँबारेका लेख छन् । यस खण्डमा मीनराज कँडेल, दीपकप्रकाश बासकोटा, ओमदेवी मल्ल, सरिता भट्टराई, डीबी बस्नेत, विजयराज घिमिरे, रामशरण शर्मा घिमिरे, हरिनाथ योगी, रामबहादुर जिसी, रामहरि बजगाईं, ज्ञानबहादुर तामाङ, अमृता सुब्बा, महेन्द्र गिरी, विश्वनाथ मण्डल, विजया घिताल, गणेश चन्द, डा. गोविन्दराज जोशी, खेमराज सुवेदी, सुशीलकुमार बस्न्यात, चित्राकुमारी सुब्बा, बद्रीकुमार गुरागाईं र कृष्णप्रसाद भण्डारीका लेख छन् । पुस्तकको अन्तिमका केही पृष्ठहरूमा उहाँको जीवनका विभिन्न पक्ष झल्किन तस्वीर समावेश भएका पाइन्छन् ।

यो पुस्तक कृष्णबहादुर उप्रेतीको आत्मकथा हो । यसले धेरैलाई त्यति प्रभावित बनाउन नसक्ला तर पुस्तकले एकजना व्यक्तिका संघर्षका अनेकौं पाटालाई उघारिदिएको हुँदा पुस्तक पठनीय छ । लेखक साहित्यकारका रूपमा कतै चिनिएको जस्तो लाग्दैन तर पुस्तकमा उहाँले प्रयोग गर्नुभएको भाषा परिष्कृत र लालित्यपूर्ण लाग्छ । उहाँले आफ्ना जीवनका विभिन्न सुखानुभूति वा दुःखानुभूति जे भए पनि अरूलाई समेत सुनाउनु भएको छ । त्यसैले पुस्तक पठनीय छ । उहाँलाई बधाई तथा धन्यवाद । अन्य पुस्तकहरूको लेखनका लागि पनि उहाँलाई शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?