एपिएफसँग थ्री स्टारको हार

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । विभागीय नेपाल एपिएफ फुटबल क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । ललितपुरको थ्री स्टार क्लबलाई २-० ले पराजित गर्दै एपिएफले जितका साथ लिगको सुरुवात गरेको हो । एपिएफको जितमा मनिकुमार लामा र अर्माण्ड विडोमले एक-एक गोल गर्नुभयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको ७२औँ मिनेटमा मनिकुमार लामाले फ्रिकिकमा गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाउनुभयो । विपक्षी खेलाडीले उहाँलाई लडाएपछि एपिएफले फ्रिकिक पाएको थियो । ३५ यार्डबाट उहाँले प्रहार गरेको फ्रिकिक गोलमा परिणत भयो । ८७औँ मिनेटमा अर्माण्ड विनोङले गोल गर्दै एपिएफको जित पक्का गर्नुभयो । उहाँले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो ।

यस्तै, अर्को खेलमा नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले लिगमा विजयी सुरुवात गरेको छ । च्यासल मैदानमा शनिबार भएको डेब्यु खेलमा चर्चले नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।

चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक-एक गोल गर्नुभयो । पुलिसका रवि पासवानले एक गोल फर्काउनुभयो । खेलको १४औँ मिनेटमा रविले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, पहिलो हाफको इन्जुरी समयमा आशिषले गोल गर्दै चर्चलाई १-१ गोलको बराबरीमा ल्याउनुभयो भने खेलको ७०औँ मिनेटमा फ्रान्कलिनले पेनाल्टीमा गोल गर्दै चर्चलाई २-१ को जित दिलाउनुभयो ।

जितसँगै चर्चले पहिलो खेलमै तीन अंक जोडेको छ । चर्च ‘बी’ डिभिजन लिगको विजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो । पुलिसले हारबाट लिगको सुरुवात गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?