तराईं-मधेशमा आज होली मनाइँदै

हर्षोल्लासपूर्वक हिमाल र पहाडमा मनाइयो होली, वसन्तपुरमा होलीमा रमाउने विदेशीको सहभागिता पनि उल्लेख्य

डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । रङहरूको पर्व फागु अर्थात् होली हिमाल र पहाडमा हर्षोल्लासपूर्वक मनाइएको छ । सोमबार काठमाडौंसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा आपसमा रङ र अबिर दलेर होली मनाइएको हो । तराईमा भने आज (मंगलबार) होली मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्वलाई वसन्तोत्सव, मदनोत्सव आदि नामले पनि चिनिन्छ ।

यस वर्षको होली सौहार्दपूर्ण वातावरणमा मनाइएको छ । ऐतिहासिक हनुमानढोका क्षेत्रस्थित वसन्तपुर क्षेत्रमा होली खेल्न युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको उत्साहजनक सहभागिता थियो । उनीहरूले एकअर्कालाई विभिन्न रङ र अबिर लगाएर आत्मीयता साटासाट गरेका हुन् । वसन्तपुरमा होलीमा रमाउन आउने विदेशीहरूको सहभागिता पनि उल्लेख्य थियो । वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाइएको थियो । चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

प्रहरीको सक्रियताले सभ्य बन्दै होली
पछिल्लो समय होली मर्यादित बन्दै गएको छ । प्रहरीको सक्रियताले पछिल्लो समय होली सभ्य बन्दै गएको हो । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने फागु पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।

होली पर्वलाई दुर्घटनारहित र मर्याादित बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था निकै कडा पारेको थियो । होली पर्वको मौका छोपी उच्छृंखल तथा अवाञ्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गतिमा चलाउन, मादक पदार्थ सेवनगरी गाडी चलाउने र क्षमताभन्दा बढी मान्छे राख्नलाई प्रहरीले कारबारही गरेको हो ।

होली पर्वलाई मध्यनजर गरी काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको थियो । काठमाडौंका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’ राखिएको थियो भने १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती गरेको थियो ।

तराईं-मधेशमा आज होली मनाइँदै
नेपालको तराईं मधेश क्षेत्रमा आज (मंगलबार) होली पर्व मनाइँदै छ । रङहरूको पर्व होलीलाई तराई तथा मधेसका जिल्लामा विशेषरूपमा मनाउने गरिन्छ । हिमाली र पहाडी जिल्लामा सोमबार नै होली मनाइएको थियो । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिमा मनाउने प्रचलन नेपालमा छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा फागु र तराईं मधेशमा होलीको रूपमा चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?